स्वास्थ्य मन्त्रालयको परिपत्र : कोरोना सङ्क्रमण फैलन नदिन पूर्वतयारी र सतर्कता बढाउनू!!
काठमाण्डाै – सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ थप फैलन नदिनका लागि आवश्यक पूर्वतयारीका साथै सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र पालिकालाई परिपत्र गर्दै ओमिक्रोन थप फैलन नदिन थप सावधानी अपनाउन निर्देशन दिएको हो ।
मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाइ परीक्षणकाे दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकामा ‘प्रोटोकल’ अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायतका निर्देशन दिएको छ ।
यस्तै भाइरसका नयाँ–नयाँ भेरियन्ट आउन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न तथा भिडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपाली सेनामा जागिर खुल्यो !!
नेपाली सेनाले रिक्त रहेको २२९ जना अधिकृत क्याडेट पदका लागि विज्ञापन खोलेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय,कार्यरथी विभाग जंगी अड्डाले एक विज्ञापन प्रकाशन गर्दै भर्ना खोलेको जनाएको हो।
उक्त पदका लागि आज अर्थात पुस १८ गतेदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद निर्धारण गरिएको छ। दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ।
नयाँ खोलिएको विज्ञापनमा १२० जना, कर्तव्य पालनाको सिलसिलामा ज्यान गएका सैनिकका परिवारका लागि ६, महिला २१, आदिबासी जनजाती ३३, मधेसी २९, दलित १५ जना र पिछडिएको क्षेत्रबाट ५ जना माग भएको छ।शैक्षिक योग्यताका हकमा प्रमाणपत्र तह उत्तिर्णका लागि २१ बर्ष ननाघेको र स्नातक तह उत्तिर्णका लागि २४ बर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ।
रुसद्वारा सन् २०२१ मा १० भन्दा बढी रकेट परीक्षण फायरिङ !!
रुसको प्यासिफिक फ्लीटले गत वर्ष १० भन्दा बढी रकेट परीक्षण फायरिङ गरेको रुसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ।
प्रवक्ताका अनुसार सन् २०२१ मा प्यासिफिक फ्लीटमा जहाज संरचनाहरूद्वारा १० भन्दा बढी रकेट फायरिङ गरिएको थियो। परीक्षण फायरिङहरूमा रूसको आधुनिक फ्रिगेट मार्शल शापोश्निकोभद्वारा गरिएका दुई अभ्यासहरू समेत समावेश थिए।
गत अप्रिलमा फ्रिगेटले जापानको सागरमा कालिब्र क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो।
त्यसैगरी डिसेम्बरमा मार्शल शापोस्निकोभले रुसको सबैभन्दा नयाँ एन्टि-सबमरिन कम्प्लेक्स ओटभेटको मिसाइलले जापानको समुद्रमा लक्ष्यित गरी परीक्षण गरिएको थियो।
२ हजारभन्दा बढी नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश!
बॉके – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बॉकेको नरैनापुरमा आयोजित सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुने २ हजारभन्दा बढी नेता-कार्यकर्ताहरूलाई स्वागत गर्नुभएको छ
गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गर्नुभयो । “जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भन्नुभयो, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”
एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गर्नुभयो ।
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै शाहको जन्म जयन्तीमा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदाको घोषणा गर्न माग गरेका हुन् ।
‘राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट पुग्दैन, तसर्थ आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक बिदा दिन तथा नेपाली मुद्रामा शाहको तस्बिर अंकित गर्न माग गर्दछौँ,’ ज्ञापन पत्र बुझाउने क्रममा लिङ्देनले भनेका थिए ।
यसअघि २०७४ सालमा देउवाले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । तर, पछि केपी ओली नेतृत्वको सरकारले त्यसलाई केटौती गरेको थियो ।
राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको छ ।
लुम्बिनीको ३ सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने!!
लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिए !
p
राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको रिक्त स्थानमा निर्वाचन हुन लागेको उनको भनाई छ !
निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ । लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने भएका छन् ।
लाश लिएर मलामी गएका तिन जना छोराको बस दुर्घटना हुदा एकै साथ मृत्यु
पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।
स्थानीयका अनुसार विरबहादुरका ६ भाइ छोरामध्ये एक जनाको पहिले नै मृत्यु भइसकेको छ। अहिले बुबाको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा बस दुर्घटनामा परि तिन जना छोराको पनि मृत्यु भएको जानकारी स्थानीयबासिन्दाले दिएका हुन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको बसका चालक फरार रहेका छन्। उनी दुर्घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ। सो घटनामा घाइते भएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
बुटवलबाट शव बोकेर पाल्पाको रिडी अत्येष्टिका लागि आएको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको थियो । तानसेन(तम्घास सडकखण्डको लघुवामा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले बताए ।
बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये चार जनाको पहिचान खुलेको छ। बुटवल १७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार मृत्यु हुनेमा रानीगञ्जका २४ वर्षीय भोजेन्द्र विक, लालबहादुर विक, पशुपति रसाइली र विजय थापा छन्। बाँकीको सनाखत हुन सकेको छैन। दुर्घटनामा परी घाइते हुनेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको मरेङबाट केही वर्षअघि बुटवलमा बसाइसराइ गरेको विक परिवार बुटवल बुद्धनगरमा पसल चलाउँदै आएका थिए। यस्तै मलामी गएकामध्ये तीन जना अझै फेला नपरेको प्रहरीले जनाएको छ।
विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, यी हुन् पाँच ठूला जनसंख्या भएका देश
एजेन्सी । विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ । जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।
तीन वर्षपछि भारतले चीनलाई उछिन्ने
व्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । जनसंख्याका हिसाबले अमेरिकापछि इन्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् । इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।
सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ । सन् २१०० भन्दाअगाडि यो दर फेरि बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।
व्यूरोका अनुसार आगामी केही दशकमा केवल आठ देशहरुमा मात्र जनसंख्या बढ्नेछ । ती देशहरुमा कंगो, इजिप्ट, इथोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिका रहेका छन् । यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्नेछ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ ।
अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ — गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरूलाई कारबाही गर्न निर्देशन दिएको हो ।
मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीहरूलाई दबाब दिइरहेका छन् ।
त्यस्तोमा गृहले प्रशासन कार्यालयहरूलाई अतिरिक्त शुल्क माग्ने कलेजहरूलाई कारबाही गर्न निर्देशन गरेको हो ।
कलेजहरूले अतिरिक्त शुल्क नबुझाए पठनपाठनसमेत गर्न नदिने सम्मको धम्की दिने गरेको विद्यार्थीहरूको गुनासो छ । ‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुन विपरीत अतिरिक्त शुल्क लिएर नलिएको बुझी लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न र सो को प्रतिवेदन मन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ,’ गृहले निर्देशन गरेको छ ।
पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ !!
काठमाडौँ- नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।
प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौँमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो । पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी रु ५० लाख नगद बरामद गरेको हो । बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा