टि २० क्रिकेटमा कास्की ‘बी’को जित !
”टि २० क्रिकेटमा कास्की ‘बी’को जित”
पोखरा ।
कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले विजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा पनि कास्की ‘बी’ विजयी भएको हो ।
आइतबार भएको दोस्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १ सय २९ रन बनाएको थियो । १ सय ३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव बिरेन पुनले जानकारी दिए ।
आइतबारको खेलमा कास्की ‘बी’ की कप्तान सृष्टि जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिइन् भने बलिङतर्फ पनि १ विकेट लिईन् । आइतबारको खेलमा पनि अलराउन्ड प्रदर्शन गरेकी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताए ।
यसअघि शनिबार भएको पहिलो खेलमा पनि कास्की ‘बी’ विजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले जानकारी दिए ।
२८ बलमा ४० रन बनाएकी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित भएकी पुनले बताए । पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गरेका थिए ।
उनले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर २ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले जानकारी दिए । प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताए ।
सीता एण्ड सन्सले श्री श्री कृष्ण मावि पोखरा ०७ मा बृहत् चित्रकला आयोजना गर्ने
पोखरा ०८ । पोखराको न्युरोडमा रहेको सिता एन्ड सन्सले पोखरामा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

पोखरामा एउटा आर्ट ग्यालरीको स्थापना गर्ने उद्देश्यका साथमा यो प्रतियोगिता आयोजना गरिएको हो ।
“पोखराजस्तो सुन्दर सहरमा एउटा पनि आर्ट ग्यालरी छैन, भएको पनि हटाइयो । यहाँ एउटा ग्यालरीको ठूलो खाँचो छ । त्यसैका लागि मैले सानो पहलसुरु गरेको छु,” सिता एन्ड सन्सका प्रोप्राइटर रविश्वर आचार्यले भने ।

उनले कक्षा ७ देखि १० सम्म एउटा तह र अर्को ११ र १२ कक्षाका विद्यार्थी सहभागी हुन सक्ने गरि तह निर्धारण गरिएको बताए ।
“यो स्कुल तहको प्रतियोगिता हो । अर्कोपल्ट कलाकारलाई समेटेर प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौँ, त्यसपछि ओपन प्रतियोगिता गर्नेतयारीमा छौँ,” उनले भने ।

पोखरामा आर्ट ग्यालरी स्थापना गर्नकै लागि यस्ता कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
“कक्षा ७ का विद्यार्थी र १२ कक्षाको परीक्षा दिएका विद्यार्थीलाई प्रतिष्पर्धामा सहभागी गराउँदा समस्या हुन्छ कि भनेर हामीले छुट्टाछुट्टै तह बनाएका हौं,” आचार्यले बिश्व पाटि सँग भने ।
कास्की जिल्ला स्तरीय अन्तर मावि चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएकाले कास्कीका ७ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीले भाग लिनसक्नेछन् ।

प्रतियोगिता वैशाख २२ गते शुक्रबार हुनेछ ।

गण्डकीका नवनियुक्त मुख्यमनत्री पाण्डेले बिहिबार विश्वासको मत लिने तयारी !
-
मदनमणी तिमिल्सीना
पोखरा , १७ बैशाख ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैशाख २१ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री पाण्डेले बैशाख २१ गते दिउँसो २ बजे आफूले विश्वासको मत लिने बताए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
१४ वैशाखमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गर्नुका साथै २ जना मन्त्री नियुक्त गरेका छन् । पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सु-शान्त क्लव बिरौटाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रमा ५१ युनिट रगत संकलन !!
सु-शान्त क्लव बिरौटाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रमा ५१ युनिट रगत संकलन भएको छ ।

क्लवका अध्यक्ष श्री टिकाराम पौडेल को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पो . मा .न पा -१७ का वडा सदस्य श्री बिक्रम गुरुङ विशेष अतिथि सु -शान्त टोल सुधार समितिका अध्यक्ष श्री मीन बहादुर रानाभाट र सु-शान्त आमा समुहका अध्यक्ष श्री लिला रेग्मी लगायत सु-शान्त क्लवका सल्लाहकार , छिमेकि टोल सुधार समितिका आमा समूह , क्लवका अध्यक्ष तथा प्रतिनिधि लगायतको सक्रीय सहयोगमा सम्पन्न कार्यक्रमा प्रदेश रेडक्रस सोसाइटीले प्राबिधिक सहयोगीको भुमिका निर्वाहा गरेको थियो। कार्यक्रम संयोजक सुजन तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन क्लब का उपाध्यक्ष ईन्द्र दाहालले गर्नुभएको क्लब का सल्लाहकार महेश पौडेलले जानकारी गराउनु भयो ।
अष्ट्रेलिया गएकी गायिका समीक्षा डेढ महिना पछी नेपाल फर्किईन ।
अष्ट्रेलिया गएकी गायिका समीक्षा डेढ महिना पछी नेपाल फर्किईन ।
काठमाडौं : करिब डेढ महिना अघि अष्ट्रेलिया गएकी गायिका समीक्षा अधिकारी नेपाल फर्किएकी छिन्। दिदी शर्मिला अधिकारीसँग अष्ट्रेलिया उडेकी समीक्षा झन्डै डेढ महिना बढी अष्ट्रेलियामा बसिन्।
अन्ततः समीक्षा बिहीबार बिहान नेपाल फर्किएकी हुन्। बुधबार नै आउने भनिए पनि फ्लाइटका कारण बिहीबार बिहान काठमाडौं आइपुगेको समिक्षाले बताइन्। बिहीबार दिउँसो आफ्नो टिकटक लाइभ मार्फत आफु नेपाल आइसकेको जानकारी दिएकी हुन्।
‘आफ्नो देश छोडेर कहाँ जान सकिन्छ र’, समिक्षाले टिकटक लाइभमा भनिन् , ‘मैले पहिल्यै भनेकी थिएँ कि म कार्यक्रमको लागि मात्रै अष्ट्रेलिया गएकी हुँ भनेर। तर मिडियाले मलाई उतै बस्ने गरि गएको भनेर लेखे। त्यसो होइन, म कार्यक्रमको लागि गएको थिएँ। त्यहाँको ठाउँहरु रमाइलो लागेकोले अलिक दिन घुमघाम गरेकी हुँ। आफ्नो देश कहाँ छोड्न सकिन्छ र।’
त्यसो त, समिक्षाले बिहीबार नै एक स्टाटस लेख्दै आफू नेपाल आइपुगेको संकेत पनि गरेकी छिन् । स्टाटसमा उनले लेखेकी छिन् , ‘आफ्नो देशको यात्रा भनेको यात्रा मात्र होइन, यो आफ्नो आत्मालाई पोषण गर्ने र आफ्नो सम्पदासँग पुन: जडान गर्ने तरिका हो।’
नेपाल फर्किएपछि उनका शुभचिन्तकहरु खुशी भएका छन्। अब छिट्टै नयाँ गीतहरू गाउने तयारी उनको छ। यद्यपि कक्षा १२ को परीक्षा नजिकै आइसकेकोले परिक्षाको तयारीमा जुट्ने उनले बताइन्।
जे होस्, कतै विदेश पलायन भएकी त होइनन् ? भन्ने लख काटिएको समयमा उनी नेपाल फर्केपछि उक्त लख झुठो सावित भएको छ। उसो त, उनी अष्ट्रेलिया उड्दा धेरैले पलायन भएको अनुमान गरेका थिए।
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् ।
सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्वलडाकुलाई सरकारले जनही दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालु आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय नभएको बताए ।
‘अयोग्य लडाकुका विषय अदालतमा पुग्यो । बजेटमा पनि रहेछ । म अर्थमन्त्री भएपछि कुनै निर्णय भएको छैन । यो विषय अगाडि बढाउन मन्त्रिपरिषद्ले पास गरेको भनिएको कार्यविधिबारे मलाई जानकारी छैन’, अर्थमन्त्री महतले भने, ‘बजेटको व्यवस्थाअनुसार कार्यविधि गृह मन्त्रालयले अघि बढाएको हुनुपर्छ । म आइसकेपछि कुनै निर्णयमा म संलग्न छैन । मलाई योबारे जानकारी नै छैन ।’
सरकारबाट अनावश्यक रूपमा राज्यको सम्पत्ति दुरुपयोग हुने विषयमा कुनै शङ्का नगर्न पनि अर्थमन्त्री महतले आग्रह गरे । ‘अयोग्य लडाकुका नाममा राज्यकोष दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार गर्ने, ढुकुटी सक्न लागे कि भन्ने खालका आशङ्का नगर्न म आग्रह गर्दछु’, अर्थमन्त्री महतले भने ।
उनले व्यक्तिभन्दा माथि देश रहेको उल्लेख गर्दै आफ्नो दल नेपाली कांग्रेसले पनि यो विषयमा चासो लिइरहेको बताए । अयोग्य लडाकुका विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्गो लगाइनुपर्ने उनको भनाइ छ । अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले अर्थमन्त्री महतलाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ
खोटाङमा कसरी भयो हलेसी महादेव गुफाको उत्पत्ति ? फरक पहिचान र बेग्लै छ महिमा ।
खोटाङमा कसरी भयो हलेसी महादेव गुफाको उत्पत्ति ? फरक पहिचान र बेग्लै छ महिमा ।
खोटाङ। हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तिहरू रहेका छन् । इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ ।
स्थानियवासीका भनाइअनुसार पहिले सत्य युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाईने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानियवासी किराँत जातका मान्छेहरूले नै सिकार गर्ने र जिव जन्तुहरू मार्ने गर्दथे । त्यो बेलामा हलेसी गुफा लहराले जेलिएर रहेको अवस्थामा भएकाले यस गुफाका बारेमा कसैलाई थाह थिएन ।
एक दिन एकजना किराँती सिकारीको बाण प्रहारबाट घाइते भएको मृग लडेर हलेसी महादेव गुफाभित्र खसेछ । त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तिको जस्तो ज्योती देखेर सिकारीको आँखा तिरमिराएर सिकारी बेहोस भएछ । उक्त बेहोस भएको सिकारीलाई भगवान शङ्करले दर्शन दिए पछि यस गुफाभित्र अन्य देवि देवताको पनि उत्तपत्ती भएछ । यो देखेर त्यो सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ रहेको छ ।
पुरानो धार्मिक मान्यता अनुसार यी दूवै गुफाहरू महादेवले भस्मासुर राक्षस बाट बच्नको लागि खनेका हुन् भन्ने किमवदन्ति छ। भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले ‘जसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोस’ भन्ने वरदान मागेछन् । माहादेवले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सद्दे छ कि यो हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् ।
महादेव डरले त्राही त्राही माम भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । महादेव हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर सम्म अलमल्याई दिएपछि । त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको प्रशंग आउँदछ ।
हलेसी महादेव पतालको गुफामा लुकेपछि विष्णुले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएछन् । भष्म भएर रहेको हाडखोर भनी आज पनि च्यास्मिटार भन्ने गाउँमा भएको कालाकाला चट्टानलाई यहाँका आदिवासीहरू देखाउने गर्दछन् ।
हिन्दूधर्म को श्री स्वस्थानी व्रत कथा अनुसार सतिदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो महायज्ञ गरे जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म बोलाएनन र आफ्नो पिताले त्यस यज्ञमा नबोलाईकन पनि गईन । पिताको अपमान सहन नसकी सती देवीले तत्काल यज्ञस्थलमा नैं योज्ञाग्निमा स्वयंलाई लाई भस्म गरिदिइन्।
यज्ञमा हामफालेर देह त्यागगरेको शरिरलाई महादेवले लिएर संसार डुलाउने क्रम मा यहाँ सतीदेवी अंगको दाहिने कुहुनो पतन भयो राज गृह पिठ राज ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेश्वर महादेव उत्पति भई शिव शक्ति सरुप ले रहेको पनि कथा मा पाइन्छ गुफासंग उपलव्ध कथा यस्तै छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ ।
त्रि–धार्मिक स्थल किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल मध्ये एक हो । ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ ।यहाँ बर्से्नि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् ।
अर्का तिर हिन्दू धार्मिक किंम्वदन्ती अनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए ।
त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ । त्यस्तै, बौद्ध धर्मानुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दछन् । त्यसैले पनि यहाँ बर्से्नि किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् ।
केहि वर्षअघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान पुग्न लामिडाँडा विमानस्थलमै ओर्लिनुपर्ने बाध्यता हटेको छ । अब भने धार्मिक तीर्थयात्रीको बाढी नै लाग्ने हलेसी पुग्न पूर्व पश्चिम राज मार्ग हुदै मिर्चैया ९कटारी सडक खण्डबाट पनि पुगिन्छ । भने अहिले मध्यपहाडी राजमार्ग बाट सिधै जयराम, बाहुनीडाँडा कदुवा च्यास्मिटार, बडहरे ,दुर्छिम छापडाँडा हुँदै हलेसी महादेव को दर्शन गर्न पुगिन्छ । यस मन्दिरमा विशेष गरेर शिवरात्रीका दिन भक्तहरूको निकै घुईंचो लाग्दछ ।
लण्डनमा मन्दिर बनाउन ४ अर्ब दान दिने विश्वनाथ को हुन्, के काम गर्छन् ?
लण्डनमा मन्दिर बनाउन ४ अर्ब दान दिने विश्वनाथ को हुन्, के काम गर्छन् ?
एजेन्सी । लण्डनमा जगन्नाथ मन्दिर बन्दैछ । यसबीच मन्दिर निर्माणका लागि भारतीय मूलका एक अर्बपतिले ४ अर्ब दान दिएको खबर बाहिर आएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार भारु २५० करोड रुपैयाँ दान गर्ने व्यापारीको नाम विश्वनाथ पटनायक हो । आउनुहोस् जानौं, को हुन् विश्वनाथ पटनायक ? भारतीय मूलका व्यापारी विश्वनाथ ओडिशाका बासिन्दा हुन् । विश्वनाथले जगन्नाथ मन्दिर निर्माणका लागि काम गरिरहेको बेलायती परोपकारी संस्थालाई सो दान दिए ।
उनले मन्दिर निर्माणका लागि २५० करोड रुपैयाँ दान दिन लागेका हुन् । जानकारी अनुसार पटनायक फिननेस्ट नामक कम्पनीका संस्थापक एवं अध्यक्ष हुन् । पटनायकको कम्पनीले नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन, हाइड्रोजन लोकोमोटिभ र अन्य क्षेत्रमा लगानी गर्दछ । विश्वनाथ पटनायक पहिले बैंकर थिए ।

त्यसपछि उनले आफ्नो कम्पनी सुरु गरे । अध्ययनको कुरा गर्दा पटनायकसँग एमबीए, एलएलबी र बीए अर्थशास्त्रको डिग्री छ । पटनायक सन् २००९ मा बैंकिङको जागिर छोडेर व्यापारिक दुनियाँमा प्रवेश गरेका थिए ।
उनको कम्पनीले दुबईमा नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन, स्वास्थ्य सेवादेखि सुन प्रशोधन केन्द्र र बुलियन व्यापारमा लगानी गरेको छ । बुलियन व्यापार एक त्यस्तो बजार हो, जहाँ सुन र चाँदी जस्ता बहुमूल्य धातुहरूमा लगानी गरिन्छ ।
पटनायकले हालै ओडिशामा लगानी गर्न लागेको खबर पनि आएको थियो । पटनायकले ईभी–हाइड्रोजन ट्रक र भारी सवारीका लागि प्लान्ट स्थापना गर्न भारु ५०० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको समाचार आएको थियो । विश्वनाथ पटनायकले युनेस्कोलाई पनि दान गरेका छन् । उनले बालिकाको शिक्षाका लागि पनि धेरै परोपकारी संस्थालाई सहयोग दिँदै आएका छन् ।
जगन्नाथ मन्दिर, लण्डन
लण्डनमा निर्माण हुन लागेको जगन्नाथ मन्दिरको पहिलो चरण आगामी वर्षको अन्त्यसम्म निर्माण हुने विश्वास गरिएको छ । बेलायतको श्री जगन्नाथ सोसाइटी (युके) ले गत अप्रिल २३ मा उक्त दान भारत बाहेकका कुनै पनि देशका मन्दिरलाई दिएको सबैभन्दा ठूलो भएको बतायो ।
अक्षय तृतीयाको दिन आयोजित मन्दिरको एक कार्यक्रममा पटनायकले जगन्नाथ मन्दिर निर्माणका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । जानकारी अनुसार लण्डनको श्री जगन्नाथ मन्दिरका लागि करिब १५ एकड जमिन किनिएको छ ।
त्यसका लागि विश्वनाथ पटनायकले दिएको २५० करोड रुपैयाँबाट ७० करोड रुपैयाँ छुट्याएको हो । मन्दिर निर्माणका लागि जग्गाको पनि पहिचान भइसकेको छ । जग्गा खरिदको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
पाँच पत्रकारलाई पुरस्कार, भण्डारी र खनाल सम्मानित
पाँच पत्रकारलाई पुरस्कार, भण्डारी र खनाल सम्मानित
पोखरा । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५–०७९ यहाँका पाँच पत्रकारलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले बिहीबार दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाईसम्मान तथा पुरस्कार अर्पण गरेको हो ।
समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली, चौतारी कास्कीका पूर्व अध्यक्ष तथा समाधान दैनिकका उपसम्पादक श्याम कुँवर, एभरेष्ट मिडिया हाउसका सिईओ दीपेन्द्र श्रेष्ठ, चौतारी कास्कीका सल्लाहकार केशव पाठक र चौतारीका केन्द्रीय सचिव सुष्मा पौडेललाई पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशि जनही११ हजार १११ रूपैंया र सम्मानपत्र छ ।
कार्यक्रममा प्रेस चौतारी पत्रकारिता सम्मान पत्रकार राजु भण्डारी र सावित्री खनाललाई अर्पण गरिएको छ ।
नेकपा एमालेका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज, पूर्वमन्त्री पद्मा अर्याल, स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले सम्मान एवं पुरस्कार अर्पण गरे ।
प्रमुख अतिथि गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताए । प्रेस चौतारीका ईञ्चार्जसमेत रहेका गुरुङले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा पत्रकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
उपमहासचिव गुरुङले जसको कुनै नीति, सिद्धान्त र विकासको रोडम्याप छैन, त्यसले समाजलाई भ्रममा पारिरहेको टिप्पणी गरे । ‘जनताका समस्या हटाउन, आवश्यकता पुरा गर्न अब सबै ठूला पुराना राजनीतिक दल संगठित हुनुपर्छ,’ गुरुङले भने, एमाले र नेपाली कांग्रेसको विकल्पमा बनेको नयाँ दलहरुको भविष्य छैन, दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न सकिँदैन । उनले मूलधारका दलहरुमा पनि सुधारको खाँचो औंल्याए ।
गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका उनले प्रदेश सरकारहरुले संघीयताअनुरुप काम गर्नुपर्ने, समस्या कहाँ छ, पत्ता लगाउनुपर्ने सुझाव दिए । ‘मुलुकले खोजेको सुशासन र विकास हो । भिजन नयाँ हुनुपर्छ,’ उनले भने, ‘दक्षिणपन्थी अवसरवाद परास्त गर्नुपर्छ ।’ ८० वर्षको वृद्धमा पनि नयाँ भिजन छ भने उही नेतृत्वमा जान सक्ने उनको भनाइ थियो ।
एमालेका सचिव अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिइन् । प्रेसले घट्ना घटेको जानकारी मात्र होइन घट्ना घट्नुको कारण पनि खोज, अनुसन्धान गर्नुपर्ने अर्यालले सुझाव दिइन् । समाजमा अराजकता बढ्न नदिन सचेत हुनुपर्ने बताउँदै विश्वराजनीतिको केन्द्र दक्षिण एशिया किन भइरहेको छ, खोजी गर्नुपर्ने सुझाइन् ।
निवर्तमान मुख्यमन्त्री अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए । अधिकारीले गण्डकीमा संविधानको धाराअनुसार सरकार नबनेर आफूखुसी सरकार बनाउन लागिएको टिप्पणी गरे । उनले समाजलाई सही दिशामा डो¥याउन मिडिया चनाखो हुनुपर्ने सुझाव दिए ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको उल्लेख गरे । पोखराको पत्रकारिताले प्रदेशको सिंगो पत्रकारितालाई अगुवाइ गरेको बताए । उनले विभिन्न आन्दोलन र प्रेस स्वतन्त्रताका लागि खबरदारी गर्नुपर्ने बताए । पत्रकार महासंघका नेताहरु संविधानविरोधी काममा लागेको आरोप लगाउँदै यसको खबरदारी गर्नुपर्नेमा उनको जोड छ ।
पुरस्कारले हौसला प्रदान गरेको पुरस्कृत व्यक्तित्वद्वय रामकृष्ण ज्ञवाली र सुस्मा पौडेले बताए । सबैभन्दा ठूलो कुरा स्वाभिमान रहेको भन्दै अबका दिनमा अझै क्रियाशिल भएर लाग्ने उनीहरुको भनाइ थियो ।
प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले देशभरका १२ हजार पत्रकारमा गण्डकीमा मात्र ७ सय ८२ पत्रकार रहेको बताए । उनले संगठन सुधारमा आफूहरु अघि बढेको उल्लेख गरे ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारिता पेसालाई समाजप्रति उत्तरदायी बनाउनु अहिलेको चुनौती हो भनिन् । श्रमजीवीको हकहितका लागि सरकार जवाफदेही बन्नुपर्ने अध्यक्ष भण्डारीको धारणा छ ।
प्रतिभा छनोट समिति संयोजक पुण्य पौडेलले छनोटको प्रक्रियाबारे बोलेका थिए । यसअघि प्रेस चौतारी पुरस्कार पुण्यप्रसाद पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङलाई दिइएको थियो । तर विभिन्न परिस्थिति एवं कोरोना भित्रिएसँगै पुरस्कार वितरण रोकिएको थियो ।
प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोतीसागर अधिकारी र सञ्चालन रञ्जन अधिकारीले गरेका थिए । सो अवसरमा प्रेस चौतारी नेपाल गण्डकीको क्यालेन्डर बिमोचन गरिएको थियो ।
डिप्लोमा, एड्भान्स डिप्लोमा अध्ययन गर्न जानेलाई NOC दिइने
काठमाडौं। सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (ब्रिजकोर्ष) गर्न विदेश जानेलाई अध्ययन अनुमति पत्र (एनओसी) नदिने निर्णय फिर्ता लिएको छ।
वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने विद्यार्थीलाई एनओसी नदिने फिर्ता लिएको हो।
चैत १९ गतेदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र त्यही आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातक अघिको कुनै पनि कार्यक्रमको लागि एनओसी दिन रोकेको थियो।
सरकारको उक्त निर्णयको चौतर्फी विरोध भएको थियो। त्यसपछि सरकारले निर्देशिका संशोधन गरी कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको हो।
कतिपय कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर्षे कोर्षहरु गराउने भएकोले कक्षा १२ पछिका कार्यक्रमको लागि अर्थात् यसअघि गरिरहेको कामलाई निरन्तरता दिने निर्णय गरिएको जनाइएको छ।
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ को दफा २८ ले ‘कक्षा १२ वा सोसरह उत्तीर्ण गरी विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई यस निर्देशिकाको व्यवस्था र प्रक्रिया पूरा गरी निर्देशिका जारी हुनुअघि स्वीकृति प्रदान गरिएका कार्यक्रमको लागि स्वीकृति प्रदान गर्न बाधा पर्ने छैन’, भनेको छ।
निर्देशिका संशोधनसँगै विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन पाउने भएका छन्।
चैत १९ गतेदेखि भाषा पनि डिग्री सम्बन्धित अर्थात् शैक्षिक कार्यक्रमसँग जोडिएकालाई मात्रै दिने अथवा विश्वविद्यालयले दिने अफर लेटरमा स्पष्ट उल्लेख गरिएको भाषा अध्ययनलाई मात्र दिने भनेर रोकिएको थियो।
निर्देशिकाले सरकारले सूचीकृत गरेको विश्वविद्यालय, शैक्षिक संस्थामा सञ्चालित शैक्षिक कार्यक्रम अध्ययन गर्नका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र पाउने व्यवस्था गरेको छ।
शाखामा सूचीकृत नभएका विश्वविद्यालय तथा शैक्षिक संस्था र शैक्षिक कार्यक्रमका लागि शाखाले एनओसी जारी नहुने र सरकारले आवश्यकता अनुसार उक्त सूची अद्यावधिक गर्नेछ।
यसअघि शैक्षिक परामर्श दातृ निकाय (कन्सल्टेन्सी) हरुले आफ्नै तरिकाले विश्वविद्यालय, शैक्षिक संस्था, कार्यक्रम खोजी गर्ने, भिषा लगाउने र अन्तिम समयमा मात्रै एनओसी लिने गरेका थिए।
तर अब भने निर्देशिकाले कन्सल्टेन्सीहरुको भूमिका संकुचित बनाउँदै शाखामा सूचीकृत भएका विश्वविद्यालय, शैक्षिक संस्था, शैक्षिक कार्यक्रमका लागि मात्रै एनओसी जारी गर्ने निर्देशिकाले उल्लेख गरेको छ।
निर्देशिकाले विदेशी मुद्राको सटही सुविधा सम्बन्धित विद्यार्थीले पेश गरेको अनुमतिपत्रको विवरणको आधारमा पाउने व्यवस्था गरेको छ।
सम्बन्धित बैंकले विदेशी मुद्रा सटही सुविधा दिएपछि कुन कुन शीर्षकमा के कति रकमको सटही सुविधा उपलब्ध गराएको हो त्यसको विवरण तथा सटही सुविधा लिएपछि सो सुविधा अनुसारको विदेशी मुद्रा फिर्ता गरेको भए सोको विवरण अनलाइनमा प्रविष्टि गराउनुपर्नेछ।
त्यसले गर्दा विद्यार्थीको कागजातको दोहोरो तथ्य जाँच हुने र कसैले कैफियतपूर्ण कागजात पेश गरेर एनओसी लिएको रहेछ भने पनि बैंकमा बुझाउनुपर्ने सक्कली कागजातका कारण गलत काम रोक्नको लागि यो व्यवस्था गरिएको स्रोतको भनाइ छ।
यसले तेस्रो पक्षबाट सटही गर्ने, रिफन्ड हुने त्यसको लागि बार्गेनिङ हुने र कन्सल्टेन्सीले आफ्नो खातामा रिफन्डेट गराउने गलत क्रियाकलापहरु बन्द गर्नको लागि यो व्यवस्था गरिएको जनाइएको छ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा

