२०८३ जेष्ठ २६ मंगलवार

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधानप्रतिकूल छः सर्वोच्च बार !

काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानप्रतिकूल रहेको ठहर गरेको छ।

बारको आज बसेको आकस्मिक बैठकपछि अध्यक्ष हरिशङ्कर निरौलाले नेपालको संविधान प्रतिकूल राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको बैठकले ठहर गरेको जानकारी दिए।

‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको ठम्याइ छ,’ बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ,’सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानुनबमोजिम व्याख्या हुने नै छ।’

उक्त बारले निवर्तमान राष्ट्रपतिबाट आठ महिना पहिले प्रतिनिधिसभाले पेश गरेको प्रमाणीकरण नभएको उक्त विधेयक वर्तमान राष्ट्रपतिबाट यही जेठ १७ गते प्रमाणीकरण भएकोप्रति बारले ध्यानाकर्षण जनाएको छ।

अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष विष्णु बहादुर केसीलाई नेपाली सेना द्वारा सम्मनित

काठमाडौ , जेष्ठ २२
अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष विष्णु बहादुर केसीलाई नेपाली सेना द्वारा ”प्रधान सेनापति प्रशंसा निशान” द्वारा सम्मान गरिएको छ ।
विश्व वातावरण दिवस-२०२३ को अवसरमा नेपाली सेना द्वारा जङ्गी अड्डामा आयोजित सफा हिमाल अभियान- २०८०( सन् 2023) को समापन समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा द्वारा अध्यक्ष केसीलाई जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा संचालन भएको ‘सफा हिमाल अभियान -२०८० (सन 2023)’ मा प्रत्यक्ष संलग्न भइ पुर्याउनु भएको योगदानको कदर गर्दै
उक्त सम्मान प्रदान गरिएको गाउँ पालिका प्रवक्ता भरत मान गुरुङले बताउनुभयो ।
सफा हिमाल अभियान -२०८० ( सन् 2023 ) अन्तर्गत नेपाली सेनाको अगुवाइमा अन्नपूर्ण हिमाल , ल्होत्से हिमाल र सगरमाथा हिमालमा सरसफाइ तथा फोहोर संकलन गरिएको थियो , उक्त अभियानमा नेपाली सेनाले ती हिमालहरुबाट ३४ हजार टन फोहोर संकलन गरेको थियो ।

आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड !!

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्।

बुधबार (जेठ १७ गते) भारत भ्रमण गएका प्रधानमन्त्री प्रचण्ड विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्य प्रदेशको इन्दौर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन् । दिल्लीबाट अपराह्न ४ : २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।

भारत रेल दुर्घटना : मृत्यु हुनेको संख्या २ सय ३३ पुग्यो !!

काठमाडौँ । भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । यस्तै ९ सय जना जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ ।

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका थिए । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यस्तै गम्भीर घाइते भएकाहरूलाई २ लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ प्रदान गर्ने उनले बताएका छन् ।

दुर्घटनामा घाइते भएका १ सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

 

पोखरा । पोखराको गहना फेवाताल हो । फेवातालको विषयमा विभिन्न विवाद रहेका छन् । पछिल्लो समयमा फेवातालको संरक्षण विषयमा विभिन्न कुरा उठेको छ । बिहिबार मात्र फेवातलमा संरक्षणको लागि उच्च अदातलत पोखराले नयाँ मापदण्ड लागु गर्ने आदेश दिएको छ । सोही आदेश अनुसार फेवाताल माथीको जग्गामा उपभोग गर्न पाउनुपर्ने स्थानियले बताएका छन् ।

राज्यले आवास क्षेत्रमा वर्गिकरण गरेको जग्गाका आवसको लागि काम अघि बढेको छ । हाल आवास क्षेत्रमा परेको जग्गा समथर बनाउने काम भैरहेको छ । पोखरा १८ चंखपुरका स्थानिय गोकर्ण तिमिल्सिनाले १९४० देखी आफुहरुले कर राजस्व तिरेको जानकारी दिए । हालसम्म कर तिरेको जग्गामा कि राज्यले मुवाजा दिनुपर्ने कि आवस क्षेत्रमा पुरेर घर बनाउन दिनुपर्ने बताउछन् । अदालतले संरक्षण गर्ने भनेको ठाउँमा हालसम्म नपुरेको सुनाउदै तिमिल्सिनाले अदालतले संरक्षण गर्ने भन्दा बाहिरको जग्गा पुरेर घर बनाउन पाउनुपर्ने बताए ।

स्थानिय विकास लामिछाने उक्त घटनामा राजनिती भएको बताउछन् । अदालतले भनेको ६५ मिटरको मापदण्डको कार्यान्यन गरेको छैन । हामीले आवास क्षेत्रमा भएको जग्गा पुरेर घर बनाएर बस्न पाएनौं । राज्यले नै जनतालाइ विभेद गरेको लामिछाने बताउछन् ।

“म दश वर्ष अघि बिदेशबाट नेपालमा रिसोर्ट खोल्ने योजनामा आएको हो । विदेशमा भने सिमसार क्षेत्रमा सिमसार रिसोर्ट खोल्ने योजनाले नेपाल आएको हुँ,“उनले भने, “थाइल्याडमा सिमसारमा नि रिसोर्ट खोल्न पाइन्छ यहाँ आवास क्षेत्रमा पनि घर बनाउन पाइदैन ।”

हाम्रोमा राज्यले इको टुरिजम भन्ने नबुझेको र बुझ्न नचाहेको लामिछाने बताउछन् ।

विष्णु प्रसाद तिमिल्सिना होमस्टे बनाउछु भन्दा मलाइ जग्गा समथर बनाउन नपाएको उनी बताउछन् । महानगर संग अनुमती माग्दा अनुमती नदिएको कारण होमस्टै संचालन गर्न नपाएको लामिछानेले बताए । राज्यबाट नै आफुलाई अनागरिकको व्यवहार भएको उनले बताए ।

 

व्यवसायी युवराज खतिवडाले आवास वर्गिकरण गरेको जग्गामा काम गर्दा राज्यले तोकेको कर तिरेर काम गर्दा पनि काम गर्न नपाउने अवस्था भएको बताए । अदालतको आदेश पालना गरेर काम गर्दा पनि राज्यले अन्यायमा पारेको खतिवडाको भनाइ छ । राज्यले आवास क्षेत्रलाई समथर बनाउन पनि नदिएको दुखद रहेको बताए ।

नियम अनुसार व्यापार गरेर काम गर्दा राज्यले अबरोध गर्न नहुने बताए । आवास क्षेत्रमा काम गर्नको लागि उच्च अदातलको आदेशले प्रश्ट पारेको उनले बताए ।

शरणार्थी प्रकरणका सबैको बयान सकियो, आइतबारबाट थुनछेक बहस हुने!!

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तको बयान सकियो । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको सकिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो ।

अब आइतबारबाट थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता गर्ने क्रममा १६ अभियुक्त पक्राउ परिसकेका थिए भने अन्य १४ फरार रहेका थिए । अदालतमा मुद्दा दायर भइसकेपछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परे थिए । हाल १८ अभियुक्त हिरासतमा छन् ।

आइतबारबाट सुरु हुने थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।

थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठ जनाले बहस गर्ने छन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्ने छन् ।

तराईका जिल्लामा लुको खतरा बढ्दै !!

काठमाडौँ । मध्य तराईका जिल्लाहरूमा तापक्रम अत्यधिक बढेकाले लुको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ ।

मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात् लु चल्ने खतरा रहेका महाशाखाले जनाएको छ ।

आज शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना बढी हुने हुँदा यस्तो सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरूलाई विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

पछिल्लो ५ दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लागेकाले अधिकतम तापक्रम बढेकाले बढी गर्मी महसुस भएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । साथै पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको छ ।

एमाले दियो ६ उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मा !!

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष र सचिवहरूको कार्य विभाजन गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरूको संयोजन गर्ने जिम्मा दिएको छ ।

योजना तथा नीति विभागमा ईश्वर पोखरेल, पूर्वाधारमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा बादल, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानव स्रोतमा युवराज ज्ञवाली, सुशासनमा सुवास नेम्वाङ र सङ्गठन तथा प्रशिक्षण विभागको संयोजकमा विष्णु पौडेल तोकिएका छन् ।

यस्तै सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल तोकिएकी छन् । कर्णाली इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् ।

बाग्मती प्रदेश भने केन्द्रीय कार्यालयले संयोजन गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु !!

गण्डकी ब्युरो ।
पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकील आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको बल्ल १६ दिनमात्र भएकोले कतिपय कुराको बारेमा जानकारी लिनेक्रममानै रहेको उनको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, मञ्चका उपाध्यक्ष एवं तालिम संयोजक सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले पत्रकारिता क्षेत्रका विविध विषयमा बोलेका थिए ।
गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुने मञ्चले जनाएको छ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न इच्छुक पत्रकारको समेत सहभागिता रहेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोगमा आयोजना भएको तालिमको पहिलो दिन भलिवल खेलको बारेमा पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालले सहजीकरण गरें । कास्की जिल्ला भलिवल संघका उपाध्यक्ष रहेका लम्साल गण्डकी विश्वविद्यालयमा व्याचलर डिग्री स्पोटर््स मेनेजमेन्ट कोर्ष अध्यनरत रहेका छन् । उनले भलिवल खेलको बारेमा जानकारी दिँदै रिपोटिङका क्रममा अपनाउनुपर्ने सावधानीका बारेमा औल्याए ।
तालिमको प्रमुख प्रशिक्षक रहेका आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्रदले बिहिबार क्रिकेट खेलको रिपोटिङको बारेमा सहजिकरण गर्नेछन् । नेपाल टेलिभिजनको समाचार प्रमुख रहेका सुवेदी नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत हुन् । उनले क्रिकेटका अलावा समग्र खेल पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा अवगत गराउनेछन् ।
दोस्रो दिनमा नै टेनिसका भेट्रान खेलाडी तथा टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले टेनिस खेलसँग सम्बन्धीत विषयमा सहजीकरण गर्नेछन् ।
तालिमको तेस्रो दिन शुक्रबार एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र सुशिल केसीले फुटबल खेलका बारेमा प्रशिक्षण गराउनेछन् । गुरुङ नेपाल फुटबल रेफ्री संघका सदस्य तथा केसी कास्की जिल्ला रेफ्री संघका अध्यक्ष हुन् । तालिममा ७० जनाभन्दा बढी खेल पत्रकार सहभागी रहेको छ ।

पोखरा ट्रेड मल चिप्लेढुङ्गामा रहेको क्लासिक चुलोमा आयोजना गरिएको तालिममा पोखरा महानगरपालिकाले समेत सहयोग रहेको छ ।
त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दू युवा संघको ज्ञापनपत्र !

पोखरा, जेठ १६ । विश्व हिन्दू युवा संघले गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् ।
गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट बिनियोजन सम्बन्धमा आज विश्व हिन्दु युवा संघले ५ बुँदे ज्ञापन पत्र बुझाँएको हो ।
विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वको टोलीले नेपालको सभ्यता, संस्कृति र सनातन धर्म तथा सम्पदा संरक्षण गरी विश्व शान्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्रको रुपमा नेपाललाई अगाडी बढाउन आगामी आर्थिक वर्ष ०८०र०८१ को बजेटमा हिन्दु धर्म सम्बन्धि परियोजनामा बजेट विनियोजन गरिदिनु हुन अनुरोध गरेका छन् ।
शाहले गण्डकी प्रदेशको राजधानी पोखरा नेपालको अन्तराष्ट्रिय स्तरको अब्बल सम्बन्ध भएको शहर भएको र पोखरा धर्मक्षेत्र कोशी गण्डकी सभ्यताको केन्द्रस्थल भएकोले धार्मिक पर्यटन बढाउन पहल गर्न अनुरोध गर्दै पोखरासँग रहेको नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई भरपुर सदुपयोग गरी नेपालको समृद्धि हासिल गर्न नेपालका मौलिक ज्ञानहरुको अध्ययन अध्यापन गराउन पोखरामा एक सुविधा सम्पन्न अत्याधुनिक योगी नरहरिनाथ कर्मयोग गुरुकुल स्थापना गर्नु अति आवश्यक रहेको बताउनुभयो ।
शाहले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलाठूला गौशाला निर्माण गरी नेपालको शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।
विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य विश्व कला यात्री प्राज्ञ नगेन सिंहले मगर गुरुङ्ग भाषा संस्कृति इतिहास अध्ययन अनुसन्धान प्रबद्र्धन र गण्डकी सभ्यता खोज अनुसन्धानको लागि पनि आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउदै धार्मिक पर्यटन प्रबद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

संघले गाँजा अध्ययन अनुसन्धानको लागि अनुमति दिन समेत निवेदन गरेको छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय