कोसी सरकारले बोलायो पहिचान पक्षधरलाई वार्तामा !!
काठमाडौँ । कोसी सरकारले नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नामकरणविरुद्धको आन्दोलनले उग्ररूप लिन थालेपछि सरकारले वार्ताको आह्वान गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले मङ्गलवार एक वक्तव्य जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् । शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई सुदृढ र मजबुत गर्ने सरकारको धारणा रहेको जनाउँदै उनले वार्तामा बोलाउने निर्णय भएको जानकारी दिए ।
पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादका माध्यमबाट निकास खोज्न सरकारले आग्रह समेत गरेको छ ।
कोसी प्रदेश खारेज गरी पुनः नामकरणको पक्षमा रहेको सङ्घर्ष समितिका अध्यक्ष डिकेन्द्र सिंह थेगिमले आफूहरू सकारात्मक वार्ताको पक्षमा रहेको बताएका छन् ।
आन्दोलनको घटकमध्येको एक किरात मोर्चाका महासचिव डिल्ली मिभकले पनि वार्ताको पहल हुनु सकारात्मक भएको बताए ।
प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन चर्किरहेको अवस्थामा सरकारलाई वार्ता गर्न सत्तापक्ष र विपक्षी दलका सांसदहरूले वार्ता गर्न दबाब दिइरहेका थिए ।
आइतबार प्रदेश सभा सचिवालय नजिकै देवकोटा चौकमा झडप हुँदा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए । त्यसक्रममा ८६ जना आन्दोलनकारी पक्राउ परेका थिए ।
फागुन १७ गते प्रदेश सभाबाट कोसी नाम कायम भएसँगै पहिचानवादीले प्रदेशभर आन्दोलन थालेका थिए ।
कामदारबाट ३ लाख ४० हजारसम्म शुल्क असुली !
कामदारबाट ३ लाख ४० हजारसम्म शुल्क असुली
न नियमित काम न त समयमा तलब
‘कम्पनीले ठेक्का पाएको कार्गो आएको दिन मात्रै बन्दरगाह लैजान्छ । त्यो कार्गो आएपछि भने दैनिक १९–२० घण्टा लगातार काम गर्नुपर्छ । घाम–झरी भन्न पाइँदैन ।’
काठमाडौँ — मलेसिया पुगेका जनकपुरका केशवकुमार कर्णको छटपटी दिनहुँ बढिरहेको छ । साहुकारबाट ऋण लिएर मलेसिया गएका उनलाई बढ्दो ब्याजले दिनरात पिरोलिरहन्छ । त्यसैले ऋणबाट चाँडोभन्दा चाँडो मुक्त हुन दिनरात नभनी काम गर्न पनि तयार छन् । तर, मलेसियाको रोजगारदाताले न नियमित काम दिन्छ न समयमा तलब नै । नियमित काम नहुँदा अधिकांश समय उनी सुतेर बिताउँछन् ।
मलेसियामा एउटा कोठामा अलपत्र अवस्थामा राखिएका २० नेपाली कामदार । क्रिएटिभ प्लेसमेन्ट सर्भिसेजमार्फत मलेसियाको क्लाङ पोर्टको काममा पठाइएका उनीहरू कामविहीन छन् ।
‘तीन महिनामा जम्मा तीन पटक काममा पठायो । बाँकी समय भुइँमा सुताएर राखेको छ । कोठाभित्र त्यत्तिकै गुम्सिएर बस्नुपर्छ । घरको ऋण सम्झेर मनमा आगो बल्छ । दिनभर फुर्सद भएपछि मन बेचैन छ,’ कर्णले भने । उनको रोजगारदाता सुन लजोस्टिक सर्भिसेस हो । सुनले मलेसियाको प्रमुख बन्दरगाह क्लाङ पोर्टको ठेक्का पाएको छ । सयभन्दा बढी देशमा रबर र टिन पठाउने क्लाङ पोर्ट पेनाङ र सिंगापुरको बीचमा पर्छ । यो बन्दरगाह राजधानी क्वालालम्पुरबाट झन्डै ३७ किमिको दूरीमा छ, जसले प्रत्येक घण्टा आउनेजाने कार्गोको व्यवस्थापन गर्छ ।
मलेसिया जान शून्य लागतको व्यवस्था भए पनि कर्णले अन्तर्राष्ट्रिय व्यापारिक नाकामा कडा परिश्रम गर्न जान नै तीन लाख ४० हजार रुपैयाँ बुझाए । रोजगारदाताले न्यूनतम मासिक तलब १५ सय रिंगिट दिने तय भएको थियो । त्यही तलब नियमित दिएको खण्डमा पनि मलेसिया जाँदा तिरेको शुल्क उठाउन उनले कम्तीमा एक वर्ष कडा मिहिनेत गर्नुपर्छ । तर, गएको १३ मार्चमा मलेसिया पुगेका कर्णले तीन महिनामा कम्पनीबाट खानाका लागि १२ सय रिंगिट मात्रै हात पारेका छन् ।
‘यहाँ खाना खान मात्रै महिनाको ५ सय रिंगिट लाग्दोरहेछ । १५ सय हात परेर घरमा एक हजार रिंगिट मात्रै पठाउँदा पनि आएको लगानी उठाउन एक वर्ष लाग्दोरहेछ,’ उनले भने, ‘यो त मलेसिया सरकारलाई वर्ष दिनसम्म श्रमदान दिन आएजस्तै रहेछ ।’ कर्णसँगै थप २० जना नेपाली छन् । उनीहरू सबैलाई क्रियटिभ प्लेसमेन्ट सर्भिसेजले पठाएको हो । ‘हामीलाई क्रियटिभले पठाए पनि पैसाको कारोबार भने अलकसर म्यानपावरका रमेश खड्कासँग भएको थियो । हाम्रो एजेन्ट अलकसर म्यानपावर हो,’ उनले भने, ‘कम्पनीले ठेक्का पाएको कार्गो आएको दिन मात्रै बन्दरगाह लैजान्छ । कार्गो आएपछि भने दैनिक १९–२० घण्टा लगातार काम गर्नुपर्छ । घाम–झरी भन्न पाइँदैन ।’
उनीहरूभन्दा अगाडि डिसेम्बर ३० मा पुगेका दाङका गोपाल खत्रीको टोली कर्णहरूभन्दा माथिल्लो तलामा बस्छन् । यो टोलीले पनि नियमित काम पाएको छैन । ‘२०–२० जना गरी कम्पनीमा पटक–पटक कामदारहरू आएका थिए । त्यसमध्ये हामी ३४ जनालाई एउटै भवनमा राखिएको छ,’ खत्रीले भने, ‘महिनामा ८–१० दिन मात्र काम छ । हाम्रो टोलीलाई तीन महिनाको न्यूनतम तलब भने दिएको छ । तर, कर्णहरूको टोलीलाई छैन ।’ खत्रीले मलेसिया जाँदा तीन लाख १० हजार रुपैया शुल्क तिर्नुपरेको बताए । उनले आफूहरू ३५ सय रिंगिट तलब पाउने सर्तमा आएको बताए । ‘यहाँ न्यूनतम तलब पाउनका लागि महिनाको दुई सय ३४ घण्टा काम गरेमा १५ सय दिन्छु भनिएको छ । जब कि महिनामा २६ दिन (दुई सय आठ) घण्टा नर्मल ड्युटी गर्दा नै न्यूनतम तलब आउने हो,’ उनले भने, ‘पोर्टमा काम गर्न निकै कठिन रहेछ । हामीलाई ५–६ महिनासम्म तालिम भनिएको छ । यत्रो महिना पनि तालिम हुन्छ र ?’
तीन लाख ४८ हजार रुपैयाँ शुल्क तिरेर मलेसिया पुगेका सप्तरीका जितेन्द्रकुमार यादवले चार वर्षको छोरो बित्दा पनि स्वदेश फिर्न नपाएको बताए । ‘सुन कम्पनी कहाँ छ, थाहा छैन । हामीलाई तलब दिँदा पनि कम्पनीको छाप हानेर रसिद दिइँदैन,’ उनले भने, ‘अरूको १५ सय आउँदा मलाई ७ सय ५० रिंगेट मात्रै दिइयो ।’ यादवका अनुसार पोर्टमा काम गर्दा बिमासमेत गरिएको छैन । ‘कार्गोको काम निकै जोखिमपूर्ण छ । बिमा छैन । बिरामी पर्दा कामदार आफैंले औषधोपचार गर्नुपर्छ । महिनामा ५–६ पटक मात्र काम गर्ने पालो आउँछ । पालो आए पनि कति घण्टा काम गर्ने भनेर तोकिँदैन,’ उनले भने, ‘ड्युटीमा लगाउने ड्रेस, जुत्ता पनि हाम्रो तलबबाट काट्छ । ड्युटीमा जाँदा र आउँदा लाग्ने यातायात शुल्क पनि हाम्रै खल्तीबाट दिनुपर्छ ।’
क्रिएटिभ प्लेसमेन्टका अनुसार क्लाङ पोर्टका लागि सय जना कामदारहरू पठाइएको छ । क्रिएटिभका सञ्चालक सञ्जीव निरौलाले शून्य लागतमा नै कामदार पठाएको दाबी गरे । ‘हामीले कुनै कामदारसँग पनि पैसा उठाएको छैन । उनीहरूले कसलाई तिरेको हो, हामीलाई थाहा छैन,’ उनको दाबी छ । उनका अनुसार तलबसम्बन्धी विवाद पनि छैन । ‘मलेसिया गएको पहिलो महिनाको तलब कसैले पाउँदैन । यो अभ्यास नै छ । त्यसपछि भने प्रत्येक महिना तलब दिन्छ । २० जनालाई १२ सय रिंगिट पेस्की दिइसकेको छ । दुई महिनाको तीन हजार जुनको पहिलो साता पाउनेछन्,’ उनले भने, ‘अरू ठाउँमा जस्तो पोर्टमा नियमित काम हुने होइन । महिनामा १५ दिन जति मात्रै हुन्छ । यो कुरा हामीले जाने बेला नै कामदारलाई प्रस्ट रूपमा भनेका थियौं । १५ दिन काम भए पनि तलब भने पूरा नै पाइन्छ ।’ उनले होस्टलको समस्या भने केही दिनमा नै समाधान हुने बताए । ‘कामदारहरू राखिएकै नजिक अर्को होस्टल बन्दै छ । पानी र विद्युत्बाट अनुमति पाउनेबित्तिकै समाधान हुन्छ,’ उनले भने ।
पोर्ट क्लाङ प्राधिकरणको नीतिअनुसार भने कामदारमाथि कुनै पनि शोषण मान्य छैन । प्राधिकरणले लागू गरेको नीतिमा सेवाप्रदायक संस्था, कन्स्टक्टर, भेन्डर, सप्लायर्स सबैले मलेसियाको कानुन र नियम मान्नुपर्नेछ । तर, चर्को शुल्क उठाई कामदार लैजाने र नियमित काम नदिने कम्पनीमाथि प्राधिकरणले कारबाही गरेको भने छैन । यसबारे प्राधिकरणका महाप्रबन्धक के सवरमानियमसँग सोध्दा यस विषयमा प्राधिकरणबाट अनुसन्धान हुने प्रतिबद्धता जनाए ।
‘बल्लबल्ल काम गर्न गइन्छ । ड्युटी सकिएपछि तीन–चार घण्टा त गाडीलाई नै पर्खनुपर्छ । फेरि हामीले गरेको वास्तविक समय पनि कार्डमा चढाइँदैन । हाम्रो समस्या कम्पनीसमक्ष पुग्दै नपुग्ने रहेछ । यहाँ यस्तो कठिन कामको न्यूनतम तलब नै १८ सय रिंगिट रहेछ । हामीलाई काममा लगाउने हो भने त्यही दिनुपर्छ । होइन भने कि फर्काइदिनुपर्यो कि अर्को कम्पनीमा परिवर्तन गरिदिनुपर्यो,’ खत्रीले भने । समस्याका बारेमा नेपाली दूतावासलाई समेत जानकारी गराइसकेको उनले बताए ।
प्रचण्डको भारत भ्रमणमा संशोधित पारवहन सन्धिमा ‘हस्ताक्षर हुने’, नेपाललाई पुग्नसक्ने फाइदा के?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यसै साता हुने भारत भ्रमणका क्रममा नेपालका लागि “महत्त्वपूर्ण रहँदै आएको” दुई दशकभन्दा पुरानो एउटा सन्धिको पुनरवलोकन हुने तय भएको नेपाली अधिकारीहरूले बताएका छन्।
सन् १९९९ को नेपाल-भारत पारवहन सन्धिमा केही “थप सुविधा”सहित पुनरवलोकन हुन लागेको नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले पनि पुष्टि गरेका छन्।
प्रधानमन्त्रीको भ्रमणका बेला दिल्लीमा मन्त्रीस्तरमा उक्त सन्धिमा हस्ताक्षर गर्ने “तय भएको” अधिकारीहरूको भनाइ छ।
त्यसले आयात तथा निर्यातका लागि “लागत र समय कम हुने” जानकारहरू बताउँछन्।
उक्त सन्धि पुनरवलोकन भएपछि नेपालका लागि पारवहनका निम्ति थप केही मार्गहरू पनि खुल्ने अधिकारीहरूले जानकारी दिए।
उक्त सन्धि लागु भएपछि नेपालले पहिलो पटक भारतको आन्तरिक जलमार्गमा पारवहन पहुँच पाउने बताइएको छ।
मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित !!
काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।
आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ । पुनः भोलि २ बजे मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले बताए ।
नेपालगन्जमा रोल्पाको काफल : पहाडको काफल खान पाउँदा ग्राहकहरु दंग ! !
नेपालगन्ज । रोल्पाका खगेन्द्र बुढा मगरलाई यतिबेला नेपालगन्जमा काफल बेच्न भ्याइनभ्याइ छ । ४१ वर्षीय खगेन्द्रले डालोमा काफल रखोर नेपालगन्जको चर्को घाममा चोक चोक चहार्छन् । मानाको १ सय ५० रुपैयाँका दरले काफल दिन्छन् । बिहानको १० बजेबाट नेपालगन्जका विभिन्न चोकमा काफल बेच्दै गरेका भेटिने खगेन्द्रलाई यहाँको गर्मी र तातो हावाले केही फरक पार्दैन ।
एक डालो काफल ल्याएर नेपालन्ज आएका खगेन्द्रको काफल एकैछिनमै बिक्री भएपछि उनी एक हप्तादेखि नेपालगन्जमै काफल बेचिरहेका छन् । ‘सुरुमा विचार गर्न एक डालो काफल ल्याएर बेच्न थालेको एकै छिनमा सकियो,’ उनले भने, ‘एक डालो त एकैछिनमा सकियो । त्यसपछि मैले परिवारलाई उतैबाट काफल पठाइदिन भन्छु । उतैबाट पठाउँछन् र नेपालगन्जको गाडीमा पठाइदिन्छन् । यहाँसम्म आइपुग्दा दिउँसोको त्यस्तै ११ बजिसकेको हुन्छ । मेरो हातमा काफलको डालो पर्ने बित्तिकै बेच्न सुरु गर्छु ।’
यो मौसममा पहाडमा प्रशस्तै फल्ने काफललाई रोल्पाका खगेन्द्र बुढा मगर र उनका साथी हरिनारायण चौधरीले एक हप्तादेखि नेपालगन्जको धम्बोझी चोक र सेतुविक चोकमा काफल बेच्दै आइरहेका छन् । रोल्पाबाट दाङ झरेर नेपालगन्जसम्म आइपुगेका उनीहरुले दैनिक ५ देखि ८ डालासम्म काफल बिक्री भएको बताउँछन् । प्रतिडाला ४ देखि ५ हजार रुपैयाँमा खरिद गरेको काफललाई ७ देखि ८ हजारसम्मको फाइदामा बिक्री गर्ने गरेको चौधरीले बताए । यातायातदेखि नेपालगन्जको बसाइ, खानालगायत अन्य सबै खर्च कटाएर दिनको १५ सयदेखि २ हजारसम्म फाइदा हुने गरेको उनले सुनाए ।
हरिनारायणले अहिलेसम्म १० डालाको व्यापार गरिसकेका छन् । ७० देखि ७५ प्रतिशतले काफल खान मन पराएको उनले बताए । दाङमा काफल बेच्नेहरु प्रशस्तै भेटिने हुँदा व्यापारको दृष्टिकोण्ले प्रतिस्पर्धा हुने भएकाले नेपलागन्जसम्म काफल बेच्न उनीहरु यता आइपुगेका हुन् ।
दाङ घोराहीका हरिलाल चौधरी अचेल नेपालगन्जका चोक, चौराहामा व्यस्त छन् । पहाडी क्षेत्रको लोकप्रिय फल ‘काफल’ बिक्री गर्न उनलाई भ्याइनभ्याइ भइरहेको छ ।
वैशाख १० गतेदेखि नियमित रुपमा काफल बेच्ने काम गरिरहेको छु,’ उनले भने, ‘दैनिक दुईदेखि तीन डालो काफल नेपालगन्जमा बिक्री भइरहेको छ ।’ पहाडमा पाइने भएकाले तराईका बासिन्दाले निकै महत्त्वका साथ काफल किन्ने गरेको चौधरीले बताए । पहाडी क्षेत्रमा विशेषगरी चैतदेखि वैशाखको अन्तिमसम्म काफल पाइन्छ ।
चौधरी काफल बिक्री गर्न नेपालगन्जको धम्बोझी चोक, पुष्पलाल चोक, बीपी चोक, त्रिभुवन चोक, त्रिवेणीमोड लगायत स्थानमा दैनिक रुपमा बस्ने गरेका छन् । ‘जहाँ मानिसहरुको बढी आवतजावत हुन्छ, त्यही गएर एकछिन बसेपछि बिक्री गर्न चिन्ता हुँदैन,’ उनले थपे ।
ग्राहकहरुलाई उनले ५० रुपैयाँ, १ सय रुपैयाँ र डेढ सय रुपैयाँका दरले बिक्री गर्छन् । रोल्पा, सल्यानमा रहेका साथीहरुले त्यहाँ खरिद गरेर बसमार्फत नेपालगन्जसम्म पठाउने र आफू यहाँ बसेर बिक्री गर्ने गरेको चौधरीले सुनाए । पहाडको काफल नेपालगन्जमा खान पाउँदा ग्राहकहरु पनि दंग छन् ।
‘काफल खान नपाएको धेरै वर्ष भएको थियो, पहाडतिर जान पाइएको थिएन, नेपालगन्जमै बसेर ताजा काफल खान पाइयो,’ धम्बोजी चोकमा काफल किन्दै गरेका आनन्द विकले भने, ‘स्वाद मात्र होइन्, पेट सफा गर्न पनि काफल फाइदाजनक हुन्छ ।’ कान्तिपुरवाट
विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी !!
काठमाडौँ । विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।
आज बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
उनले भने, निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा रोक लगाइएको छ ।
‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सूचनामा भनिएको छ ।
पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
मानव सेवा आश्रमलाई वडा नम्बर ७ ले वार्षिक पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र सामाग्री दिने !
- पोखरा, १२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ७ ले पदस्थापन दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रममा पचास हजार रुपैयाँ बराबरको खाद्यान्न दिएर पदस्थापनको पहिलो बर्ष मनाएको हो ।
वडा अध्यक्ष राम मोहन आचार्यले राज्यका सबै नागरिकको अभिभावक सरकार भएको र तिनै तहको सरकारले आफ्नो भुमिका निर्वाह गर्न तर्फ ध्यानाकर्षण गराउनु भयो । यो सहयोग वडाले निरन्तर गर्ने बताउँदै आचार्यले भन्नुभयो , “मानव सेवा आश्रमको स्थापनले धेरै मानिसको उद्घार भएको छ । यो पाँच बर्षको कार्यकालमा वार्षिक रुपमा हरेक बर्ष पदस्थापन दिवसका दिन हामी पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र सामाग्री सहयोग गर्ने प्रतिबद्धता गर्दछौँ।” पछिल्लो समय पितृ कार्य, जन्म दिन जस्ता कार्यक्रम मानव सेवा आश्रममा गर्नेको संख्या बढेको भन्दै मानवीयता अमर रहेको बताउनु भयो । यस्तै आवश्यकता अनुसार आश्रमलाई जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहने पनि बताउनुभयो ।
वडा सचिव राजेन्द्र
जुनसुकै धर्मले मानव सेवालाई ठूलो धर्म मान्ने भन्दै एकले अर्कोलाई सहयोग गरे कोहि पनि आफन्त बिहिन नहुने बताउनु भयो । सडक बालबालिका, बेवारिसे बनी हिडेका र मानसिक सन्तुलन गुमेका नागरिकको जिम्मेवारी मानव सेवा आश्रमले लिएकोमा राज्यको ठूलो जिम्मेवारी कम गराएको बताउनु भयो ।
७ वटै प्रदेशको १९ जिल्लामा २३ सेवा केन्द्र रहेको मानव सेवा आश्रम पोखरामा हेमजा र छोरेपाटन गरि दुई ठाउँमा सेवा केन्द्र सञ्चालनमा रहेका छन । आश्रमका कास्की संयोजक सदिस पुनका अनुसार हेमजा शाखामा १०५ जसमा ९१ जना मानसिक रोगी र १४ जना अन्य आशृत छन । यस्तै ७० जना आशृत रहेको छोरेपाटन सेवा केन्द्रमा ४१ जना मानसिक र २९ जना अन्य किसिमका मानिस आशृत छन ।
पोखरा महानगर पालिकाले गत बर्ष बैशाख ३१ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई जेठ १२ गते सपथ गराइ पदस्थापन गरेको थियो ।
पदस्थापन दिवसको अवसर पारेर वडाले कार्यलयमा राष्ट्रिय झण्डा फहराएको छ । यस अघि झण्डा स्तम्भ नभएकोले निर्माण गरि पदस्थापनका दिनमै राष्ट्रको पहिचान राष्ट्रिय झण्डा वडा कार्यालय फहराउन लागेको वडाले जनाएको छ ।
यस्तै अध्यक्ष राम मोहन आचार्यले वडामा आउने सेवाग्राहीलाई फोटोकपी र प्रीन्टको सेवा प्रदान गर्न ब्यक्तिगत रूपमा प्रीन्ट मेसिन सौजन्य गर्नु भएको छ । प्रीन्ट तथा फोटोकपी सेवा नजिक नभएको र सेवा ग्राहीको सेवामा असुबिधा नहोस भनी ब्यक्तिगत रुपमा प्रीन्ट मेशिन उपलब्ध गराएको अध्यक्ष आचार्यले बताउनु भयो । साथै प्रीन्ट तथा फोटोकपी निशुल्क गरिने पनि जान्ककारी दिनु भयो ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीको बक्तृत्वकला छनोट चरण सम्पन्न !!
राष्ट्रिय युवा संघ नेपाल कास्कीको बक्तृत्वकला छनोट चरण सम्पन्न
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि कास्कीले स्थापना दिवसको उपलक्ष्यमा जेठ महिनाभरीनै स्थापना मनाउने क्रममा आज युवासँग बिद्यार्थी भन्ने मुल नाराका साथ स्थानीय पालिकाहरुमा बक्तृत्वकला छनोट प्रतियोगिता सम्पन्न गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालको जेठ १ गते स्थापना दिवस पारेर युवासंघ कास्कीले युवासंघका पूर्व केन्द्रिय अध्यक्ष कमरेड गोकर्ण बिष्टको प्रमुख आतिथ्यतामा सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको थियो भने यही जेठ ७ गते का दिन गण्डकी प्रदेश सभाका माननीय कमरेड गणेश गुरुङको प्रमुख आतिथ्यतामा मानव सेवा आश्रममा १०५ जना बृद्धहरुलाई खाना तथा खाजा खुवाएर तपाइहरुको साथमा समग्र कास्कीको युवासंघ छोराछोरीको भुमिकामा छौ है भन्ने सन्देश दिएको थियो ।
मासिक कार्यक्रम अन्तर्गत युवासंग बिद्यार्थी भन्ने मुल नाराका साथ आज ३ वटा स्थानीय पालिकामा बृहत बक्तृत्वकला प्रतियोगिता गरेको छ ।जसमध्ये साबिक पोखरा महानगरपालिकामा अमरसिंह मा.वि.की निलिमा रेग्मी (प्रथम),श्रीकृष्ण मा.वि. की स्नेहा त्रिपाठी (द्धितिय),श्रीराम आ.वि.का कुशल बि.क.(तृतिय) हुनुभएको थियो ।१३ जना सहभागी उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभाका माननीय भिमबहादुर कार्की , बिषेश अतिथि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, युवासंघ कास्कीका उपाध्यक्ष शंकर पौडेल तथा उक्त कार्यक्रमको जिल्लको फोकल पर्सन लक्ष्मी अधिकारी सहभागी हुनुहुन्थ्यो भने सो कार्यक्रम युवासंघ महानगरका सचिव शुसिल जि.सी.ले गर्नुभएको थियो ।

माछापुच्छे« गाउँपालिकामा महेन्द्र मा.वि.की बिद्या बुढाथोकी (प्रथम) ,माछापुच्छ«े मा.वि.का सन्तोष लम्साल (द्धितिय) र निष्पक्ष मा.वि.का अविरल गौतम (तृतीय) हुनुभएको थियो ।१२ जना सहभागी उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व गण्डकी प्रदेशमा माननीय डा. पुष्पा के.सी. बिषेश अतिथि जगन्नाथ अधिकारी ,कास्की जिल्ला कमिटिका अध्यक्ष पान बहादुर जि.सी., कास्की जिल्ला कमिटिका फोकल पर्सन उमेश बिसुन्के लगायत पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिती थियो ।
अन्नपूर्ण गाउँपालिकामा माछापुच्छे« मा.वि.की मोनिका देवकोटा (प्रथम),सृजना मा.वि.का सुबोध सुवेदी (द्धितीय), उमा मा.वि.काी अस्मिता वि.क. (तृतीय) हुनुभएको थियो । १५ जना सहभागी उक्त कार्यक्रमको प्रमुख अतिथि ने.क.पा. एमालेका पोलिटव्युरो सदस्य जगत बहादुर बिस्वकर्मा ,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,प्रबक्ता, ने.क.पा.एमाले गण्डकी प्रदेश कमिटिका नेताहरु मोहन रेग्मी, माधव बास्तोला,युवाका जिल्ला अध्यक्ष पान बहादुर जि.सी.,जिल्लाका सचिव नमराज के.सी. स्थानीय पालिका कमिटिका अध्यक्ष तथा पदाधिकारीहरुको भव्य उपस्थिती थियो ।
युवा संघ कास्कीले बाँकी रहेका पालिकाहरुमा केही दिनमा कार्यक्रम गरी ६ समुहका उत्कृष्ट प्रतियोगी हरुलाई जिल्लामा ल्याएर फेरी प्रतियोगिता गराएर सवोत्कृष्ट घोषणा गर्दै पुरस्कार बितरण तथा सम्मान कार्यक्रम गरी युवासँग बिद्यार्थी कार्यक्रमको समापन गर्ने कुरा युवा संघ कास्की जिल्ला कमिटिका सचिव नमराज के.सी.ले जानकारी दिनुभयो ।
राष्ट्रपतिद्वारा रेशमलाई आममाफी दिने निवेदन फिर्ता !
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले रेशम चौधरीलाई आम माफी दिनेगरी पठाएको निवेदन फिर्ता पठाएका छन् ।
सरकारका तर्फबाट गृह मन्त्रालयले टिकापुर घटनामा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राजनीतिक मुद्दा भनेर गणतन्त्र दिवसका अवसरमा आममाफी दिनेगरी राष्ट्रपतिलाई पत्राचार गरेको थियो । उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति पौडेलले प्रचलित कानुन र स्थापित सिद्धान्त विरुद्ध नजान सुझाव दिएका छन् ।
“प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएका फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुनबमोजिम गर्नु,” भनिएको छ ।
सरकारले सर्वोच्च अदालतबाट अन्तिम फैसला हुँदा जन्म कैद सदर भएलगत्तै रेशमलाई आम माफी दिने प्रस्तावसहितको पत्र राष्ट्रपति कार्यालय पठाएको थियो । उक्त पत्र राष्ट्रपतिले सुझावसहित फिर्ता पठाएका हुन् ।
आफूविरुद्ध लगाइएको आरोप पुष्टि नगरे संसद् अवरुद्ध गर्ने ओलीको चेतावनी !!
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध हुनैपर्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगै बोल्दै उनले आफूविरुद्ध भ्रष्टाचारको आरोप लगाएको भन्दै पुष्टि गर्न चेतावनी दिए ।
जेठ १० गतेको संसद्मा नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी सुनको हुनुपर्नेमा पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । ओलीले आफूले भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै आपत्ति जनाए ।
“अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एकजना सांसदले बोले,” ओलीले भने । ओलीले त्यसमा संसद् अवरुद्ध भएको बताउँदै अवरोध हुनैपर्ने बताए ।
“संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकवास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन ।आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,” उनले भने । कि पुष्टि हुनुपर्छ । पुष्टि हुने सम्भावना नै नभएको उनले दाबी गरे । उनले आफू भ्रष्टाचारविरुद्ध आन्दोलन चलाइरहेको भन्दै देशप्रतिको वितृष्णा जगाउन देशद्रोही काम भएको आरोप लगाए ।
“जसले जिन्दगीभरी भ्रष्टाचार विरोधी आन्दोलन चलाएर आएको छु, त्यही मान्छेकाविरुद्ध । यो त इमानका शत्रुहरूले गर्ने काम हो,” ओलीले भने, “देशद्रोही तत्त्वले यो देशमा चाहिँ कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने देशद्रोही काम हो ।”
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा

