सेप्टेम्बरमा अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव !! !
पर्थ, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा अष्ट्रेलियाका सहरहरुमा गर्दै आएको नेपाल महोत्सवको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुँदैछ ।
एनआरएन वेष्टर्न अष्ट्रेलियाको आयोजनामा गरिने नेपाल महोत्सवको उद्देश्य यहाँ हुर्किदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभुषाबारे जानकारी गराउनुका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिनु हो । यसका साथै एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिवृद्धि गर्न पनि नेपाल महोत्सवको महत्वपूर्ण योगदान दिँदै आएको छ ।
नेपाल महोत्सव पर्थ २०२४ लाई सफल बनाउन यसका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेसहित पूरै एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलियासहित संस्था, क्लब र व्यवसायीहरु यतिबेला सेप्टेम्बर १४ को नेपाल महोत्सवलाई लिएर उत्साही छन् ।
यसपटकको नेपाल महोत्सवमा अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । नेपाल महोत्सवलाई सिटी अफ पर्थ, वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालयले पनि आर्थिक सहयोग गरेको छ ।
नेपाल महोत्सव आयोजक समिति एवं एनआरएन डब्लूएका संयोजक शेखर घिमिरेका अनुसार, नेपाल फेष्टिभलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने पक्का भइसकेको छ । नेपाल महोत्सवमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समुदायका अगुवाहरु पनि आउने तय भएको छ ।
संयोजक घिमिरेले भने, यस पटकको नेपाल महोत्सवमा नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरासमेत हेर्न पाइने छ । हामीले बालबालिकाहरुलाई समय बिताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं । नेपालको गीत–संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यस पटक बहुसांस्कृतिक समुदायका प्रस्तुति पनि समेट्ने जमर्को हाम्रो छ ।
एनआरएन वेष्टर्न अष्ट्रेलियाका युवा संयोजक मनिष सिग्देलका अनुसार, महोत्सव नेपाल चिनाउने मेलाका रुपमा रहेकाले यसलाई भब्य बनाउन १० दिनअघिदेखि जमघटका ठाउँहरुमा प्रचार सामग्री राखिनेछ । यसले नेपालबारे यहाँको बहुसांस्कृतिक समुदायलाई जानकारी दिने र नेपाल महोत्सवको समेत प्रचार गर्ने अपेक्षा छ ।
नेपाल महोत्सवका दौरान सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुनेछ । यस पटकको नेपाल महोत्सवमा १२ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको युवा संयोजक सिग्देलले बताए ।
अस्ट्रेलियामा एक नेपाली युवतिको मृत्यु – माइती पक्ष निष्पक्ष अनुसन्धान र न्याय खोज्दै !
अस्ट्रेलियाबाट फेरि अर्को दुखद खबर आएको छ । अस्ट्रेलियाको सिड्नीस्थित हाइड पार्क नजिकै रहेको सानो पार्कमा एक नेपाली युवतिको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, न्यु साउथ वेल्सले घटनाको पुष्टि गर्दै जानकारी दिएको छ ।
भर्खर विवाह गरेर पठाएकी चेलीको यस्तो अप्रत्याशित खबर सुनेपछि नेपालमा उनका आफन्त अत्यन्त मर्माहत बनेका छन् । दीक्षाको निधनमा उनीहरूले गहिरो आशङ्का व्यक्त गरेका छन् ।
माइती पक्षले जनाए अनुसार अस्ट्रेलियाका पिआर वाहक उनका श्रीमानले सुरुमै उनलाई अस्ट्रेलिया नै गलत बाटोबाट लिएर गएको, उनको पुरानो सम्बन्धको बारेमा विवाहपूर्व नै सम्पूर्ण यथार्थ जानकारी नदिएर आफ्ना छोरी चेलीलाई मानसिक विक्षिप्तताको स्थितिमा पुराएको, चार महिनासम्म बाहिरी संसारबाट अलग बन्धकजस्तो स्थिति बेहोर्नुपरेको जस्ता गम्भीर गुनासा र प्रश्नहरू उठाएका छन् ।
माइती पक्षले दीक्षाको न्याय र आत्माको शान्तिका लागि नेपाली समुदायसँग साथ र सहयोगको अपेक्षा राखेका छन् । हतार हतार आत्महत्या भएको भन्दै खबर आउनु, शव व्यवस्थापन समेत अस्ट्रेलियामै गर्छौँ भन्नु, सञ्चारमा बारम्बार गोपनीयता भन्दै घटना नै लुकाउन खोज्नु जस्ता गतिविधिहरूले उनीहरू अझ बढी सशङ्कित भएका छन् ।
अनजान सहरमा २५ किलोमिटर टाढा शव भेटिएको भनिएको छ , कसरी गइन ? उनले पैसा पनि नबोकेको र फोन समेत उनीसँग थिएन भनिएको छ । त्यति टाढाको स्थानमा कसरी पुगिन, वा कसैले पहिले नै घटना घटाएर त्यहाँसम्म पुराएको हो ?
सर्वप्रथम त माइती पक्षले उनको मृत्युलाई सहज आत्महत्याको रूपमा स्विकार्न तयार छैन , यदि आफै गएर गलत कदम चालेकै भए पनि त्यति धेरै रहर बोकेर अस्ट्रेलिया पुगेकी छोरीलाई के बाध्यताले यस्तो स्थितिसम्म पुर्यायो उनीहरूको प्रश्न छ ।
यस विषयमा गम्भीर अनुसन्धान गरियोस् भन्ने माइती पक्षको अनुरोध छ , मृतकका श्रीमानको पूर्व पत्नीसँगको सम्बन्धलाई लिएर पनि दीक्षालाई मानसिक पीडामा पारिएकोले उनलाई समेत अनुसन्धानको दायरामा ल्याइनुपर्ने भन्दै सचेत नेपाली समुदायसँग माइती पक्षले अनुनय गरेको छ ताकि भोली कसैका छोरी चेलीले यस्तो अकाल मृत्युवरण गर्ने स्थिति नआओस् ।

झापाको मेचीनगर नगरपालिका वडा नं १४ धाइजन घर भएकी २७ वर्षकी दिक्षा शिवाकोटी प्रसाईँको एक वर्ष अगाडी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका नेपाली रवि प्रसाईँसँग मागी विवाह भएको थियो । उनी चार महिना अगाडी मात्रै अस्ट्रेलिया आएकी थिइन भने उनले हराएको एक दिन अगाडी मात्रै काम सुरु गरेकी थिइन ।
प्रहरीले उनलाई रातको बाह्र बजे झुन्डिएको अवस्थामा फेला पारेको थियो । उनको निधनका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको एनआरएनए सिड्नीका संयोजक विनोद कुँवरले सञ्चार माध्यमलाई जानकारी गराएका थिए ।
गत ८ तारिख आइतबार एक घण्टा काम गरेर निस्किएपछि हराइरहेकी उनी रातको १२ बजे पार्कमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन । यस दुखद घटनाले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।
नेपालमा रहेको उनको परिवारले यस घटनाको सत्य तथ्य र निष्पक्ष अनुसन्धानका लागि अनुरोध गर्नुका साथै अन्तिम संस्कारका लागि उनको शव नेपाल पठाइदिन नेपाली समुदायसँग आग्रह पनि गरेका छन् ।
आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड हो’- प्रदेश सभापति शर्मा!!
आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड हो’- प्रदेश सभापति शर्म
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
कांग्रेस र जनजाति कुनै पृथक चिज होइन्, अलग होइनन्, कांग्रेस जनजाति हो, जनजाति भनेको कांग्रेस हो, कांग्रेस र जनजातिको सम्बन्ध नङ र मासुको जस्तै छ’, सभापति शर्माले भने, ‘ २००७ सालको आन्दोलन सुरु गर्दा धेरै जनजातिहरु इन्डियन,बिट्रिस आर्मीमा भर्ना भएका थिए उनीहरुलाई जोडेर मुक्ति सेना निर्माण गरेर उनीहरुलाई अगाडि सारेर २००७ सालको आन्दोलनको प्रारम्भ भएको हो, त्यसैले आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड हो ।’
प्रदेश सभापति शर्माले कांग्रेस लोकतन्त्र, प्रजातान्त्रिक पार्टी भएकाले गलत गर्ने नेताको खुलेर विरोध गरेपनि पार्टीको निर्देशनमा चल्दै आएको दावी समेत गरे । गण्डकी प्रदेशका अर्थमन्त्री एवम् नेपाली काग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अन्य भातृसंगठनले महाधिवेशन गर्न नसक्दा समयमा नै महाधिवेशन गरेर पार्टीलाई सन्देश दिएको बताए ।
‘संगठन निर्माण र विस्तारमा हामीले धेरै चुनौतीको सामना गर्दै आएका छौं, यो अवस्थामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले तोकेकै समयमा महाधिवेशन गरेर पार्टीलाई सन्देश समेत दिएको छ, गुरुङले भने, ‘यस महासंघले नेपाली कांग्रेसको अन्य भातृसंगठनलाई समेत समयमा नै महाधिवेशन गरेर पार्टीलाई थप बलियो बनाउन समेत सन्देश दिएको छ ।’
कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओमबहादुर घर्ति मगरले आदिवासी जनजातिका लागि पार्टीमा १७ बुँदे माग समेत राखेको बताए ।
‘ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति केन्द्रिय महासंघले काठमाडौंमा दुई दिन प्रशिक्षण कार्यक्रम राखेको थियो, त्यस कार्यक्रमबाट हामीले आदिवासी जनजाति समुदायको लागि १७ बुँदे माग पार्टीमा राखेका छौं’, घर्तिले भने, ‘हामीले राखेको १७ बुँदे मागमा पार्टी सभापति देखि महामन्त्रीद्धयसँग समेत छलफल गरेका छौं, हामीले द्धन्द्ध पनि मेटिने र पहिचान भेटिने गरी पार्टीमा माग राखेको छौं ।’
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघमा केन्द्रिय समिति र जिल्ला समितिलाई सम्मान र नवनिर्वाचित गण्डकी प्रदेश समितिलाई पदस्थापन समेत गरिएको थियो ।
कार्यक्रम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष जीबहादुर गुरुङको अध्यक्षता र सचिव बुद्धिबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखराको पावरहाउस रिसोर्टको स्विमिङ पुलमा डुबेर एक भारतिय नागरिकको मृत्यु !!
पोखराको एक रिर्सोटमा स्विमिङ गर्ने क्रममा डुबेर एक भारतिय नागरिकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ पावरहाउस स्थित रहेको पावरहाउस रिसोर्टमा पोखरा भ्रमणमा आएका भारतिय नागरिक २३ वर्षिय देवान सिंह ऐ को मृत्यु भएको प्रहरीले बताएको छ ।
मंगलबार दिउँसो १ : ३० बजेको समयमा पावरहाउस रिसोर्टको स्विमिङ पुलमा स्विमिङ गर्ने क्रममा सिंह अचानक पानीमा डुबेको थिए । केहि समयपछि साथ मै रहेका साथिले देखे पछि सिंहलाई तत्काल पानीबाट निकाली उपचारको लागि गण्डकी मेडीकल कलेज लगिएको थियो । तर उपचारको क्रममा मंगलबार ३ : ५५ बजेको समयमा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
सिंह मंगलबार नै भारत उत्तर प्रदेशको लखनउबाट पोखरा भ्रमणका लागि नेपाल आएका थिए । उनको मणिपाल शिक्षण अस्पतालमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइ भारत तफै ठाइएको प्रहरीले बताएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा आफ्नै श्रीमतीको हत्या आरोपमा कुँवर पक्राउ !
पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ बगालेटोलमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा अन्दाजी ४२ वर्षीय जहर कुँवर रहेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई पोखरा–८ बगालेटोल बस्ने अन्दाजी ४२ वर्षीय कुँवरले अन्दाजी ४० वर्षीया राधिका कुँवरलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा हत्याको कारण भने घरायसी विवाद देखिएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले हत्या आरोपी कुँवरलाई नियन्त्रणमा लिई लैजाने क्रममा स्थानीयहरुले कुटपिटको प्रयास गरेका थिए । उनीहरुको एक छोरा रहेको प्रहरीले जनाएको छ ।
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी !
काठमाडौँ, २६ भदौ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।
राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय हुनेगरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिले अर्थ-सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकाङ्क्षाबीच सन्तुलन कायम गर्ने विश्वास सरकारको छ ।
आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारको कोषमा स्थायित्व कायम राख्दै बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान पुर्याउने अपेक्षा रणनीतिमार्फत गरिएको छ ।
सरकारी कोषलाई सुदृढ बनाउन आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानुन र सञ्चालन प्रणालीहरूसँग करदाताहरूको स्वेच्छिक परिपालना, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता सुदृढ गर्ने, कर र भन्सार प्रशासनमा स्वचालित बनाउनुलगायत रणनीतिका उद्देश्य छन् । कर नीति निर्माण र कार्यान्वयनका लागि अन्तर-सरकारी र अन्तर-सङ्गठनात्मक समन्वय तथा सहकार्य बढाउनका रणनीति जारी भएको हो । सरकारले सबै आम्दानीका स्रोतलाई समावेश गर्दै प्रगतिशील करका दरसहितको कर प्रणालीलाई सुरु गर्ने उद्देश्य रणनीतिमा छ ।
कर राजस्व र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातलाई सोह्रौँ पञ्चवर्षीय योजनाले निर्धारण गरेका राजस्व लक्ष्यसँग समन्वय गर्दै लगिने रणनीतिमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा १८ दशमलव नौ प्रतिशत रहेको राजस्व-जिडीपी अनुपातलाई आव २०८५/८६ (२०२८/२९)को अन्त्यसम्म २३ दशमलव पाँच प्रतिशत पुर्याउने महत्वाकाङ्क्षी लक्ष्य रणनीतिमा समावेश छ । यो अवधिमा कर राजस्व र जिडीपी अनुपात १६ दशमलव दुई प्रतिशतबाट बढेर २० दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । रणनीतिमा समाविष्ट कार्ययोजना तथा राजस्व सुधारका उपायको कार्यान्वयनबाट कर राजस्व–जिडिपी अनुपातमा थप दुई दशमलव चार प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ ।
यसैगरी, कर र भन्सार प्रशासनमा सुधारबाट थप शून्य दशमलव एक प्रतिशत कर राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ । आव २०७९/८० (२०२२/२३) मा सात दशमलव दुई प्रतिशत रहेको बजेट घाटा-जिडिपी अनुपातलाई घटाएर रणनीति कार्यान्वयनको अन्तिम वर्ष छ दशमलव पाँच प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।
मुलुकको समग्र कर नीति, प्रशासन, शासन संरचना, संस्थागत संरचना, नीति कार्यान्वयन संयन्त्र, अनुगमन तथा मूल्याङ्कन प्रणालीको सुधार र पुनःसंरचनाका लागि व्यवस्थित खाकाका रुपमा रणनीति जारी भएको हो ।
ONF तास्मानियाले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम सम्पन्न ।
प्रवासी नेपाली मञ्च तास्मानियाद्वारा आयोजित आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य कार्यक्रम सफलता पूर्वक सम्पन्न ।
तास्मानिया । अष्ट्रेलिया । १० सेप्टेम्बर २०२४ मा प्रवासी नेपाली मञ्च (ONF) तास्मानियाले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। “आत्महत्या रोकथामबारे संवाद शुरू गरौँ, दृष्टिकोण बदलौँ” भन्ने नाराका साथ आयोजित यस कार्यक्रममा नेपाली समुदायको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले नेपाली समुदायमा आत्महत्या रोकथामका महत्त्वपूर्ण पक्षहरूलाई उजागर गर्दै, मानसिक स्वास्थ्यको संवेदनशील विषयमा खुलेर छलफल गर्न प्रेरित गरेको छ ।
कार्यक्रमका अतिथि एवं मनोवैज्ञानिक करुणा कुँवर र Mental Health First Aid (MHFA) प्रशिक्षक भरत नेपालले सहभागीहरूलाई आत्महत्या रोकथामका विभिन्न पक्षमा ज्ञान प्रदान गरेका थिए। मनोवैज्ञानिक करुणा कुँवरले आत्महत्याका लक्षणहरू, रोकथामका उपायहरू, र मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे महत्त्वपूर्ण जानकारी दिनुभयो। उहाँले आत्महत्या रोकथामका लागि समाजमा रहेको कलंक हटाउन र खुला संवादको महत्त्वलाई उजागर गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।
त्यसैगरी, भरत नेपालले अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सेवाहरू, हेल्पलाइनहरूको जानकारी र आत्महत्यासम्बन्धी तथ्याङ्कहरू प्रस्तुत गर्नुभयो। उहाँले अस्ट्रेलियाको नेपाली समुदायमा आत्महत्या रोकथामका लागि गरिएका प्रयासहरूबारे चर्चा गर्दै, First Aid सम्बन्धी महत्त्वपूर्ण जानकारी दिनुभयो। सहभागीहरूलाई आत्महत्या रोकथाममा तत्काल के कस्ता कदमहरू चाल्न सकिन्छ भन्नेबारे व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
कार्यक्रममा ONF तास्मानियाका अध्यक्ष मुगेन गौतमले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, “आत्महत्या रोकथाम जस्तो संवेदनशील विषयमा सामुदायिक रूपमा छलफल गर्न र चेतना जगाउन यस्ता कार्यक्रमहरू अत्यन्तै महत्त्वपूर्ण छन्। हाम्रा साना प्रयासहरूले ठूलो प्रभाव पार्न सक्छ र कसैको जीवन बचाउन सहयोग पुग्न सक्छ।” मनोवैज्ञानिक करुणा कुँवर र भरत नेपाल लाई बिशेष धन्यवाद दिंदै, समुदायमा यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा NRNA, नारी निकुञ्ज, NSNT, NEST, ONF लगायतका विभिन्न संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमले नेपाली समुदायमा आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको महत्त्वमा सकारात्मक सन्देश पुर्याएको छ।
सरकारी कार्यालयको खाजा समय ३० मिनेटमा सीमित !!
सरकारले सरकारी कार्यालयमा खाजा खाने समय ३० मिनेट तोकेको छ। सेवाग्राहीको काम खाजा समयमा रोकिएको गुनासो आएपछि यो निर्णय भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खाजा समय हरेक दिन १:३० देखि २ बजेसम्म मात्र हुने बताउनुभएको छ।
प्रधानमन्त्रीले खाजा नाममा धेरै समय काम रोकिन नहुने भन्दै नियम उल्लङ्घन भएमा ‘हेल्लो सरकार’मा गुनासो दिन आग्रह गर्नुभएको छ।
कोरियामा बढी कामदार पठाउने मुलुक – नेपाल
दक्षिण कोरिया पछिल्ला दशकहरूमा नेपाली युवाहरूका लागि आकर्षक रोजगार गन्तव्य बनेको छ। सन् २००८ देखि सुरु भएको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत हजारौं नेपाली कोरियामा काम गर्न गएका छन्।
रोजगारीको लागि प्रतिस्पर्धा:
इपिएसमा सहभागी हुन ९ लाखभन्दा बढीले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन्। सन् २०२४ को लागि मात्र १ लाख ९९ हजार ११३ जनाले आवेदन दिएका थिए। हालसम्म ५ लाख ४८ हजार ७७१ जनाले भाषा परीक्षा दिएका छन्।
रोजगारमा वृद्धि:
इपिएसमार्फत हालसम्म १ लाख ५ हजार ५४४ नेपालीले कोरियामा रोजगार पाएका छन्, जसमध्ये १९ हजार ६८९ जना सन् २०२३ मा मात्र गएका हुन्। २०२४ को पहिलो सात महिनामा ४,२८५ नेपाली कोरिया प्रस्थान गरिसकेका छन्।
रोजगारीका क्षेत्र:
कोरियाले नेपाली श्रमिकलाई कृषि, पशुपालन, उत्पादन, वन, सेवा, र पानी जहाज क्षेत्रमा काम गराउँदै आएको छ।
चुनौतीहरू:
भाषा परीक्षा पास गरेर पनि धेरै युवाहरू रोजगार पाउन सकिरहेका छैनन्। हाल २४ हजार ३९ जना रोष्टरमा रहेका छन्, जसमा मात्र १८ हजार २० जनाले रोजगार पाएका छन्।
खर्च र नियमहरू:
दक्षिण कोरियामा काम गर्न इपिएस मार्फत जाने श्रमिकले लगभग १३५० अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ। चार वर्ष १० महिना काम गरेपछि अनिवार्य रूपमा फर्कनुपर्ने नियम छ।
दक्षिण कोरिया नेपाली युवाहरूका लागि आकर्षक रोजगार गन्तव्य भए पनि रोजगार पाउन प्रतिस्पर्धा कडा हुँदै गएको छ।
जापानको होकुतो सहर र पोखरा महानगरबीच पर्वतीय भगिनी सम्बन्ध कायम
जापानको होकुतो सहर र पोखरा महानगरबीच पर्वतीय भगिनी सम्बन्ध कायम
पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गरेका हुन् ।
दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले बताए । उनका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अगाडी बढाउन प्रतिबद्ध रहनेछन् ।
पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो, त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको छ, ।” मेयर आचार्यले भने, “पछिल्लो पटक १५ औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ, यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा