२०८३ बैशाख १४ सोमबार

सिड्नी आध्यात्मिक महोत्सव : दोस्रो दिनमै ४ लाख डलर दान र १११ आजीवन सदस्यता

सिड्नी आध्यात्मिक महोत्सवको दोस्रो दिन : करिब ४ लाख डलर दान, २ संस्थागत र १११ आजीवन सदस्यता वितरण

सिड्नी, अगस्त ३० (शनिबार) — सिड्नीमा जारी आध्यात्मिक महोत्सवको दोस्रो दिन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू अत्यन्तै उत्साहका साथ सम्पन्न भएका छन्। नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) निर्माणका लागि सहभागीहरूले करिब अष्ट्रेलियन डलर ४ लाख भन्दा बढी सहयोगको प्रतिबद्धता जनाएका छन्।

दोस्रो दिनको सुरुवात पण्डित राजन शर्माद्वारा संचालित बिहानी योग सत्रबाट गरिएको थियो। त्यसपछि पण्डित दीनबन्धु पोखरेलद्वारा भागवत वाचन, दाताहरूद्वारा दान घोषणा, आजीवन सदस्यता वितरण तथा सन्ध्या आरती सम्पन्न भयो।

दान घोषणाहरू
सञ्जीव शर्मा र शर्मिला लुइँटेल तथा एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसका निर्देशक बद्री अर्याल र सम्झना अर्याल : २ लाख १ हजार डलर (अभियानकै हालसम्मको सबैभन्दा ठूलो व्यक्तिगत/संयुक्त दान)
राज खनाल र लक्ष्मी खनाल : १ लाख ५०१ डलर
मेघराज पौडेल र किशोरी पौडेल : २५ हजार १ डलर
शिव बन्जारा र पवित्रा बन्जारा अर्याल : ११ हजार १११ डलर
टुंगानाथ खरेल र चन्द्रकला खरेल : १० हजार १०१ डलर
सुमित्रा विष्ट र रामजी विष्ट : १० हजार १ डलर
सन्तोष फुयाल र इन्दिरा फुयाल बास्तोला : १० हजार ५५१ डलर
एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल र अनिता पाठक : १० हजार डलर
रत्नबहादुर थापा र अञ्जु थापा : १० हजार डलर
सूर्यप्रसाद गौतम र सुष्मा खनाल : १० हजार १११ डलर
यसअघि पहिलो दिनमै एनआरएनए अष्ट्रेलियातर्फबाट १५ हजार डलरको दान घोषणा भइसकेको थियो।
कार्यक्रम स्थलमा राखिएको दान पेटिकाबाट थप २ हजार ९७० डलर नगद संकलन गरिएको छ।
सदस्यता अभियानमा उल्लेख्य वृद्धि
संस्थागत सदस्यता : नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान र गोरखा समाज अष्ट्रेलियाले लिएका छन्।
आजीवन सदस्यता : एकैदिन १११ जनाले सदस्यता लिँदै हालसम्मकै दैनिक उच्च संख्या कायम गरेका छन्।

महोत्सव अझै जारी
सिड्नीमा सुरु भएको आध्यात्मिक महोत्सव आइतवारसम्म चल्नेछ। यद्यपि, सचेतना र अर्थ संकलन अभियान महोत्सवपछि पनि निरन्तर जारी रहने आयोजक GSNMC ले जनाएको छ।

GSNMC का प्रतिनिधिहरूका अनुसार, “यो अभियान केवल आजको लागि होइन, हाम्रो भविष्यका पुस्ताहरूको पहिचान, संस्कृति र आध्यात्मिकताको संरक्षणका लागि हो। सिड्नीमा मिनी नेपाल निर्माणका सपनालाई साकार पार्न सबै नेपालीको साथ आवश्यक छ।”

मेलबर्नमा गौरा पर्व २०२५ भव्य रूपमा मनाइने ।

मेलबर्नमा गौरा पर्व २०२५ भव्य रूपमा मनाइने

मेलबर्न, अष्ट्रेलिया । फारवेष्टर्न नेप्लिज सोसाइटी अफ भिक्टोरिया (FWNSV) ले आगामी गौरा पर्व २०२५ भव्य रूपमा मनाउने भएको छ। सुदूरपश्चिम नेपालको सांस्कृतिक धरोहरलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने यो पर्वमा सम्पूर्ण मेलबर्नवासीलाई सहभागिताका लागि बिशेष आह्वान गरिएको छ।

आगामी आइतबार, अगस्ट ३१, २०२५ मा बेलुकी ४:३० बजेदेखि राति ९:३० बजेसम्म ब्रन्सविक ईस्टस्थित अरोरा रिसेप्सन हलमा कार्यक्रम आयोजना हुने भएको छ।

यस पर्वलाई टाइटल स्पोन्सर क्लाइमेट ग्रीन र को-स्पोन्सर मिराकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेका छन्। उक्त पर्व विशेष गरी नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइने प्रमुख पर्व हो, जसले दाम्पत्य सम्बन्धको पवित्रता, मनसुन खेतीको समृद्धि र सामुदायिक एकतालाई उजागर गर्छ।

कार्यक्रममा गौरा नाच र देउडा नृत्यको लाइभ प्रस्तुति, राष्ट्रिय कलाकार चक्र बम र टंका तिमिल्सिनाको विशेष प्रस्तुति, बालबालिकाका लागि फेस पेन्टिङ स्टेसन तथा लाइभ डीजे सहित विविध सांस्कृतिक गतिविधि रहनेछन्। अष्ट्रेलियन सरकारका सांसदहरू र स्थानीय काउन्सिलरहरूको उपस्थिति समेत रहने आयोजकले बताएका छन ।

सचिव बिक्रम कुँवरका अनुसार, “यो उत्सव केवल पर्व मात्र नभई हाम्रो सांस्कृतिक पहिचानलाई जोगाउने र अष्ट्रेलियाली समाजसँग बाँड्ने महत्वपूर्ण अवसर हो। हामी सबैलाई सुदूरपश्चिम नेपालको आत्मीयता, खुशी र जीवन्त परम्पराको अनुभव गराउन उत्साहित छौं।”

कार्यक्रममा सहभागीहरूलाई पारम्परिक पोशाक (पुरुषका लागि दौरा सुरुवाल, महिलाका लागि गुनीयु चोली) लगाउन प्रोत्साहन गरिएको छ, यद्यपि यो अनिवार्य भने गरिएको छैन।

थप जानकारीका लागि सम्पर्क:
दीप चन्द (अध्यक्ष): ०४२४११९६७९
बिक्रम कुँवर (सचिव): ०४७६६६८३७८

पोखरा २२ मा लागुऔषध दुरुपयोग नियन्त्रण तथा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

पोखरा २२ मा लागुऔषध दुरुपयोग नियन्त्रण तथा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

पोखरा, साउन २८ — अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ वडा युवा परिषदको आयोजनामा मङ्गलबार “लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ” सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।

पोखरा–२२ भुर्तुङस्थित श्री ओखलढाँडा माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष हिमलाल बराल, विशेष अतिथि वडा सदस्य कृष्णकुमारी देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकाजी गुरुङलगायतका व्यक्तिहरूको सहभागिता थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले युवाहरूलाई लागूऔषध र मदिराजस्ता कुलतबाट टाढा रहँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो। उहाँले यस्तो सचेतनामूलक गतिविधिले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विशेष अतिथि देवकोटाले युवाहरूले आफ्नो क्षमताको सही उपयोग गरी समाजिक रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिनुभयो।

प्रशिक्षण सत्रमा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपाने, प्रशिक्षक विकास पहारी र प्रसन्न बरालले क्रमशः “लागुऔषध दुरुपयोगका जोखिम र निवारण”, “मदिराको स्वास्थ्य तथा सामाजिक असर” र “व्यक्तिगत सरसफाइको महत्त्व” विषयमा प्रस्तुति दिनुभयो। सहभागी विद्यार्थीहरूलाई प्रश्न–उत्तर र अन्तर्क्रिया मार्फत सक्रिय सहभागी बनाइएको थियो।

कार्यक्रमको सञ्चालन प्रसन्न बरालले गर्नुभएको थियो भने समापन सत्रमा विद्यालयका प्राचार्य, स्थानीय अगुवा र वडा युवा परिषदका पदाधिकारीहरूले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल मन्त्र “समृद्ध नेपालको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” लाई आत्मसात गर्दै, वडा युवा परिषद–२२ ले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

संस्कृति जोगाउँदै: CALA Victoria ले जनैपूर्णिमा र रक्षा बन्धन कार्यक्रम गर्ने

भिक्टोरियामा जनैपूर्णिमा र रक्षा बन्धन विशेष कार्यक्रम — प्रवासमै संस्कृतिको संरक्षण
भिक्टोरियास्थित Culture Arts & Language Academy (CALA Victoria) ले यस वर्षको जनैपूर्णिमा र रक्षा बन्धन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम साउन २४ गते (अगस्ट ९, शनिबार) बिहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म ATC Cook Reserve, Glenroy, VIC 3046 मा हुनेछ।

नेपाली संस्कृतिको संरक्षण प्रवासमै
नेपाली समुदाय विश्वका जुनसुकै कुनामा पुगे पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई संरक्षण गर्दै आएको छ। यस किसिमका कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्ना मूल मूल्य, परम्परा र धार्मिक महत्वबारे जानकारी दिलाउनुका साथै समुदायबीचको एकता र सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
CALA Victoria का प्रतिनिधिहरूका अनुसार, “प्रवासी जीवनमा व्यस्तताका बीच पनि हामीले आफ्नो धर्म, संस्कृति र चाडपर्वलाई निरन्तरता दिनु आवश्यक छ। जनैपूर्णिमा र रक्षा बन्धनले न केवल धार्मिक आस्था प्रकट गर्छ, बरु भाइ–बहिनीबीचको सम्बन्ध र आत्मीयतालाई पनि बलियो बनाउँछ।”

कार्यक्रमका प्रमुख आकर्षणहरू
– जनैपूर्णिमा तथा रक्षा बन्धन पूजापाठ
– भजन–कीर्तन तथा भक्तिपूर्ण संगीत
– पुजारी शंकर प्रसाद गौतम र रविन अर्यालद्वारा विधिपूर्वक पूजा
– प्रसाद वितरण तथा सहभागीहरूका लागि निःशुल्क खाना र नास्ताको व्यवस्था
समुदायलाई विशेष आह्वान
आयोजक समितिले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई प्रवासमै नेपाली संस्कृति र परम्पराको संरक्षणमा योगदान दिन हार्दिक अनुरोध गरेको छ।

थप जानकारीका लागि सम्पर्क:
0452 425 573
0401 827 468

यस कार्यक्रमलाई Merri-bek City Council ले पनि समर्थन गरेको छ।

अष्ट्रेलियामा नेपाली अभिभावक समाजद्वारा खिर खाने कार्यक्रम सम्पन्न

अष्ट्रेलियामा नेपाली अभिभावक समाजद्वारा भव्य खिर खाने उत्सव सम्पन्न

सिड्नीको अष्ट्रलमा विहिवार नेपाली अभिभावक समाज अष्ट्रलको आयोजनामा श्रावण १५ को खिर खाने दिन भव्यताका साथ सम्पन्न भयो। “स्वाद, संस्कृति र समर्पण” भन्ने मूल नारासहित गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढी व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम समाजका अध्यक्ष चन्द्र कुमार कायस्थको अध्यक्षतामा र मेम्बर अफ पार्लियामेन्ट नथान हेगार्टीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि हेगार्टीले नेपाली अभिभावक समाजले सामुदायिक विकास र समन्वयमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समुदाय हितका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले अष्ट्रलको सामुदायिक भवन र व्यवस्थित पार्कलाई “सगरमाथा” नामकरण गर्ने वाचा पनि गरे।

यस अवसरमा अध्यक्ष कायस्थले अष्ट्रलको समग्र विकासका लागि कार्ययोजना सहितको परियोजना प्रस्तावना समेत हस्तान्तरण गरे। कार्यक्रममा समाजका सल्लाहकार तथा फेन्काका न्यू साउथ बेल्थका डेपुटि कोअर्डिनेटर मुक्तिराम पोखरेलले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र महत्वमा प्रकाश पारे।

समग्र कार्यक्रम समाजका सचिव रमण खतिवडा र सह–कोषाध्यक्ष केदार तिमिल्सिनाले सञ्चालन गरेका थिए।
सांस्कृतिक कार्यक्रम भने समाजसेवि दमन्ति पराजुलीको अगुवाइमा महिलाहरुको सक्रिय सहभागितासहित परम्परागत भेषभूषा र नृत्य प्रस्तुतिमा सम्पन्न भयो।

कार्यक्रममा सल्लाहकार सन्देशराज भण्डारी, भावना पराजुली, शंकरलाल राजमण्डारी, शिव पराजुली र राम पोखरेललगायतका वरिष्ठ व्यक्तित्वहरूको समेत विशेष सहभागिता रह्यो। साथै, लेपिन्टन कार्यालयका जेलिकोले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याएका थिए।

महिला सशक्तिकरणको एतिहासिक विजय – उषा NSW संयोजक निर्वाचित

इतिहास रचिन् उषा किरण बारिया पोखरेल — एनआरएनए अष्ट्रेलिया (एनएसडब्लु) राज्य संयोजकमा पहिलो महिला निर्वाचित, महिला सशक्तिकरणको अभियानलाई नयाँ उचाइ

सिड्नी — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य संयोजक पदमा उषा किरण बारिया पोखरेलले विजय हासिल गर्दै इतिहास रचेकी छन्। एनआरएनएको इतिहासमा यो पदमा पुग्ने पहिली महिला नेतृ बनेर उनले नारी नेतृत्वको एक सशक्त युगको सुरुवात गरेकी छन्।

शनिबार सम्पन्न २०२५–२७ कार्यकालका लागि भएको निर्वाचनमा १,२९१ मत प्राप्त गर्दै पोखरेल विजयी भइन्। ‘टिम एकता’बाट उम्मेदवारी दिएकी उनी समाजसेवा, महिला सशक्तिकरण र हिंसा विरुद्धको अभियानमा समर्पित, निडर र प्रेरणादायी व्यक्तित्वको रूपमा पहिचान बनाइसकेकी छिन्।

यो जित केवल निर्वाचनको अंकगणनामा सीमित छैन — यो नेपाली महिलाको सदियौं देखिको आवाज हो, जसले अब सिङ्गो प्रवासी समाजमा गुञ्जन पाएको छ।

पोखरेलको जित एक ऐतिहासिक मोड हो, जहाँ एनआरएनएको नेतृत्व तहमा महिलाको उपस्थितिलाई अब ‘अपवाद’ होइन, ‘नयाँ सामान्य’ का रूपमा स्थापित गरिएको छ।

“यो पद मेरो लागि होइन — यो सबै नेपाली महिलाको जित हो, जो अवसरको पर्खाइमा बसेका छन्। म नेतृत्वमा महिलाको सक्रियता, आत्मविश्वास र पहिचानको नयाँ युग सुरू गर्न चाहन्छु,” पोखरेलले भावुक स्वरमा भनिन्।

उनले थप भनिन्, “हिंसाविरुद्ध म बोलिरहनेछु, उठिरहनेछु। म कुनै कुर्सीका लागि होइन, म आवाज बन्ने सपना लिएर आएको हुँ।”

यो निर्वाचनले देखायो — प्रवासी भूमिमा जन्मिएको यो आवाज अब मौन बस्ने छैन। उषा पोखरेलको विजयले नेपालको छोरी, आमा, दिदीबहिनीको आत्मविश्वासलाई उकासेको छ, र सबैलाई भनिदिएको छ — ‘महिला पनि नेतृत्व गर्न सक्छिन्, अनि परिवर्तन ल्याउन सक्छिन्।’

उनको यो ऐतिहासिक जितले एनआरएनए मात्र होइन, सम्पूर्ण विश्वभर फैलिएको नेपाली डायस्पोरालाई महिलाको शक्ति, क्षमता र नेतृत्वको पुनः परिभाषा गराएको छ।

उषा पोखरेल अब केवल एक नाम होइनन् — उनी हिम्मतको प्रतीक हुन्, परिवर्तनको मिसन हुन्, र हजारौं नेपाली महिलाको आशा र सपना हुन्।

आज उनी संयोजक बनेकी छिन्,
भोलि — उनी नेतृत्वमा परिवर्तनको अर्को उदाहरण बन्नेछिन्।

बधाई उषा किरण बारिया पोखरेल — तपाईंले रचेको इतिहासले हजारौं नेपाली महिलालाई अब बोल्ने हिम्मत दिएको छ।

रामजी खाँड र शान्ता परियार सँगै अष्ट्रेलियामा नेपाली तीज बिशेष कार्यक्रम

अबर्न तीज धमाका भोल्युम ४ — सिड्नीमा भव्य सांगीतिक साँझको तयारी

सिड्नी, अष्ट्रेलिया – नेपाली समुदायको महान महिला पर्व हरितालिका तीजको अवसरमा, अष्ट्रेलियाको सिड्नीस्थित अ‍बर्नमा एक भव्य सांगीतिक कार्यक्रम “अबर्न तीज धमाका – भोल्युम ४” आयोजना हुने भएको छ।

यस कार्यक्रमको आयोजना Auburn Nepalese Community (ANC) ले गरेको हो, जसमा प्रमुख प्रस्तुतकर्ता YES PEOPLE – Education & Visa Services रहेका छन्।
कार्यक्रम २२ अगस्ट २०२५, शुक्रवारको दिन, साँझ ५:३० देखि राति १०:३० बजेसम्म अ‍बर्नको प्रतिष्ठित स्थल Grand Palace Reception (219 Parramatta Rd, Auburn NSW 2144) मा सम्पन्न हुनेछ।

मुख्य आकर्षण:
चर्चित गायक रामजी खाँड
लोकप्रिय गायिका शान्ता रानी परियार
३ कोर्स स्वादिलो भोजन सहितको साँगीतिक तथा सांस्कृतिक उत्सव
नेपाली समुदायको भव्य भेला

टिकट विवरण:
प्रकार मूल्य
सर्वसाधारण $59
बालबालिका (Kids) $25
अनलाइन टिकट (QR मार्फत) $55 मात्र

टिकट QR कोड स्क्यान गरेर सजिलै खरिद गर्न सकिनेछ।

कार्यक्रमका प्रमुख साझेदार तथा प्रायोजकहरू:

शीर्ष साझेदारहरू:
रेमिट पार्टनर: United Pay Remit
सिल्भर स्पोन्सर: Rawson Supermarket
रियल स्टेट पार्टनर: Multi Dynamic Auburn
भिसा पार्टनर: Nations International, Cloud Education & Visa
ग्रोसरी पार्टनर: Gorkhali Grocery Store, Manakamana Grocery Store
अटो रिपेयर पार्टनर: Khukuri Auto Repairs
ट्याक्स पार्टनर: iCan Tax
फंक्शन पार्टनर: Welcome Function Centre
ब्राञ्ज स्पोन्सर: Asian Bazaar

सहयोगी संस्था:

P&M Accountants, ETC Australia, Expert Education, Team Nepal, Hamro Grocery, KTM City Express, Oli & Associates, Property Plus, R & R Lawyers, तथा अन्य प्रतिष्ठित संस्थाहरूको व्यापक समर्थन रहेको छ।

मिडिया पार्टनरहरू:
Lukla TV
Biswopati
Bachan News

Dream Focus Photography
यी मिडिया हाउसहरूले कार्यक्रमको प्रचारप्रसार, फोटो कभरेज तथा समाचार संकलनमा विशेष भूमिका निर्वाह गर्नेछन्।

यस कार्यक्रमले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई संस्कृति, गीत–संगीत र पारस्परिक सम्बन्धमा अझ सशक्त बनाउने लक्ष्य राखेको छ।
संस्कृतिको जगेर्ना, महिला सशक्तीकरण र सामुदायिक एकताको सन्देश बोकेको “अबर्न तीज धमाका – भोल्युम ४” मा सहभागी भई रमाइलो गर्ने अवसर नछुटाउनुहोस्।

अष्ट्रेलियामा नेपाली डायस्पोराको आवाज: अनिल त्वानाबासु NSW कोषाध्यक्षमा उम्मेदवार

एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५–२७ : टिम ‘एकता’ का उम्मेदवार अनिल त्वानाबासुको जीवनयात्रा प्रेरणादायी
सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निर्वाचन यही जुलाई २६ मा हुने भएको छ। अष्ट्रेलियाभर निर्वाचनको सरगर्मी तीव्र बन्दै गएको छ। उम्मेदवारहरू राज्य–राज्यमा पुगेर जनसम्पर्क, एजेण्डा प्रस्तुति र योजनात्मक अभियानमा सक्रिय छन्।

यसै सन्दर्भमा, न्यू साउथ वेल्स राज्य समन्वय परिषद् (NSW SCC) को कोषाध्यक्ष पदमा टिम ‘एकता’ तर्फबाट उम्मेदवारी दिएका अनिल त्वानाबासुको जीवनयात्रा आफ्नै ठाउँमा उदाहरणीय र प्रेरणादायी छ।

भक्तपुरबाट अष्ट्रेलियासम्मको यात्रा
श्रद्धेय आमा रत्नेश्वरी र बुवा सप्तराम त्वानाबासुका सुपुत्र अनिलको जन्म भक्तपुरमा भएको हो। चार दिदीबहिनी र आफूसहित पाँचजना दाजुभाइ–बहिनीमध्ये तेश्रो सन्तान अनिलको बाल्यकाल पारिवारिक मूल्य, अनुशासन र आत्मनिर्भरताको पाठ सिक्दै बित्यो।

पढाइप्रति गम्भीर, मिहिनेती र जिम्मेवार स्वभावले उनलाई विद्यार्थी जीवनदेखि नै अगाडि बढ्न प्रेरित गर्‍यो। माध्यमिक शिक्षा भक्तपुरमै पूरा गरेपछि उनले स्नातक तह अध्ययन सम्पन्न गरी नेपालमै लेखापालको रूपमा कार्यरत रहे।

सन् २००८ मा अष्ट्रेलिया आगमन
सन् २००८ को अप्रिलमा अनिल अष्ट्रेलिया प्रवेश गरे — विद्यार्थी भिसामा, थुप्रै सपना र लक्ष्य बोकेर। उनले होटल, गेस्टहाउस, रिटेललगायतका क्षेत्रमा प्रारम्भिक रोजगारी गर्दै जीवनका कठिनाइलाई सिकाइको अवसरमा बदल्दै अगाडि बढे।

उनी भन्छन्, “सुरुवात सजिलो थिएन, तर कहिल्यै गुनासो गरिनँ। हरेक चुनौतीलाई सिक्ने अवसरको रूपमा लिएँ।”

उद्यमशीलता र नेतृत्वको विकास
दीर्घ मेहनत र पेशागत क्षमताको विस्तार गर्दै अनिलले Maven Consulting Group र Maven Entertainment को सह–स्थापना गरे। हाल उनी यी संस्थाहरूका प्रबन्ध निर्देशक (Managing Director) हुन्।

Maven Consulting मार्फत उनले ७,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीहरूलाई शिक्षा, करियर र आप्रवासनसम्बन्धी मार्गदर्शन गरिसकेका छन्। उनी केवल व्यवसायिक नेतृत्वकर्ता होइनन्, समुदायमैत्री व्यक्तित्व हुन् जसको कार्यले धेरैको जीवनमा सकारात्मक प्रभाव पारेको छ।

शान्त नेतृत्व, सामाजिक प्रतिबद्धता
अनिलको नेतृत्व शैली शान्त, स्थिर र सम्वेदनशील छ। स्रोता, सल्लाहकार र मार्गदर्शकको भूमिकामा रहेर उनले युवाहरूलाई जीवनको सही दिशा देखाउन योगदान दिएका छन्।

“सधैं मभन्दा अरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोच राख्छु,” उनी भन्छन्। यही सोचले उनलाई सामाजिक सेवाप्रति समर्पित बनाएको छ।

एनआरएनए प्रति संलग्नता र उम्मेदवारीको उद्देश्य
सन् २०२५ मा एनआरएनएको सदस्यता लिएपछि, अनिलले संस्थामा लगातार सक्रियता देखाउँदै आएका छन्। अहिले उनले NSW SCC कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

उनी भन्छन्, “यो उम्मेदवारी केवल पदका लागि होइन, म विगत १७ वर्षदेखि संकलन गरेको लेखापाल अनुभव र वित्तीय पारदर्शिताको अठोटलाई कार्यान्वयन गर्ने अवसर हो।”

उनको उम्मेदवारीसँगै टिम ‘एकता’ले वित्तीय सुशासन, पारदर्शिता र उत्तरदायित्वको प्रतिवद्धता जनाउँदै आएको छ।

निष्कर्षमा, अनिल त्वानाबासुको जीवन यात्राले मेहनत, इमानदारी र सेवाभावनालाई प्रमुख मूल्य मान्दै एनआरएनएजस्तो संस्था भित्र पारदर्शी र समुदाय–केन्द्रित नेतृत्वको आवश्यकता रहेको सन्देश दिन्छ। उनको उम्मेदवारीले न्यू साउथ वेल्सको नेपाली समुदायभित्र उत्तरदायित्व र विश्वासको आशा जगाएको छ।

Victoria टिम एकताको चुनावी सभा: समुदायको उत्साह र समर्थनले नयाँ गति लियो

मेलबर्नमा टिम एकताको चुनावी सभा भव्य रूपमा सम्पन्न

NRNA भिक्टोरिया २०२५–२७ को निर्वाचन लक्षित कार्यक्रमले नेपाली समुदायमा उत्साह थप्यो

मेलबर्न, जुलाई २२ — गैर–आवासीय नेपाली संघ (NRNA) भिक्टोरिया राज्य समिति २०२५–२७ को निर्वाचनलाई लक्षित गर्दै टिम एकता द्वारा आयोजना गरिएको चुनावी सभा सोमबार मेलबर्नको लालोरस्थित मस्टाङ प्यालेसमा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रममा २५० भन्दा बढी नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति देखिनु टिम एकताप्रतिको जनसमर्थन दिनानुदिन बढ्दै गएको स्पष्ट संकेतको रूपमा लिइएको छ।

कार्यक्रमको संचालन राज खनालले गर्दै टिम एकताको उद्देश्य र आगामी योजनाहरूको संक्षिप्त रूपरेखा प्रस्तुत गरे। त्यसपछि, सचिव पदका उम्मेदवार देवेन्द्र बजगाईंले स्वागत मन्तव्य राख्दै सम्पूर्ण SCC उम्मेदवारहरूको परिचय गराए र उनीहरूको अनुभव तथा जिम्मेवारीबारे जानकारी गराए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता

कार्यक्रममा टिम एकताको राष्ट्रिय टोलीसँगै अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का सदस्यहरूको विशेष उपस्थिति थियो। भुवन हरि पाण्डे, बिरेन्द्र श्रेष्ठ, गोविन्द राणा, महेन्द्र कार्की, प्रकाश सेढाई र सन्तोष दाहालले टिम एकताको कार्यशैली, पारदर्शिता, र समुदायप्रतिको प्रतिबद्धता व्यक्त गर्दै संक्षिप्त सम्बोधन गरे।

महासचिव पदका उम्मेदवार भरत मणि देवकोटाले ICC तथा NCC अन्तर्गतका उम्मेदवारहरूको परिचय गराउँदै टिम एकताको प्रमुख सन्देश — “रूपान्तरण र मार्ग–सुधार” — माथि जोड दिनुभयो।

कोर्स करेक्सनको प्रतिबद्धता

कार्यक्रममा द्रोण पन्तले एनआरएनए भिक्टोरियाबाट “कोर्स करेक्सन” अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। महिला संयोजक सृजना रायमाझीले महिलाको हक र सशक्तिकरणको पक्षमा निरन्तर काम गर्ने अठोट जाहेर गरिन्। युवा संयोजक सनराइज ज्ञवालीले युवाहरूको सहभागिता र सशक्त नेतृत्व विकासमा विशेष ध्यान दिने बताएका छन्।

भैरव ढकालको योजनामूलक सम्बोधन

कार्यक्रमको मुख्य आकर्षण अध्यक्ष पदका उम्मेदवार भैरव ढकालको सम्बोधन थियो। लामो समयदेखि एनआरएनएमा सक्रिय रहँदै आएका ढकालले संस्थालाई “जनमैत्री र सबै नेपालीको साझा थलो” बनाउने स्पष्ट योजना प्रस्तुत गरे।

उहाँले आगामी कार्यकालका लागि केही प्रमुख योजनाहरू प्रस्तुत गर्नुभयो:

* समुदायसँग प्रत्यक्ष संवाद कार्यक्रम
* प्रत्येक राज्यमा हेल्पलाइन टिम
* स्थानीय सल्लाहकार परिषद् गठन
* महिला र युवाको नेतृत्व विकास तालिम
* शिक्षा, रोजगार, भिसा, कानुनी सहायता र बीमा सम्बन्धी परामर्श सेवा

“एनआरएनए कुनै गुट विशेषको संस्था होइन,” उहाँले स्पष्ट पार्दै भन्नुभयो, “यो सम्पूर्ण नेपाली समुदायको साझा सम्पत्ति हो। त्यसैले, हरेक निर्णय सदस्यहरूलाई जानकारी गराएर मात्र अघि बढाइनु पर्छ।”

उम्मेदवारहरूद्वारा स्पष्ट दृष्टिकोण

अन्य उम्मेदवारहरू—गणेश गौतम, रमेश पौडेल र भरत देवकोटाले आ–आफ्नो जिम्मेवारी अनुसार विस्तृत कार्यदृष्टिकोण प्रस्तुत गरे। सबैले टिम एकताको पारदर्शिता, जवाफदेहिता र सुधारवादी सोचलाई आगामी नेतृत्वका लागि अत्यावश्यक भने।

समुदायको समर्थन

कार्यक्रममा वरिष्ठ समाजसेवी केसब जोशी, राजन बस्नेत र देवी ज्ञवालीले टिम एकतालाई खुलेर समर्थन जनाए। उनीहरूले टिम एकताको नीतिगत स्पष्टता र सदस्यहरूको इमान्दारीतामा विश्वास व्यक्त गर्दै समुदायलाई सही नेतृत्व रोज्न आग्रह गरे।

टिम एकताको केवल चुनावी प्रचार मात्र नभई, नेपाली समुदायमा एकता, विश्वास र पारदर्शी नेतृत्वको सुरुआत बनेको सहभागीहरूले महसुस गरेका छन्।

यो कार्यक्रमले एनआरएनए भिक्टोरियामा मात्र नभई सम्पूर्ण अष्ट्रेलियाली नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।

NRNA ACT सचिव पदमा किशोर भण्डारीको उम्मेदवारी

एनआरएनए ACT सचिव पदका लागि किशोर भण्डारीको उम्मेदवारी, ‘सामुदायिक एकता र रूपान्तरण’ को एजेन्डा

क्यानबेरा, अष्ट्रेलिया — १९ जुलाई २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको एसीटी (Australian Capital Territory) क्षेत्रीय समितिको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुन गइरहेको निर्वाचनमा किशोर भण्डारी सचिव पदको उम्मेदवार बनेका छन्। उनी TEAM EKATA को तर्फबाट “परिवर्तनका लागि” अभियान लिएर अघि बढिरहेका छन्।

भण्डारी सन् २०१८ मा अष्ट्रेलिया आएपछि नेपाली समुदायमा सक्रियतापूर्वक आबद्ध हुँदै आएका छन्। विशेष गरी भाषा, शिक्षा, संस्कृतिको प्रवर्द्धन, अन्तर्राष्ट्रिय विद्यार्थीको सहयोग र मानसिक स्वास्थ्य सचेतनाका क्षेत्रमा उनले उल्लेखनीय योगदान दिएका छन्। २०२१ देखि क्यानबेरामा स्थायी रुपमा बसोबास गर्दै आएका भण्डारी एनआरएनए तथा विभिन्न सामाजिक संस्थाहरु मार्फत नेपाली समुदायको सेवा गर्दै आएका छन्।

उनका मुख्य योगदान र अभियानहरू:
अष्ट्रेलियामा जन्मिएका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा सिकाउने कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
नेपालका दुर्गम तथा आर्थिक रूपले कमजोर बालबालिकाको शिक्षाका लागि निरन्तर सहयोग पुर्‍याउँदै आएका छन्।
नेपाली संस्कृति, मौलिकता र सामाजिक मूल्यमान्यता जोगाउन विभिन्न कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्।
मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्दै समुदायमा सकारात्मक सोच र व्यवहार निर्माणका लागि सक्रिय छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बसोबास, काम, अध्ययन, कानुनी जानकारी जस्ता आवश्यक सहयोग उपलब्ध गराउने काममा अग्रसर छन्।

भण्डारीको प्रतिबद्धता:
भण्डारी भन्छन्, “एनआरएनए केवल संस्था होइन, यो हाम्रो पहिचान, हाम्रो समुदाय र हाम्रो भविष्यसँग जोडिएको अभियान हो। म सबै नेपालीको आवाज समेट्न, सुन्न र प्रतिनिधित्व गर्न इच्छुक छु। सामाजिक एकता, पारदर्शिता र जवाफदेही नेतृत्वमार्फत हामीले हाम्रो संस्था अझ बलियो र समावेशी बनाउन सक्छौं।”

उनले आगामी निर्वाचनमा २६ जुलाई २०२५ मा हुने मतदानमा सम्पूर्ण एनआरएनए सदस्यहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

“सङ्गठनात्मक रूपान्तरण, सामाजिक एकता — सबैको एनआरएनए हाम्रो प्रतिबद्धता”
यो नाराका साथ TEAM EKATA ले यसपटक नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै निर्वाचन अभियान अघि बढाएको छ।
उनको नारा: “Let’s Build What We Never Had”
TEAM EKATA ले किशोर भण्डारीलाई सचिवको उम्मेदवार बनाएर समुदायमा समर्पित, अनुभवी र दूरदृष्टि भएका नेतालाई अगाडि ल्याउने प्रयास गरेको बताइएको छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय