नेपाली कांग्रेस पदाधिकारी बैठक सुरु!!
काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बैठक सुरु भएको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।
बैठकमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे छलफल हुँदैछ। कार्यसम्पादन समितिको बैठकमा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ।यिनै विषयवस्तुमा आजको पदाधिकारी बैठकमा छलफल गर्ने एक पदाधिकारीले जानकारी दिए।
बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित छैनन्। कांग्रेस पदाधिकारीमा एक सभापति, दुई उपाध्यक्ष, दुई महामन्त्री, सात सहमहामन्त्री, पार्टी प्रवक्ता छन्। कांग्रेसमा पदाधिकारी हैसियतमा रहेका कोषाध्यक्ष पद भने खाली छ।
अब सक्रिय राजतन्त्र बाेकेर हिँड्दैनाैँ : कमल थापा!!
मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भन्नुभयो, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजदेखि म राप्रपाबाट अलग भएको छु ।’
हेटौँडा आएर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका कमल थापाले नयाँ पार्टी खोल्ने सङ्केत गर्नुभएको छ । अहिले तत्काल आफू पार्टीबाट अलग हुने र पछि सबैको सल्लाहमा मात्र के गर्न सकिन्छ त्यही गर्ने उहाँले बताउनुभयो ।
मकवानपुरमा रहेका राप्रपा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपाका निवर्तमान अध्यक्षसमेत रहनुभएका थापाले अब नयाँ यात्रामा अगाडि बढ्ने बताउनुभयो । अब आफूहरू सक्रिय राजतन्त्र बोकेर नहिँड्ने बताउँदै उहाँले राजनीतिमा सबैखालका अवरोध हटाएर नयाँ सम्भावनातिर लागेको बताउनुभयो ।
राप्रपालाई राजनीति पार्टी भन्दा पनि राजाको पुनर्स्थापना गर्ने भजन मण्डली समिति बनाउन लागिएको नेता थापाकाे आराेप छ । नियोजित रूपमा पार्टीभित्रको चुनावमा चार सयभन्दा बढी मत बदर गरिएको उहाँकाे दाबी छ । उहाँले आफूहरूले परिकल्पना गरेको राजसंस्था पार्टी राजनीतिभन्दा माथि रहेको बताउनुभयो ।
पूर्वराजाको हस्तक्षेपकारी भूमिकाकै कारण आफूले पार्टीको अध्यक्ष पदको चुनावमा पराजित हुनुपरेको आराेप लगाउनुभयाे । राप्रपा राजाले खोलेको पार्टी नभएको बताउँदै उहाँले भन्नुभयो, ‘म जितेको भए पनि निर्मल निवासले चुनावमा गरेको हस्तक्षेपकाे विरोध गर्थेँ । पहिले पनि राजाकै कारण पार्टी फुटेको हो । अहिलेको पार्टीभित्रको चुनावमा पनि राजाले हस्तक्षप गर्नुभयो । याे सह्य भएन ।’
गएकाे मङ्सिरमा भएको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आउनुभएको थियो । थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनको चुनाव प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आउनुभएको छ । पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्था आउँदा दिनमा दोहोरिन नदिन पार्टीले कदम चाल्नुपर्ने माग थापाको छ ।
थापाले विज्ञप्ति नै निकालेर पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको र त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताउनुभयो । अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ ।
कमल थापाले छाडे राप्रपा!(पत्र सहित )
हेटौंडा — कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।
मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् ।
थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।
पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।
विप्लव नेकपाका जुम्ला जिल्ला इन्चार्जसहित माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत!!
काठमाडौं । नेत्रविक्रम चन्द -विप्लव) नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान खुमलटारस्थित निवासमा तिरुवालाई पार्टी प्रवेश गराए ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार तिरुवासँगै जिम्ला जिल्ला कमिटीका सदस्यहरु पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लव समूहको सिंगो जिल्ला समिति माओवादी केन्द्रमा समाहित
काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण) सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरी लगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे हाे ।
अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउनुभयो । परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उहाँको भनाई थियो ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्, ’ उहाँले भन्नुभयो, हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’ उहाँले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताउनुभयो ।
प्रवेश गर्नेहरुका तर्फबाट रवीकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताउनुभयो । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उहाँको भनाई थियो ।
अर्घाखाँचीमा सबै पालिकामा जित्छाैँ, एमालेलाई पहिलाे बनाएरै छाड्छाैँ’!!
काठमाडौं । ‘तीनै तहकाे चुनावमा बहुमत ल्याउने गरी अगाडि बढिरहेका छाैँ, एमालेलाई पहिलाे बनाएरै छाड्छाैँ’- नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल भन्नुहुन्छ ।
नजिकिँदै गरेकाे स्थानीय तह चुनावका सन्दर्भमा अध्यक्ष भुसालले पार्टीलाई एक नम्बर बनाउनेगरी काम गरिरहेकाे बताउनुभयाे । जिल्लामा संगठन सुदृढिकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाइएकाे भन्दै उहाँले सम्पूर्ण जनमत एमालेकै पक्षमा रहेकाे बताउनुभयाे ।
पार्टी संगठनका कामसँगै अघाेषित रुपमा चुनावी अभियान पनि सँगसँगै लगिएकाे अध्यक्ष भुसालकाे भनाइ छ । एक महिना अघि जिल्ला हाँक्ने जिम्मेवारी पाउनुभएका भुसालले पार्टीमा सबैलाई मिलाएर अगाडि बढिरहेकाे पनि बताउनुभयाे । नेकपा भंगपछि एमालेमै बस्नुभएका पूर्व माओवादीका नेताहरुलाई सम्मानजनक रुपमा पार्टीमा रहनुभएकाे पनि उहाँले बताउनुभयाे ।एमालेलाई एक नम्बर पार्टी बनाउन जिल्ला नेतृत्व नभएर केन्द्रकाे टाेली पनि लागिरहेकाे भुसालले सुनाउनुभयाे । उहाँका अनुसार एमाले केन्द्रीय सचिव टाेपबहादुर रायमाझी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चन्द्रबहादुर खड्का, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज चेतनारायण आचार्य सहित जिल्ला नेताहरुकाे टाेली अघाेषित चुनावी अभियानमै केन्द्रित छ ।
जिल्लामा एमालेका सबै नेता कार्यकर्ता स्थानीय तह चुनावकाे मिति घाेषणाकाे प्रतिक्षामा रहेका भन्दै उहाँले गठबन्धन सरकारले चाँडाे भन्दा चाँडाे चुनावकाे मिति घाेषणा गर्नुपर्ने बताउनुभयाे ।
एमालेप्रति जनताकाे बढ्दाे आकर्षण देखेर गठबन्धनले चुनाव सार्न खाेजिरहेकाे बताउँदै भुसालले भन्नुभयाे – ‘चुनाव सार्ने काेशिस गरे त्यसकाे प्रतिवादमा उत्रिन्छाैं, पार्टीकाे केन्द्रीय सचिवालय बैठकले पनि यसबारे निर्देशन दिइसकेकाे छ ।’
संविधानकाे अपव्याख्या गरेर चुनाव सार्ने काम नगर्न उहाँले गठबन्धन सरकारलाई चेतावनी पनि दिनुभयाे । नेपालकाे संविधानले स्थानीय तहमा रिक्तताकाे परिकल्पना नगरेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘संविधान र कानुनअनुसार गठबन्धन चल्नुपर्छ, गठबन्धनले संविधान र कानुन उल्लंघन गर्याे भने हामी चुप बस्दैनाैँ, संविधानले गरेको व्यवस्थालाई जोगाउन हामी जुनसुकै मूल्य चुकाउन तयार छाैँ, चुनावका लागि दबाब दिन्छाैँ ।’चुनाव लोकतन्त्रको मुटु भएकाे भन्दै उहाँले स्थानीय चुनावका लागि आफूहरु सम्पूर्ण रुपले मैदानमा हाेमिएकाे बताउँदै अध्यक्ष भुसाल भन्नुहुन्छ – ‘एमालेलाई सबै तहमा बलियाे बनाउने गरी अभियान चलाइरहेका छाैं, ६ वटै पालिकामा पालिका कमिटी र वडा कमिटी गठन गरेर सम्पूर्ण रुपले चुनावतर्फ केन्द्रित छाैँ ।’
जिल्लामा माओवादी केन्द्र सकिँदै गएकाे र एकीकृत समाजवादी नाममा मात्र सीमित भएकाले आफूहरुकाे मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेससँग मात्र रहेकाे उहाँले बताउनुभयाे । यद्यपि कांग्रेसकाे अवस्था पनि जिल्लामा अहिले खराब रहेकाे भुसालले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘माओवादीले वडाध्यक्षमा पनि जित्ने अवस्था छैन, कांग्रेसकाे जनमत ओरालाे लाग्दैछ,एकीकृत समाजवादीलाई जिल्लाले चिन्दैन ।’केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बाेकेर हिँडेपछि कांग्रेसकाे अलिअलि भएकाे जनमत पनि गिरेकाे अध्यक्ष भुसालकाे ठहर छ ।अर्काेतर्फ कांग्रेसका जनप्रतिनिधिले स्थानीय तहमा उल्लेख्य काम गर्न नसकेका र विकास निर्माणमा भन्दा पनि आफ्ना कार्यकर्ता पाेस्ने काममा मात्र लागेकाले कांग्रेस कमजाेर बन्दै गएकाे अध्यक्ष भुसालले बताउनुभयाे । ‘सबैकाे एउटै चाहाना छ सबै पालिकामा एमालेले जित्नुपर्छ, प्रतिनिधि सभा र प्रदेश सभामा पनि बहुमत ल्याउनुपर्छ’ – उहाँले भन्नुभयाे ।पाँच दलीय गठबन्धन चुनावसम्म कायमै रहेपनि जिल्लामा एमाले एक्लैले बहुमत ल्याउने समेत भुसालले बताउनुभयाे । ६ वटा पालिकामध्ये भूमिकास्थान नगरपालिकामा मात्र गठबन्धनकाे केही प्रभाव रहेकाे उहाँले बताउनुभयाे । यद्यपि भूमिकास्थानमा पनि राम्रै जनमत रहेकाेअध्यक्ष भुसालले बताउनुभयाे । ०७४ मा माओवादी र कांग्रेसकाे गठबन्धनबाट मेयर बन्नुभएका भूमिकास्थान नगरपालिका मेयर नेकपा भंगपछि एमालेमै बस्नुभएकाे छ । यसले पनि जनमत एमालेकै पक्षमा आउने विश्वास भुसालले व्यक्त गर्नुभयाे ।०७४ काे स्थानीय तह चुनावमा एमाले एक्लै लडेकाे भन्दै उहाँले अहिले पनि गठबन्धन विरुद्ध एक्लै लड्ने बताउनुभयाे । यद्यपि ०७४ काे भन्दा अहिले अवस्था अलि फरक रहेकाे उहाँले सुनाउनुभयाे । अध्यक्ष भुसालले भन्नुभयाे – ‘हिजाे माओवादी र कांग्रेस मिल्दा पनि दुई वटा पालिकाकाे नेतृत्व हामीले गरेका थियाैँ, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा भने हाम्रै पार्टीका धेरै जनप्रतिनिधि निर्वाचित हुनुभएकाे थियाे ।’अर्घाखाँचीमा कुल ३ सय २९ प्रतिनिधि निर्वाचित भएकामा १ सय ४३ एमालेका मात्रै थिए । कांग्रेसबाट १ सय ३०, माओवादी केन्द्रबाट २६ र राष्ट्रिय जनमाेर्चाबाट ३० जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।अहिले अवस्था फरक रहेकाे उहाँले बताउनुभयाे । पहिलो संविधानसभादेखि लगातार चुनाव जित्दै आउनुभएका एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी नेकपा भंगपछि एमालेमै हुनुहुन्छ । रायमाझीले पाउने मत स्वभाविक रुपमा एमालेले पाउने भुसालले बताउनुभयाे । माओवादीकै अर्का लाेकप्रिय नेता चन्द्रबहादुर खड्का पनि नेकपा भंगपछि एमालेमै हुनुहुन्छ ।
अर्काेतर्फ कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ता एमाले प्रवेश गर्ने लहर साेचे भन्दा बढी रहेकाले पनि आफूहरुकाे जित सुनिश्चित रहेकाे पनि अध्यक्ष भुसालले सुनाउनुभयाे । ‘एमाले आफ्नाे जनमत कायमै छ,पार्टी प्रवेश गर्नेहरुकाे लहर बढेकाे छ, माओवादीकाे करिब ८० प्रतिशत जनमत हामीतिरै छ,त्यसैले पाँच दलीय गठबन्धन कायमै रहेपनि हामीले तीनै तहमा जित्छाैँ’- उहाँले भन्नुभयाे ।कांग्रेससँग मिलेपनि ओवादी केन्द्रले कुनै पनि पालिकामा जित्न सक्ने अवस्था नरहेकाे उहाँले बताउनुभयाे । अर्घाखाँचीमा एकीकृत समाजवादीकाे कुनै प्रभाव नरहेकाे पनि अध्यक्ष भुसालले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘नबुझेर लाग्नुभएकाहरु सबै मूलधारमै फर्कनुभयाे,केही औंलामा गन्न सकिनेहरु मात्र हुनुहुन्छ, एकीकृत समाजवादी जिल्लामा शून्य जस्तै छ भन्दा फरक पर्दैन ।’
स्थानीय तहमा एमालेका जनप्रतिनिधिले निक्कै राम्राे काम गरेका अध्यक्ष भुसालले बताउनुभयाे । आगामी चुनावमा प्रदेश र प्रतिनिधि सभामा पनि एमालेकै बहुमत आउने उहाँले बताउनुभयाे ।
प्रचण्ड र माधव नेपाल : दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले !!
हुन त शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई गुण र दोषको तुलोमा सँगसँगै राखेर जोख्ने हो भने नतिजामा खासै अन्तर नदेखिएला । तर व्यवहार, कार्यशैली र धरातलका पछिल्ला मापनमा देउवा र ओलीको भन्दा प्रचण्ड र नेपालको ओज घटेको देखिन्छ ।
प्रचण्ड : के सोचेँ मैले, के भयाे अहिले !
‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’, प्रचण्डको चरित्रलाई सङ्केत गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेको टिप्पणी हो यो ।
प्रचण्डको असली चरित्र एउटै थालमा खाएर र एउटै ओछ्याउनमा सुतेर वर्षाैँसम्म सहयात्रा गरेका बाबुरामलाई जति अरू कसलाई पो थाहा होला र ! पछिल्लो पटक एमसीसी प्रकरणमा देखाएको द्वैध चरित्र सार्वजनिक भएपछि त प्रचण्डको भनाइ र गराइमा कतिसम्म फरक छ भन्ने कुरा भट्टराईबाहेक अरूलाई पनि घामजत्तिकै छर्लङ्ग भइसकेको छ ।
त्यसो त प्रचण्डको असली चरित्र देखाउने यो पछिल्लो प्रमाण मात्रै हो । शक्तिखोरको भिडियो सार्वजनिक भएपछि उनको दाहोरो चरित्र र विश्वसनीयता स्खलन हुन थालेको थियो । योभन्दा अघिका थुप्रै अभिव्यक्ति र व्यवहारले पार्टीभित्र र बाहिरसमेत प्रचण्डप्रतिको विश्वास घट्दै आएको छ । शान्ति प्रक्रियामा आएपछि कुशल रणनीतिकार मानिने प्रचण्ड केही वर्षदेखि बोलीको ठेगान नभएका नेताका रूपमा चिनिन थालेका छन् । पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रधानसेनापति रुकमाङ्गद कटवाललाई खुल्ला मञ्चबाटै ‘को हो त्यो’ भनेर चुनौती दिए । पछि सेनापति र पशुपतिको पुजारी हटाउने निर्णय आफ्नो गलत काम भएको भन्दै पश्चाताप गरे । बोल्ने र विवादमा पर्ने प्रचण्डको चरित्रलाई कतिपयले कमजोरीको रूपमा बुझ्छन् भने प्रचण्ड चाहिँ यसलाई आफ्नो विशेषता ठान्छन् । संविधान सभाको चुनाव हुनु पहिले नै माओवादी सेना र हतियारको विषयमा बोलिएको शक्तिखोरको भाषणको भिडिओ सार्वजनिक भएदेखि प्रचण्डप्रतिको आमधारणा फरक हुन थालेको हो ।
पटक–पटकको विवादित अभिव्यक्ति र कामले प्रचण्डले विश्वसनीयता गुमाउँदै गएका छन् । पछिल्लो पटक अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा दोहोरो भूमिका खेलेको खुलासा भएपछि त प्रचण्डको बचेखुचेको साख झनै घटेको छ । प्रचण्ड अहिले पनि नेता र कार्यकर्तासँगको भेटमा एमसीसी संशोधन नगरि संसदबाट अनुमोदन हुनै सक्दैन भन्छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई लेखेको पत्रमा भने प्रचण्डले एमसीसी अनुमोदनको प्रतिबद्धता जनाएका छन् । प्रचण्डको दोहोरो चरित्र सार्वजनिक भएलगत्तै उनको सचिवालयले प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि मात्र पत्र लेखिएको भन्दै बचाउ गर्न खोजेको छ । तर यो विज्ञप्तिमा प्रचण्डको दोहोरो चरित्र झनै छताछुल्ल भएको छ । इमानदार भए प्रचण्डले विना ढाकछोप एमसीसी पास गर्नुपर्छ भन्नु पर्थ्याे, तर त्यसो भन्न प्रचण्डको दोधारे बोली र चरित्रले अहिले पनि दिएन ।
आफ्नो ‘हाइट’ आफैँ घटाउने गरी पटक–पटक प्रचण्डका विवादित अभिव्यक्ति किन सार्वजनिक भइरहेका छन् त ? एउटा कारण त मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवदेखि रामबहादुर थापा बादलसम्म जनयुद्धका सहयात्री नेताहरू आफूसँग नहुँदाको छटपटी पहिलेदेखि नै छँदैछ । अर्को माधव नेपाललगायतका गठबन्धनका नेताहरूको साथमा परैसम्म पुग्छु भन्ने पछिल्लो विश्वास पनि धरमराउन थालेको छ । आउँदो चुनावमा गठबन्धन नहुने हो भने पार्टीले सजिलै जित्ने ठाउँ पहिल्याउनै प्रचण्डलाई सकस छ । माओवादी केन्द्रसँग रुकुम, रोल्पा, कालीकोट, जाजरकोट जस्ता केही जिल्ला छोडेर एक्लै चुनाव जित्न पुग्ने स्थानीय सङ्गठन छैन । त्यसैले आउँदो चुनावको सम्भावित परिणामले प्रचण्डलाई भित्रभित्रै अत्याएको छ । केही निजी स्वभाव, व्यापारिक पृष्ठभूमिका व्यक्तिसँगको उठबस र युद्धमा गरिबका छोरा मारेको अपशाेस अपराधबोधले पनि प्रचण्डभित्र पीडा, कुण्ठा, निराशा, उग्रता र आक्रोश मडारिएको पाइन्छ । यी सबै कारण प्रचण्डका अभिव्यक्ति र कार्यशैली एकपछि अर्को विवादित भइरहेका छन् । एमसीसी प्रकरण त पछिल्लो उदाहरण मात्रै हो । प्रचण्ड भविष्यमा यस्ता समस्यामा झन् जेलिँदै जानेछन् । किनकि, अब प्रचण्डलाई न त ओली र देउवाले विश्वास गर्छन्, न त अमेरिका, चीन र भारतले नै । यो कुराको बोधले प्रचण्डलाई झन्–झन् अविश्वसनीय र दोधारे बनाउँदै लैजानेछ ।
कुण्ठैकुण्ठाको कुण्डमा माधव नेपाल!
केपी ओलीको मेख मार्ने एउटै मात्र उद्देश्य बोकेर हिँडेका माधव नेपाललाई आफ्नो ‘हाइट’ कतिसम्म रहेछ भन्ने हिजो मात्रै थाहा भयो होला । एमसीसी सम्झौताबारे अमेरिकालाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएलगत्तै हिजो प्रधानमन्त्री देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाए । यसअघि प्रचण्ड बालुवाटार जाँदा नेपाल पनि सँगै हुन्थे । आफू मुख्य दलको शीर्ष नेताभित्रै पर्छु र त्यसमा पनि ओलीको भन्दा बढ्ता महत्त्व आफ्नै छ भन्ने नेपाललाई लाग्थ्यो । तर एमसीसी, स्थानीय चुनाव लगायतका अरू समसामयिक विषयमा हुने छलफलमा माधव नेपालको उपस्थिति आवश्यक छैन भन्ने देउवाले पनि बुझिसके । हुन त माधव नेपाल भएको ठाउँमा ओली आउँदैनन् भनेर हिजोको बैठकमा देउवाले नबोलाएको हुन सक्छ । तर कारण त्यो मात्रै होइन, अहिलेका सबै राजनीतिक घटनाक्रमहरू देउवा, ओली र प्रचण्डकै वरपर घुमिरहेका छन् । यो ‘रिङ’ मा माधव नेपाल नसमेटिँदा पनि फरक पर्दैन । पछिल्लो पटक फेरिँदो घटनाक्रमबाट माधव नेपालले पनि यो कुरा छर्लङ्ग बुझेको हुनुपर्छ ।
माधव नेपाललाई नजिकबाट बुझेका सबैलाई थाहा छ, माधव नेपाल मान र पद भनेपछि हुरुक्कै हुने नेता हुन् । यसअघि दुई ठाउँबाट चुनाव हार्दासमेत सांसदबाट प्रधानमन्त्री बनेको र महाधिवेशनमा हार्दासमेत प्रचण्डकै हाराहारीको अध्यक्ष बन्न खोजेकोबाट त हरेक नागरिकले उनको पदप्रतिको आशक्तिलाई यसअघि नै बुझिसकेका हुन् ।
यही लोभ र आशक्तिले उनलाई अस्थिर बनायो । एमालेमा पनि उनी वरिष्ठ नेता नै थिए, माओवादीसँग एकता भएपछि पनि उनी त्यही वरिष्ठ पदमा कायम रहेकै थिए । ओलीका कमी–कमजोरी त पहिले एमालेमा हुँदा पनि देखिएको थियो । खटपट त उतिबेला पनि थियो । ओलीको व्यवहारले प्रचण्डलाई जस्तै नेपाललाई चित्त नबुझ्नु स्वाभाविक नै थियो तर प्रचण्डको लहलहैमा लागेर ओलीलाई कमजोर पार्न माधव नेपाल आफैँले बनाएको एमालेकै जग हल्लाउन थालेपछि कुरा जटिल भयो ।
निर्वाचनको मिति घोषणासँगै आयोग तयारीमा जुट्यो,बजेटका लागि अर्थ मन्त्रालयलाई पत्रचार!!!
काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणासँग आयोग आजैदेखि तयारीमा जुटेको छ ।सरकारले मिति घोषणा गर्न आलटाल गर्दा आयोग दोधारमा परेको थियो ।उसले गर्दै आएको मतदाता नामावली संकलन कार्य रोकेको छ । २०७४ को निर्वाचनमा अब हुने निर्वाचनमा २० लाख मतदाता थपिएका छन् ।
तमाम आशंका र चौतर्फी दबाबका बीच सरकारले सोमबार आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।निर्वाचन आयोगले सिफारिस गरेको मितिभन्दा पाँच दिन अगाडि निर्वाचनको मिति सार्न प्रधानमन्त्रीका ज्योतिषीको भूमिका रहेको चर्चा चलेको छ ।निर्वाचनको तयारी गर्न अब आयोगलाई ३ महिना १० बाँकी छ । उसले कम्तिमा पनि १२० दिन आवश्यक पर्ने भन्दै आएको थियो । ७५३ ओटै स्थानीय तहको निर्वाचन एकै चरणमा हुने छ ।
केही दिन ढिलै भए पनि आयोगले तय गरेको मिति आसपासमा नै सरकारले घोषणा गरेको हो । उक्त मितिमा निर्वाचन गर्नरगराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।
अब, निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जूमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्ने भएकोछ ।अघिल्लो पटक करिब ८ अर्ब रुपियाँमा स्थानीय तहको चुनाव सम्पन्न गरेको निर्वाचन आयोगले यसपालि निर्वाचन गराउन करिब १२ अर्ब रुपियाँसम्म लाग्न सक्ने अनुमान गरेको छ।
निर्वाचन खर्चको अधिकांश हिस्सा निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधानमा खर्च हुने भएकाले अघिल्लो निर्वाचनको तुलनामा यस्तो खर्च ३० प्रतिशतले वृद्धि भएको आयोगको अनुमान छ ।यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो।
आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृह मन्त्रीलाई निर्देशन दिएका थिए । यसैबीच स्थानीय तहको निर्वाचन मिति घोषणा भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वागत गरेको छ ।दलहरू अब निर्वाचनमा हाेमिने भएका छन् ।
हिउँ खेल्न गएका बारपाकका २ बालक ५ दिनदेखि बेपत्ता!!
२५ माघ, गोरखा । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना बालक बेपत्ता भएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् ।
हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरु लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता सम्पर्कमा छैनन् । छोरा हराएको भन्दै आफन्तले २३ गते बारपाक प्रहरी चौकीमा मौखिक जानकारी गराएका थिए । खोजी गरिदिन भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत बुझाएका छन् ।
जानकारी पाएपश्चात उनीहरुको खोजी कार्य तीव्र पारिएको डिएसपी प्रकाश दाहालले बताए । ‘हराएकामध्ये करन भन्नेले मोबाइल लगेको रहेछ, तर फोन सम्पर्क हुँदैन, हामीले मोबाइल ट्रयाकिङको प्रयास गरिरहेका छौं,’ उनले भने ।
गैरकानुनी रुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही हुन्छ : गृह मन्त्रालय!!
काठमाडौं । गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।
विद्यार्थीलाई विदेश पठाउदा प्रचलित कानुन विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने गृहमन्त्रालयले जनाएको छ । पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरु बढिरहेको मन्त्रालयले जनाएको छ । यस्ता संस्थाहरुमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।
‘गैरकानुनी काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा ईजाजत नलिई अनलाईन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ,’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’
गैरकानूनी रुपमा काम गरेको संस्थाहरु/व्यक्तिविरुद्ध सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिन गृहले आग्रह गरेको छ!

सबैका लगि खुल्दै अष्ट्रेलियाको सिमाना!!!
अष्ट्रेलिया ।
कोरोना महामारीका कारण बन्द गरिएको अष्ट्रेलियाको सिमाना यो वर्षदेखि सबैको लागि खुल्ला भएको छ । अष्ट्रेलियाले आफ्नो सबै जनसंख्यालाई महामारीविरुद्धको खोप दिइसकेकोले फेब्रुअरी २१ तारिखदेखि सिमाना खोल्ने संकेत गरेको हो ।
प्रधानमन्त्री अध्यक्ष रहने संघिय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिषावहाकका लागि सिमाना खुल्ला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मोरिसनले पत्रकारहरुसंग कुरा गर्दै मान्यता प्राप्त खोपको पुर्णमात्रा लगाएका सबै भिषावहाकलाई आउन दिने निर्णय भएको जानकारी गराएका हुन् ।खोप नलगाएका यात्रुले भने पूर्व अनुमति लिनुपर्नेछ ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा