२०८१ बैशाख ७ शुक्रबार

खोपको आशामा नागरिक, अब कहिले पाइन्छ ?

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का दुर्गाप्रसाद खनाल दम्पती कोरोनाविरुद्धको खोपको पखाईमा छन् । कोरोनाको त्रास कायमै रहेको तथा कोरोनाले स्वरुप परिवर्तन गर्दै अझ संक्रामक बनेको खवरले दुर्गाप्रसाद मात्र होइन उनकी श्रीमती जयन्ता पनि चिन्तित् छन् । उनीहरुलाई सकेसम्म चाँडै खोप लगाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।

जुनसुकै भेरिएन्ट, म्युटेसनको कोभिडको भाइरस आए पनि खोपले केही स्तरमा बचाउने उनीहरुलाई जानकारी छ । त्यसैले उनीहरु खोप बारे काठमाण्डुमा रहेका आफ्ना छोरासंग चासो राख्छन् । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको समाचार थाहा पाउने वित्तिकै छोरालाई फोन गरेर आफुहरुको नाम टिपाउन दुर्गाप्रसादले सुझाए । यसबाट पनि खोप लगाउन कत्तिको आतुर छन् भन्ने प्रष्ट हुन्छ ।

उनी भन्छन्, ‘कोरोना आयो भन्नेबित्तिकै डर लाग्यो । मेरो उमेर ६१ बर्ष अनि मेरी श्रीमती ५४ वर्ष पुगिन् । समाचारमा वृद्ध उमेरलाई जोखिम हुन्छ भन्ने सुनिरहन्छु त्यसैले डर लागिरहेको छ । खोप लगाउने तिब्र इच्छा छ । ज्यान रहे सबै थोक नरहे के होला होला । खोप त आजै पाए आजै लगाइहालौं जस्तो भएको छ ।’

सरकारले खोप लगाउन ईच्छुकहरुको विवरण संकलन गरेपछि उनमा थप उत्साह आयो उनी सुनाउँछन्, ‘रेडियो सुन्दै थिएँ एक्कासी खोप लगाउन मन भए विवरण भर्नु भनेको समाचार बज्यो । खोपबारे हामीलाई खासै जानकारी छैन् तर, काठमाण्डुमा छोरो छ त्यसैलाई फोन गरेर सुनाएँ उसले फारम भर्दिसक्यो रे अब खोप आउने वित्तिकै पाइन्छ भन्ने आशा छ ।’

खनाल दम्पति जस्तै ओखलढुंगाको सुनकोसी गाउपालिका १० कटुन्जे की २८ बर्षकी देवीमाया भुजेल पनि खोपको पालो पर्खेर बसेकी छन् । उनले पनि कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भरेकी छन् । उनी भन्छिन्, ‘कोरोनाबाट बच्ने उपाय भनेको खोप नै रहेछ । अब लगाउनु नै पर्यो । ज्यान जोगाउने रहर कस्को हुँदैन र ?’

कोरोना खोप लगाउन उनीहरुजस्तै १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन्  । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेसैगै फारम भर्नेको संख्या शुक्रबार दिउँसोसम्म संख्या १३ लाख ३९ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले सबै नागरिकलाई पुग्ने खोप ल्याउन नसक्ने आकलन गर्दै सार्वजनिक खोप लगाउन चाहनेबाट विवरण माग गरेको हो । यद्यपि, स्वैच्छिक फारम भरेकाले पनि खोप कहिले पाउने भन्ने टुंगो छैन ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आवेदन दिँदैमा खोप पाउने भन्ने छैन । खोपको उपलब्धता र फारम भर्नेको प्राथमिकता हेरेर खोप दिइने हो ।’ नेपालमा खोप अभियान सुरु भएको शनिबार १ सय ५५ दिन पुगेको छ ।

यो अवधिमा कुल जनसंख्याको २.५५ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् । हालसम्म कोभिसिल्ड र कोभाक्सिन खोपको पूर्ण मात्रा ७ लाख ४९ हजार ५ सय ८५ जनाले लगाएका छन् ।

यही गतिमा खोप अभियान जारी रहे १८ वर्षमाथिका जनसंख्यालाई कोभिडविरुद्घको खोप लगाउने सरकारको लक्ष्य प्राप्त गर्न १२ वर्षभन्दा बढी समय लाग्न सक्ने गणितीय आकलन रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले बताए ।

गत वर्ष माघ १४ गते ९ हजार ८४ जनालाई कोभिसिल्ड खोप लगाएर देशव्यापी अभियान सुरु भएको थियो । पूर्ण मात्राबाहेक हालसम्म एक मात्रा खोप लिएका कुल जनसंख्याको करिब ८.७८ प्रतिशत अर्थात् २५ लाख ८२ हजार ३ सय ७५ जना छन् ।

पहिलो मात्रा कोभिसिल्ड खोप लगाइसकेका १३ लाख ६४ हजार ७ सय १ जना ज्येष्ठ नागरिकले ४ महिना हुन लाग्दासमेत दोस्रो मात्रा खोप पाएका छैन ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू छोटोछोटो समयमा फेरिँदा नेपालले अपेक्षाकृत रूपमा खोप भित्र्याउन सकेको छैन । खोप अभावका कारण अभियान त प्रभावित नै बनेको छ भने कोरोनाको जोखिम पनि बढेको छ ।

२०७८ असार १३, आईतवार प्रकाशित 0 Minutes 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार