२०८३ असार ५ शुक्रबार

डाक्टरको लापरवाहीका कारण छोरी गुमाएका गायक गौरभ दर्पण ।

पोखरा ।
डाक्टरको लापरवाहीका कारण आफ्नी छोरी गुमाएका गायक गौरभ दर्पणको भावुक बिज्ञप्ति:

दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ र निको पारेर फर्काईन्छ । त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी मेरी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले ४ दिनदेखि लगातार डाक्टरको सम्पर्क र निगरानीमा हुँदाहुँदै पनि उचित उपचार नपाएर मृत्युवरण गर्नु पर्यो, किन? हाम्रो स्वास्थ्य प्रणालीमा वा उपचार पद्धतीमा कहीँ कतै कमजोरी छ कि किन यस्तो हुन्छ ? कि नेपालमा बेचिने औषधीमा खराबी छ ? कि डाक्टरको योग्यतामा कमजोरी छ ? बिरामीको उपचार गर्दा अवस्था अध्ययन गर्ने, जाँच गर्ने अनिवार्यता हुन्छ कि हुँदैन ?

छोरी प्रशंसालाई सामान्य रुघाखोकी थियो, नक्सालको एक क्लिनिकमा देखाएर औषधी लगेर खुवाइयो । २–३ दिनसम्म बेलाबेला कम हुँदै फेरि ज्वरो फर्किने हुन थालेपछि २३ गते नक्साल, कमलपोखरीकै हिमाल हस्पिटलमा लगेर त्यहाँ उपलब्ध बच्चाको डाक्टर डा. जयदेव यादव (एन.एम.सी. नं. १०८४५) लाई देखायौँ । अगाडि खुवाई रहेको औषधि र अवस्था सबै देखाएपछि डाक्टरले आफ्नो उपचार थाले । ज्वरो नाप्ने मुखभित्र हेर्ने, छातीको आवाज सुन्ने आदि ।

‘भाइरल ज्वरो हो, म दबाई लेखिदिन्छु, खुवाएर हेर्नुस् अनि ४ दिनपछि मलाई आएर भेट्नुस्’ भनेर शुक्रबारलाई फलोअपको लागि बोलाउँदै हामीलाई पठाए । छोरीलाई उनले दिए अनुसार दबाई र खाना खुवाउँदै भोलिपल्टसम्म हेर्यांै, तर सुधार देखिएन । अलिअलि गर्दै छोरीको खाना कम हुँदै गयो । उनी कमजोर देखिन थालिन्, फेरि भोलिपल्टै लिएर गयौं र उनै डाक्टरलाई देखायौं, ‘औषधीले काम गर्न थालेको हो, डराउनु पर्दैन झोलिलो कुरा प्रसस्त खुवाउनुस्’ भने । मलाई डर लागेर ‘कि केही अरु जाँचहरु गराएर हेर्नुपर्छ कि ?’ भनेर सोध्दा डाक्टरले ‘केही पर्दैन, बरु यही ल्याएर बिहान बेलुका ३ दिन बाफ लगाउनु, म लेखिदिन्छु’ भनेपछि हामीले पनि त्यही गर्यौं ।

त्यो सबै गर्दै गर्दा पनि नानीलाई सञ्चो भएन घ्यारघ्यार बढ्न थाल्यो । दिउँसो छोरी सुतेको बेला अलि ज्यादै ‘घ्यारघ्यार’ भएको सुनेर मोबाइलमा छोरीको भिडियो समेत खिचेर लगेर डाक्टरलाई देखायौँ । डाक्टरले भने ‘त्यो हेर्नै पर्दैन बिरामीलाई यही देख्खिरहेको छ ।’ उक्त कुरालाई खासै महत्व दिएनन् । बिहान बेलुका दुई पटक हस्पिटल जाँदै बाफ लगाउँदै साँझ फेरि डाक्टरलाई देखाउँदै गर्यौं । बुधबार डाक्टरलाई भेट्दा छोरीको अनुहार हल्का सुन्निएको र पेट अलिकति फुलेको पनि देखाएँ र ‘कि एक्सरे गरेर हेरौँ’ भनेर सोधेँ । डाक्टरले ‘यो सामान्य हो, खाना नखाएर ग्याँसले होला’ भने । बिहीबार पनि बिहान बाफ लगाउन लैजाँदा ईमर्जेन्सीका नर्सहरुले ‘नानी सिथिल छिन् त’ भन्दै थिए । तर डाक्टरलाई रिपोर्ट गरेनन् होला ।

सोही दिन बेलुका ५:३० मा फेरि छोरीलाई लिएर गयौँ, बाफ लगायौँ र डा. को क्याबिनमा लिएर गयौँ । छोरी कुर्सीमा बस्न सकिनन् अनि बेडमा सुतायौँ । सबै अवस्था बेलिबिस्तार लगाएर ‘अब बरु भर्ना गरेरै उपचार गरौँ, घरमा राख्दा गाह्रो होला’ भनेर डाक्टरलाई भन्यौँ । तर डाक्टर फेरि पनि ‘आत्तिनु पर्ने कुरा छैन तर त्यसो भन्नुहुन्छ भने एउटा एक्स–रे हेरौँ अनि रगतको जाँच पनि गरौँला’ भनेर लेखिदिए ।

हामी एक्सरे गराउन गयौँ र लिएर आयौं, जब रिपोर्टमा फोक्सोमा दुबैतिर निक्कै पानी फैलिएको देखियो तब मात्र बिरामीको स्याचुरेसन (अक्सिजन) जाँचियो र भर्ना प्रकृया सुरु गरियो । अक्सिजन लेवल धेरै घट्न थालेपछि ‘यहाँ भर्ना नगरौँ, अर्कै अस्पताललाई रेफर गरिदिन्छौँ, PICU भएको हेम्स अस्पतालमा पठाइदिन्छौँ’ भने । त्यो पनि मान्न हामी तयार भयौँ । तर फोनमा डाक्टरले बिरामीको कन्डिसन बताएपछि हेम्सको डाक्टरले नपठाउनु भने ।

त्यसपछि डा. जयदेव यादवले अर्को नाटक रचेर भने, ‘कान्ती बाल अस्पताललाई मैले कुरा गरेँ, बेड खाली छ, लेटर लेखिदिन्छु सिधै ईमर्जेन्सीमा लैजानु र मेरो नाम लिनु ।’ हामी अत्ताल्लिएका बाबुआमा त्यो पनि मन्जुर गरेर एम्बुलेन्स खोज्न थाल्यौँ । जब बिरामीलाई गाडीमा सार्न लाग्यौं डा. जयदेब यादवले एउटा पत्र लिएर आए र हातमा दिँदै ‘यो मात्र लिएर जानुस् अरु कागजात केही लानु पर्दैन भन्दै छोरीको मेडिकल रेकर्ड कार्ड (प्रेसक्रिप्सन) नर्सलाई लुकाउन लगाए । त्यतिबेला भने मेरो मनमा चिसो पस्यो र डा. को आँखा छलेर गएर काउन्टरमा नर्सको हातबाट कागज खोसेर बोकेर हिडेँ ।

त्यसपछि अक्सिजन जोडिजोडि नै नानीलाई कान्ती बाल अस्पताल पुर्यायौँ । त्यहाँ अस्पतालले बेड खाली नभएको भनेर लिनै मानेन फेरि त्यहाँ कुनै डाक्टर वा हिमाल हस्पिटलले केही खबर गरेको छैन, कसैसँग कुरा गरेको छैन भनेर नानीको अवस्था नाजुक भैसकेको भन्दै तुरुन्तै PICU भएको अर्को अस्पताल लैजान सुझाव दिए । हामीले खोजि गर्ने क्रममा मेट्रो हस्पिटलमा बेड खाली भएको बुझेर फेरि एम्बुलेन्स बोलाएर त्यहाँ पुर्यायौँ । मेट्रो हस्पिटल पुग्दासम्म छोरीले बोलाउँदा रेस्पोन्स गरिरहेकी थिइन् ।
तर त्यो बेलासम्ममा छोरीको स्याचुरेसन ५० को हाराहारीमा झरिसकेकोले सिधै सघन उपचार कक्षमा हालियो । उता छोरीको उपचार सुरुभयो यता हामी अन्य कागजी प्रकृया मिलाउन थाल्यौँ ।
लगभग एक घण्टापछि भित्रबाट मलाई बोलाइयो र म भित्र गएँ । छोरी हेर्न सकिने अवस्था मै थिईनन् । हाम्रो काख र अँगालो रित्तिईसकेको थियो । बाँकी कुरा हजुरहरुलाई अवगत भैसक्यो ।

1. चार/पाँच दिनदेखि ज्वरो तथा खोकी लागेको बच्चालाई किन कुनै परीक्षणहरू गरिएन र उपचार थालियो ।
2. लगातार ३ दिनसम्म बाफ लगाउन लगाएर पनि किन एक्स–रे, रगत जाँच तथा पिसाप जाँच जस्ता अति आवश्यक जाँचहरू गरिएन ?
3. पेट फुल्ने, अनुहार सुन्निने घ्यारघ्यार हुने, लामो समय पिसाप नहुने जस्ता लक्षणहरू थपिँदै जाँदा अभिभावकहरूको कुरामा किन ध्यान दिइएन र किन मानिएन ?
4. अस्पतालले PICU आवश्यक छ भनी त्यहाँबाट अर्को अस्पताल पठाउनु अघि ‘कान्ति अस्पतालमा एक्ष्ऋग् खाली छ, सम्बन्धित डाक्टरसँग कुरा भयो, छिटो लैजानोस्’ भनेर त्यहाँ कसैसँग कुरा नगरी PICU खाली नभएको ठाउँमा पठाएर त्यस्तो संवेदनशील अवस्थामा किन खेलबाड गरियो ?
5. रेफर लेटरमा डाक्टरको हस्ताक्षर नगरी र अस्पतालको छाप समेत नहानी किन पठाइयो ?
6. बिरामीको पुरानो चार दिनदेखिको हिमाल हस्पिटलको मेडिकल रेकर्ड र औषधी किन लुकाउने कोसिस गरियो ?

– अब म के गरौं ! कोसँग लडौँ ?
– मसँग को उभिन्छ ? देश कि नागरिक ?
– यति संवेदनशील सेवामा किन लापरवाही गरियो ?
– यो विषयमा विज्ञ म हो कि डाक्टर ? उसको कुरा मानेर मैले कहाँनिर गल्ती गरेँ ?
– मैले बेहोरेको क्षति यो राज्यको क्षति हो कि होईन ?
– सम्बन्धित डाक्टरको योग्यता छानबिन हुनुपर्छ कि पर्दैन ?
– न्याय माग्न पाउने अधिकार त छ तर न्याय पाउने भरोसा कस्ले दिन्छ ?
उजुरी गर्नु पर्ने निकायहरुमा उजुरी गरिसकेको छु अब सबैले सबैलाई भनिदिनुस्, बोलिदिनुस्, सँगै उभिइदिनुस्
हामीले भोगेको क्षति अरुले भोग्नु नपरोस् भन्ने चाहन्छु । त्यसैले न्यायको आशा गर्दछु ।

प्रशंसा गौतमको बाबा
गौरभ दर्पण
(गंगा गौतम)

पोखरा जाँदै गरेको बस दुर्घटना

पोखराको बेगनास बाट पोखरा तर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

ग १ ख ६७४७ नम्बर बस लेखनाथ डाडाकोनाक स्थित ट्राफिक प्रहरी चौकी अगाडि भएको दुर्घटनामा कम्तिमा पनि ३० घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइतेको उद्वार भएको छ । घाइतेहरुको उपचारकालागि पोखरा गण्डकी अस्पताल ल्याउने तयारी गरीएको छ ।

केन्याली स्टेफनलाई सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

पोखरा । स्टेफन कोस्गेइ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लगातार दोस्रोपटक उपाधि जितेका छन् ।
पोखरा रंगशालामा शनिबार सम्पन्न म्याराथनमा साबिकको विजेता केन्याली धावक कोस्गेइ च्याम्पियन बनेका हुन् ।
उनले निर्धारित दुई घण्टा २० मिनेट ०७ सेकेण्डमा पूरा गरेका हुन् । कोस्गेइले उपाधिसँगै पाँच लाख रुपैयाँ हात पारे ।
निर्धारित दुरी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा पूरा गर्दै केन्याकै जुलियस मुरौकीले दोस्रो स्थानमा रहे । मुरौकीले तीनलाख रुपैयाँ पाए ।
निर्धारित दुरी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा पूरा गर्दै केन्याकै जुलियस मुरौकीले दोस्रो स्थानमा रहे । मुरौकीले तीनलाख रुपैयाँ पाए ।

अनेरास्ववियुको अध्यक्षमा समिक, रोकाया महासचिवमा निर्वाचित (पुरा लिष्ट)

काठमाडौं। ७ वर्षपछि भएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि २३ औं राष्ट्रिय महाधिवेशनबाट बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छनु । यद्धपी, यसको औपचारिक घोषणा भएको छैन ।
अनेरास्ववियुको १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका थिए ।

७ वर्षपछि भएको निर्वाचनमानिर्वाचनमा १५१७ मत खसेको थियो । अखिलको नयाँ नेतृत्वमा १७ पदाधिकारीसहित केन्द्रीय कमिटीका १९९ सदस्यीय निर्वाचित भएका छन् ।

प्रहरीको गाडी, बिट र आईल्याण्ड तोडफोड-आगजनी गर्नेहरू पक्राउ, पुरा विवरण सहित ।

पोखरा ।
प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आईल्याण्ड तोडफोड गरी आगजनी गर्ने थप व्यक्तिहरू पक्राउ :-

मिति २०७९।११।०१ गते अं. १६:५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत बालाजुको सवारी साधनहरु, प्रहरी विट तथा ट्राफिक आईल्याण्डमा अगजनी गरी पूर्ण क्षति पुर्याउन कार्यमा संलग्न थप २३ जना मानिसहरुलाई नियन्त्रणमा लिइएको ।

क) मिति २०७९ ।११। ०४ गते पक्राउ परी म्याद थप भएका व्यक्तिहरूको नामथर :–
१) जिल्ला लमजुङ वेशीशहर न.पा.वडा नं.११ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ गोंगवु बस्ने दिलमान श्रेष्ठको छोरा वर्ष २१ को गणेश कुमार श्रेष्ठ ।
२) जिल्ला कास्की भरतपोखरी उप महानगरपालिका वडा नं.३३ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ गोंगवु बस्ने कृष्ण बहादुर नेपालीको छोरा वर्ष २२ को विक्रम नेपाली ।
३) जिल्ला गोरखा पालुङटार न.पा.वडा नं.०४ घर भई काठमण्डौ, मित्रनगर बस्ने कृष्ण बहादुर भुजेलको छोरा वर्ष २१ को आकाश भुजेल ।
४) जिल्ला कास्की पोखरा न.पा.वडा नं.१६ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ गोंगवु बस्ने मिठ्ठे श्रेष्ठको छोरा वर्ष २८ को सुमन श्रेष्ठ ।
५) जिल्ला नुवाकोट ताँदी गा.पा.वडा नं.०७ घर भई हाल काठमाण्डौ, जरङ्खु बस्ने मर्च लामाको छोरा वर्ष २४ को सुमन लामा ।
६) जिल्ला गोरखा लक्ष्मी न.पा.वडा नं.६ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ गोंगवु बस्ने दान बहादुर मगरको छोरा वर्ष २९ को बिजय मगर
७) जिल्ला नुवाकोट शिवपुरी गा.पा.वडा नं.०६ घर भई हाल काठमाण्डौ लोलाङ बस्ने ईन्द्र बहादुर तामाङको छोरा वर्ष ३० को रन्जित कुमार तामाङ ।
८) काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं.०६ घर हुने छिरीङ थाक्रेकी छोरी वर्ष २६ कि संगिता खड्की ।
९) जिल्ला नुवाकोट घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछोपोखरी वस्ने कृष्ण तामाङ को छोरा वर्ष २० को रबि तामाङ
१०) जिल्ला कैलाली चिसापानी गा.पा.वडा नं.०९ घर हुने दिल बहादुर बुढाको छोरा वर्ष १९ को प्रकाश क्षेत्री ।
११) जिल्ला धादिङ निलकण्ठ न.पा।वडा नम.०६ घर भई हाल काठमाण्डौ जिल्ला तार्केश्वे न.पा.बस्ने श्याम बहादुर गुरूङको छोरा वर्ष २२ को ईलाराज गुरूङ ।
१२) जिल्ला सिन्धुलि सिन्धुलिगडी न.पा.वडा नम.०६ घर भई हाल काठमाण्डौ, जरङ्खु बस्ने वर्ष मरकुच तामाङको छोरा वर्ष १८ को ईन्द्र तामाङ ।
१३) जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ बालाजु माछोखरी बस्ने बुद्ध शाहीको छोरा वर्ष ३३ को माधव शाही ।
१४) जिल्ला उदयपुर उदयपुरगढी गा.पा.वडा नम।०६ घर भई हाल काठमाण्डौ जिल्ला ढुङ्गेधारा बस्ने एक बहादुर रावतको छोरा वर्ष २७ को राजन रावत ।
१५) जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध न.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ जिल्ला सामाखुशि बस्ने दल बहादुर तामाङको छोरा वर्ष २८ को हरी शरण तामाङ ।
१६) जिल्ला काभ्रेपलान्चोक पाचखाल घर भई हाल जिल्ला काठमाण्डौ जरङ्खु बस्ने बिजय मगरको छोरा बेष १९ को सुजन मगर ।
१७) काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ बालाजु माछापोखरी बस्ने बालकृष्ण नगरकोटीको छोरा वर्ष २२ को रोमन नगरकोटी ।
१८) जिल्ला नुवाकोट ककनी गा.पा.वडा नं.०८ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु बस्ने शरण सुनारको छोरा वर्ष १८ को सुनिल कालिकोटे ।
१९) जिल्ला नुवाकोट ककनी गा.पा.वडा नं.०७ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु वस्ने सानु कान्छा तामाङको छोरा वर्ष १८ को सुदिप तामाङ ।
२०) जिल्ला धादिङ निलकण्ठ न.पा.वडा नं.०६ घर भई हाल का.जि. तार्केश्वर न.पा.वस्ने प्रकाश गुरूङको छोरा वर्ष १८ को विकाश गुरूङ ।
२१) जिल्ला चितवन रत्ननगर न.पा.वडा नं.११ घर भई हाल काठमाण्डौ डल्लु वस्ने सुक बहादुर परियारको छोरा वर्ष २७ को सविधान परियार ।
२२) जिल्ला नुवाकोट सुर्यगढी गा.पा.वडा नं.०४ घर भई हाल काठमाण्डौ जिल्ला लोलाङ वस्ने रामबाबु राईको छोरा वर्ष १९ को केशर राई ।
२३) जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.२६ घर भई हाल काठमाण्डौ तार्केश्वे न.पा.वस्ने बुद्ध रत्न खड्गीको छोरा वर्ष १९ को कविन खड्गी ।
नियन्त्रणमा लिईएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी सम्मानित काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको साथै अन्य संलग्न व्यक्तिहरुको खोजतलास भई रहेको ।

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि ८ बजेबाट मतदान, अध्यक्षमा तीन जनाको दावेदारी ।

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ ।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान हुनेछ ।‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने ।

बडाल नेतृत्वको पूर्व कमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ ।

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । जारी महाधिवेशनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।

मङ्गलवारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आइतबार सुरु भएको हो महाधिवेशन आजसम्म चल्नेछ ।

मेरो प्रेम त्यस्तो हुनेछ l

*******मेरो प्रेम त्यस्तो हुनेछ*******

हे रोमियो! के कृष्ण! हे मजनु!
प्रेम जिवनकालको बिशेषण मात्र हो?
प्रेम आवश्यकता मात्र हो?
के प्रेम भाग्य हो?

म भन्छु प्रेम फर्स्ट एन्ड फर्मस्ट हो।
अधिकार हो!
सबै भन्दा महत्त्वपूर्ण अधिकार के हो थाहा छ तिमीलाइ?
पेम पाउनु र प्रेम गर्न पाउनु हो।
मैले बुझेको प्रेम; मैले खोजेको प्रेमको शृङ्खलाबद्द व्याख्या गर्न हो भने..
तिम्रो ‘भ्यालेन्टाइन्स डे’ ले unit-1 मै शब्द-विश्राम लिनेछ।
किन थाहा छ?

मेरो प्रेममा प्रकृति छ!
मानव र मानवता छ!
संस्कृति पनि छ!
वर्ग छ!
तिम्रो प्रेममा त मिती पो छ।

मेरो प्रेम एक सहयोद्धा पाउने प्रेम हो-
र त्यो सहयोद्धा भित्र पाउने प्रेम हो।
तिम्रो प्रेम त केवल एक पुरुषले स्त्रीलाई-
स्त्रीले पुरुषलाइ पाउने प्रेम रहेछ!

मेरो प्रेम त…
एक एक घुट्की संगित, साहित्य सँगसँगै पिउने प्रेम हो।
हरेक यात्रा सँगसँगै हात समाइ तय गर्ने प्रेम हो।
नाच्ने नचाउने; हाँस्ने हँसाउने प्रेम हो।

मेरो प्रेममा पैसा गन्ने फुर्सद छैन ए रोमियो!!
क्षितिज मुनि जमिनमा पल्टि सँगै लाख तारा गन्न छ!
ती शरीरका तमाम अंग अंग जोडि हृदय-प्रवेग को गति गन्न छ!
कामोत्तेजना पश्चात् पिएको सिगरेटको धुवाँले-
आकाशमा बनाएको भिन्न भिन्न आकार गन्न छ!
मनोत्तेजनाको सागरमा डुबेर चम्किला मोति गन्न छ!
मेरो प्रेममा तिम्रो समाजको प्रोटोकल गन्ने फुर्सद छैन रोमियो!!

मेरो प्रेम यस्तो हुने छैन कृष्ण!
मेरो प्रेममा राधाले पनि ‘सुदर्शन चक्र’ बोक्नेछिन्।
मेरो प्रेम यस्तो हुने छैन मजनु!
मेरो प्रेममा उनी पनि सेतो घोडामा आउनेछिन्!
मेरो प्रेममा म एक्लै वनबास जाने छैन राम!
सीता मसँगै रणमा हुनेछिन्।

मेरो प्रेम तिनकै समाजको विभेद बिच हुनेछ-
त्यही विभेद चिर्नेछ!
मेरो प्रेम तिनकै कागजले चल्ने बजार बिच हुनेछ-
कागजको बजार जल्नेछ!

मेरो प्रेममा सृजना हुनेछ।
त्यहाँ कलमले प्रेम पत्र मात्र होइन-
एक युग लेख्नेछ!
मेरो प्रेममा सपना हुनेछ।
त्यहाँ हाम्रो नयाँ घरको गेट मात्र होइन-
उनको नवयुगि पेट हुनेछ!
मेरो प्रेममा संघर्ष हुनेछ।
एक हातमा काँडा भएको गुलाब-
अर्को हातमा राइफल हुनेछ।

हाम्रो मिलन तिनीहरुको चिहानमा हुनेछ-
जसले चर्विको कपडा साथसाथै प्रेम बजार खोले।
हाम्रो मिलन धुवाम्य बाजको गुँड बिच हुनेछ-
जसले प्रेमिल मुटु र नविनअण्डाहरु लुकाएर राखे।
त्यो दिन सन्नाटाको ठूलो आवज आउनेछ..
त्यो सन्नाटा पछि-
मन्दमन्द बतास र सिमसिम पानी बिच-
इन्द्रेणी उदाउने छिन्।
माया सार्वभौम रंग हो
र यहि नयाँ भाष्य हो भन्नेछिन्।
फेरि रवि किरणको आगमन हुनेछ।
र त्यो मिती बल्ल उत्सव हुनेछ।

मेरो प्रेम त्यस्तो हुनेछ…
मेरो प्रेम त्यस्तो हुनेछ…

 

लेखकः गिरी भाई ।

नेविसंघ कास्कीले पहिलो बैठक बाट गर्यो निम्न निर्णय ।

नेपाल विधार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति कास्किको अध्यक्ष श्री नशिव गुरुङ्ग को अध्यक्षतामा पहिलो वैठक सम्पन्न भएको छ। नेपालीकाङ्ग्रेस जिल्ला कार्यसमितिको भवन चिप्लेढुङ्गा पोखरामा बसेको उक्त वैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

नेविसंघ कास्की भित्र रहेका आवस्यक आवाजहरुलाई समेट्न आन्तरिक संगठनलाई रणनीति हिसाबमा मझवुत बनाउन, स्ववियु निर्वाचनलाई केन्द्रीतविषयमा छलफल भएको नेविसंघ कास्कीका जिल्ला अध्यक्षले बताए।

साथै सहिदहरुलाई स्मरण गर्दै संगठन निर्माण गर्न लोकतन्त्र स्थापना स्थायित्व दिन अमुल्री योगदान पुर्याउनु भएका अग्रजरुलाई सम्झदै लामोसमयसम्म रिक्त रहेको नेविसंघ कास्कीलाई पुर्णता दिन सहयोग गर्नु भएकोमा नेविसंघ केन्द्रीय कार्यसमिती, नेविसंघ कास्कीका निवर्तमान सभापतिहरु, नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्की नेपाली कांग्रेस कास्किको संगठन विभाग प्रमुखलाई धन्यवाद दिईएको बताए।

फाल्गुन गते प्रजातन्त्र दिवसको दिन आवस्यक रचनात्मक कार्यक्रम गर्न, सारिक रहन नेविसंघ कास्की मातहतका विधार्थिहरुलाई आह्वान गरेको छ।

नेकपा स्याङ्जाद्वारा सडक डिभिजन कार्यालय पोखरालाई दबाब

संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले २८ औं जनयुद्ध दिवसको अवसरमा स्याङ्जाको वालिङ् भुम्रे-डुम्रेभञ्ज्याङ सडक अन्तर्गत आधींखोला पुलमा निर्मित सहिद गेट रङ्गरोगन तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा स्याङ्जाले सहिद भवन,सहिद गेट र स्मृति भवनहरुलाई थप व्यवस्थित गर्ने,सहिद परिवार भेटघाट तथा सबै दलहरू संग अन्तरक्रिया र छलफल कार्यक्रम अगाडि बढाउने तयारी गरेको छ ।
यस्तै वालिङ १४ हुल्काङमा अव्यवस्थित रुपमा ठेकदारले लापरबाही पुर्ण तरिकाले सहिद गेट भत्काएको र अहिलेसम्म बनाउने बिषयमा वेवास्ता गरेको भन्दै उक्त सहिद गेट पुनर्निर्माणमा चासो नदेखाए पार्टीले कदम चाल्ने समेत बताएको छ ।
साथै स्थानीय तहमा दलीय आधारमा हुने गरेका राजनीतिक विभेदका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ भने सिद्धार्थ राजमार्ग बायाँटारी-हेलुसम्मको जिर्ण र अस्तव्यस्त रहेको सडक तुरुन्त काम शुरु गराउन सडक डिभिजन कार्यलय पोखरामा दबाब र ध्यानाकर्षण दिने तयारी गरेको नेकपा स्याङ्जाले बताएको छ ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले क्यानवेरा स्थित नेपाली दुतावासमा बुझायो ज्ञापनपत्र ।

१३ फेब्रुअरी । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाले पासपोर्ट लगायतको वारेमा क्यानवेरा स्थित नेपाली दुतावास मार्फत परराष्ट्र मन्त्री बिमला पौडेल राईलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले ज्ञापन पत्र राजदुत कैलाश राज पोखरेललाई बुझाएको हो । ज्ञापन पत्रका पासपोर्ट आबेदनका लागि आवश्यक पर्ने बायोमेट्रिक समय पर्याप्त मात्रामा उपलब्ध नभएको तथा सर्बसाधारणले दुताबासमा फोन गर्दा फोन सम्पर्क हुन सहज नभएको उल्लेख गरिएको छ । त्यसैगरि अस्ट्रेलियाका विभिन्न सहर र राजधानीको भौगोलिक दुरी को कारण पासपोर्ट प्राप्त गर्ने प्रकिया सहज नभएको एवं राजदुताबास बाट प्रदान गरिने अन्य कन्सुलर सेवामा सहज पहुँच नभएको समेत उल्लेख गर्दै विभिन्न आठ वटै राज्यहरुका वाणिज्यदुतावासहरुमा पनि आर्थिक कारोवार अनलाइन/मिसिन प्रणाली बाट लिने व्यवस्था नभएको र वाणिज्यदुत ज्युहरुलाई सर्वसाधारणले सम्पर्क गर्ने स्थान र समय निश्चित नभएको समस्यालाई प्रस्तुत गरिएको मञ्चका सचिव प्रकाश पन्थीले बताए ।

सचिव पन्थीका अनुसार राजदुत पोखरेलले दुतावास समस्याहरुका वारेमा जानकार रहेको र समाधानका लागि द्रुतगतिमा काम भैरहेको बताउदै अष्ट्रेलियामा रहेका सामाजिक संघ संस्थाहरुलाई आफ्नो ठाउबाट समाधान गर्न हुनु अनुरोध गरेका थिए । कार्यक्रममा राजदुत पोखरेल सहित नियोगका उप प्रमुख कल मगर, तृतिय सचिव यादव कोईराला समेत रहेका थिए ।

प्रतिनिधी मण्डलमा मञ्चका अध्यक्ष जोशी र सचिव पन्थी सहित अन्तराष्ट्रिय कमिटी सदस्य सिसिर नेपाल, अष्ट्रेलियाका उपाध्यक्ष राम घिमिरे, आर्थिक विभाग प्रमुख दिपक पहारी, क्यापिटल टेरोटेरी इन्चार्ज किशोर भण्डारी, सदस्यहरु सुर्यमोहन शर्मा, प्रकाश सुवेदी, सुभाष सुवेदी तथा मञ्चका क्यापिटल टेरोटेरिका सचिव बाबुराम शर्मा रहेका थिए ।

  1. अध्यक्ष जोशीले मञ्चले समस्या र तिनका समाधानका लागि गर्नु पर्ने काम सुझाव समेत ज्ञापन पत्रमा बुझाएको छ । जसमा दुतावास तथा बाणिज्यदुतावास सेवाहरूको सामाजिक संजाल मार्फ़त समेत ब्यापक जनचेतना फ़ैलाउने कार्य गर्ने र राजदुतावासको टेलिफ़ोन सेवाको बारे मा धेरैनै जनगुनासो रहेकोले टेलीफ़ोन सेवा वा जनशक्ति थप गर्ने रहेको छ । छलफलका क्रममा अत्यावश्यक सेवाका लागि कुनै मोवाईल नम्वरको व्यवस्था गरेर त्यसमा म्यासेज पठाउन सक्ने सम्मको सुविधा दिएर समस्याका वारेमा जानकारी लिने र समाधान गर्ने विषयमा समेत छलफल भएको जोशीले बताए । त्यसै गरि नेपाल बाट अष्ट्रेलिया आऊने बिद्यार्थी, पर्यटक तथा अन्य आगन्तुकहरूको संख्या बढ़ने क़्रम जारि रहेकोले राजदूतावासमा रहेको कर्मचारी बढ़ाउदै राजदुताबास बाट संचालन गरिने घुम्ती सेवाहरु बिस्तार ग़र्ने जसले नेपाली समुदायमा सेवा सहज रुपमा पुग्ने सुझाव समेत दिएको छ ।

यसैगरि वाणिज्यदुतावासहरुको सम्पर्क गर्ने समय सहितको सबै जानकारी भएको वडापत्र जारी गर्ने र आवश्यकता महशुस भए एवं कानुनी रुपमा अनुकुल भएमा दुतावासको काममा सहयोग गर्न अष्ट्रेलियामा रहेका सामाजिक संघ संस्था हरुबाट आलोपालो गरि स्वयंसेवक हरूको आह्वान गर्ने सुझाव दिएको जोशीले बताए ।

उनले मञ्चको मुख्य माग पासपोर्टको वितरणको सहजिकरण भएकोमा राजदुत पोखरेलले आफु आए देखि त्यसमा लागेको र परराष्ट्र मन्त्रालय संग थप सहयोग लिएर समाधानका लागि लाग्ने बताएको जानकारी दिए । प्रतिनिधिमण्डलले मञ्चले गर्दा दुतावासको सेवामा सहयोग पुग्नु कुनै काम भए जानकारी गराउन आग्रह गरेको र त्यसमा मञ्च सधै तयार रहेको प्रतिव्धता समेत व्यक्त गरेका थियो ।

विगतमा दुतावासमा रकम नै बोकेर जानु पर्ने अवस्थाको अन्त्य भएको र मञ्चको माग बमोजिम आगामी दिनमा सबै वाणिज्यदुतावासहरुमा समेत रकम बोकेर जानु पर्ने अवस्थाको अन्त्य हुने जानकारी समेत दिएको प्रतिनिधिमण्डलका सदस्य समेत रहेका आर्थिक विभाग प्रमुख पहारीले जानकारी दिएको कुरा प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका उपाध्यक्ष प्रकाश सुबेदिले बिश्वपाटीलाई बताए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय