२०८३ असार ६ शनिबार

हिलो फसेका बस सुर्खेत !!

हिलो फसेका बस
सुर्खेत । मदन भण्डारी राजमार्गको धुलियाबिट–भेडाबारी सडक खण्डअन्तर्गत सुर्खेतको लेकबेँसी नगरपालिका– ६ लवनामा हिलाम्मे सडकमा फसेको बस । अविरल वर्षाले गर्दा सडक बिग्रँदै गइरहेको छ ।

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने!!!

पोखरा, २४ असोज ।

पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो ।

३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्था र ब्यक्तिहरुलाई आह्वान गरेका छन् । फेवाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।

तर, यसको संरक्षण भने हुन सकेको छैन । तालको नयाँ सीमांकन भइसकेको छ । मापदण्ड विवादले अतिक्रमित संरचना हटाउन नसकेको मेयर आचार्यले बताए । तत्कालका लागि उनले ६५ मिटर नै मापदण्ड हुने बताएका छन् । यसअघि जनप्रतिनिधिको अन्तिक कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटरमा झारेको थियो ।

उक्त निर्णय विरुद्ध सर्वोच्चमा मुद्दासमेत परेको थियो । सर्वोच्चले तत्कालका लागि ६५ मिटर नै मापदण्ड हुने र सोही अनुसार कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ ।

मंगलबारपछि पनि छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई सन्चालन गर्ने महानगरले जनाएको छ । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरहरुलाई मेसिन बनाउने जिम्मा दिइसकिएको आचार्यले बताए !

नेकपा एमालेद्वारा बहुमतसहितको दुई तिहाईको सरकार निर्माणका लागि एकदमै उत्कृष्ट योजना सार्वजनिक ।

नेकपा एमालेद्वारा बहुमतसहितको दुई तिहाईको सरकार निर्माणका लागि एकदमै उत्कृष्ट योजना सार्वजनिक ।

कुल प्रसाद वगाले
कमल-०५,झापा
२०७९/०६/२५
सोमबार

नेपाली कांग्रेस नेतृत्वमा माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धन बनेपछि २०७४ को सबैभन्दा ठूलो दल नेकपा एमाले अहिले प्रतिपक्षमा छ।

२०७४ को आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मिलेर वाम गठबन्धन गर्दा दुई दलको संयुक्त मत करिब दुईतिहाइ नजिक थियो।

तर उक्त निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दुई पटकसम्म संसद विघटन गरिदिएपछि त्यसबेलाको दुईतिहाइ मत छिन्नभिन्न भइसकेको छ।

अहिले माओवादी कांग्रेससँग मिलेर मंसिर ४ का लागि चुनावी तयारी गरिरहेको छ। अर्कातिर उसको कुनै बेलाको सहयात्री एमाले एक्लै चुनावी तयारीमा होमिएको छ।

२०७४ को चुनावमा एमाले र माओवादी गठबन्धन गरेर जाँदा प्रत्यक्षतर्फ ४५.७१ प्रतिशत मत ल्याउन सफल भएका थिए। प्रत्यक्षतर्फ १०३ सिटमा उठाएको एमालेले ३०.६८ प्रतिशत मत ल्याएको थियो।

अर्कातिर एमालेसँग तालमेल गरेको माओवादीको मत १५.०३ प्रतिशत थियो। उता एक्लै १५४ स्थानमा उम्मेदवारी दिएको कांग्रेसको मत ३५.७४ प्रतिशत थियो।

तर एमालेलाई यो पटकको संसदीय निर्वाचनमा प्रत्यक्षतर्फको मत जोगाउन सबैभन्दा चुनौती आइलागेको छ। माधवकुमार नेपाल नेतृत्वको समूहले एमाले छाडेर एकीकृत समाजवादी बनाएपछि एमालेले स्थानीय तह निर्वाचनमै धक्का खाएर दोस्रो स्थानमा झरिसकेको छ।

२०७४ मा माओवादी समेतको मतको बलमा प्रत्यक्षतर्फ ८० सिट जित्दै पहिलो शक्ति बनेको एमालेले मंसिरको चुनावमा पनि एक्लै बहुमत ल्याउने योजनासहितको दस्तावेज नै तयार गरेको छ।

यता वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेले ३४ प्रतिशत मत ल्याएको छ।

उक्त ३४ प्रतिशत मतमा १६ प्रतिशत थप्ने योजना एमालेले बनाएको हो। ओलीले पनि उक्त ३४ प्रतिशतमा १६ प्रतिशत मत थपेर ५० प्रतिशत पु¥याउने योजना केन्द्रीय कमिटीमा पेश गरेको दस्तावेजमा उल्लेख गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १०–११ भदौमा बसेको चौथो केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा १६ प्रतिशत मत थप्न सकिएमा बहुमत पुग्ने तर्क गरेका छन्।

गत मंसिरमा भएको दशौं महाधिवेशनसम्म एमालेका ८ लाख ५५ हजार संगठित सदस्य थिए। त्यो संख्या पार्टी प्रवेश क्रमले अझै बढेको दाबी एमालेको छ। एमालेले अहिले संगठित सदस्यता संख्या ११ लाख पुगेको बताइरहेको छ।

अर्कातिर २०७४ को समानुपातिक निर्वाचन प्रणालीतर्फ एमालेले ३३.२५ प्रतिशत मतसहित ठूलो दल बनेको थियो। यो प्रणालीमा कांग्रेसको पक्षमा ३२.७७ प्रतिशत मत झरेको थियो। माओवादीको पक्षमा प्रत्यक्षमा भन्दा कम अर्थात् १३.६५ मत आएको थियो।

माधव नेपाल नेतृत्वको समूहले नयाँ पार्टी खोलेको तथा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन पनि रहेको अवस्थामा त्यो १६ प्रतिशत एमालेले कसरी थप्न सक्छ त?

त्यो १६ प्रतिशत भनेको २०७४ मा माओवादीले प्रत्यक्षतर्फ ल्याएको १५.०३ प्रतिशतभन्दा पनि धेरै हो। माधव नेपालले गत वर्ष साउनमा नयाँ पार्टी बनाउँदा एमालेको करिब ९ प्रतिशत जनमत लिएर गएका थिए।

यो स्थानीय तह निर्वाचनमा पनि उनले नेतृत्व गरेको एकीकृत समाजवादीले ३ प्रतिशतभन्दा बढी मत ल्याएका छन्। स्थानीय तह निर्वाचनमा एक्लै लडेको एमालेले लोकप्रिय मत (३४ प्रतिशत) ल्याएको दाबी गरिरहेको छ।

चौथो केन्द्रीय कमिटी बैठकबारे र ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको विषयमा सोमबार काठमाडौंमा आयोजित अन्तरसंवादमा पनि एमाले महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनमा एमालेकै लोकप्रिय मत आएको दाबी गरे।

’मिडियाले वडाअध्यक्षको मत हिसाब गरेर कांग्रेसलाई ठूलो बनाइदिएछन्। तर खासमा लोकप्रिय मतका हिसाबमा अहिले एमाले नै पहिलो दल हो’, उनले भने, ’अबको आमनिर्वाचनमा हामी यो लोकप्रिय मतलाई कायमै गर्दै बहुमतको योजनातिर लागिरहेका छौँ।’

उनले वडाअध्यक्षको मतलाई लिएर मात्रै कांग्रेसलाई ठूलो दल भन्नु गलत हुने बताए। ’अध्यक्ष–उपाध्यक्ष, मेयर–उपमेयर र सातवटै पदको मत हेर्दा पनि एमाले नै ठूलो पार्टी हो’, उनले भने, ’लोकप्रिय मत एमालेको पक्षमा छ।’

पोखरेलले नेपाली कांग्रेस र माओवादी दुवैले चुनावमा एमालेसँग एक्ला एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको पनि जिकिर गरे।

’एमालेसँग भिड्न पाँच दल बाहिरका पनि शक्तिलाई ल्याउने कोसिस कांग्रेसले गरिरहेको छ’, उनले भने, ’आगामी आमनिर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिका रुपमा हुनेछ।’

उनले नेपालका पुराना राजनीतिक दलमध्ये एउटा कांग्रेसले नीतिगत सामर्थ्य गुमाइसकेको तर्क पनि गरे। ’कांग्रेसले नीतिगत सामर्थ्य गुमाइसकेको छ’, उनले भने, ’एमाले नीतिगत नेतृत्वका माध्यमबाट समृद्धिको नेतृत्व गर्न चाहन्छ।’

स्थानीय तह निर्वाचनको ३४ प्रतिशत मतमा आगामी निर्वाचनमा १६ प्रतिशत थप्ने योजनाअन्तर्गत एमालेले ११ लाख संगठित सदस्यबाट दुई दुई मत बढाउने योजना बनाएको छ।

तर महासचिव पोखरेलले ८ लाख मात्रै संगठित सदस्यको हिसाब पत्रकारहरुलाई सुनाए।

’५० प्रतिशत मत पु¥याउने सन्दर्भमा १६ प्रतिशत मतको अभाव भनेर हाम्रा अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ’, महासचिव पोखरेलले भने, ’त्यो १६ प्रतिशत मत वृद्धि भनेको शतप्रतिशत विजय हाँसिल गर्ने कुरा हो। अहिले हामी बहुमतको कुरा गरिरहेका छौँ। बहुमत ल्याउन सबै संगठित सदस्यका माध्यमबाट भोट वृद्धि गर्दा पर्याप्त हुन्छ।’

पोखरेलले अहिलेको अवस्थामा अन्य राजनीतिक दलहरूसँग प्रतिस्पर्धा गर्दा ६ प्रतिशत हाराहारी मत बढाए बहुमत ल्याउन सकिने तर्क गरे।

’अहिलेलाई हामीले ६ प्रतिशत म बढाउन सकेमा मात्रै पनि बहुमत ल्याउन सकिन्छ भन्ने हो। तर योजना बनाउँदा हामीले ६ प्रतिशत मात्रै होइन, अतिरिक्त मत वृद्धि गर्ने योजना बनाएका छौँ’, उनले भने, ’हरेक पार्टी सदस्यले जम्मा दुई मत बढायो भने एमालेको बहुमतको सरकार बन्छ।’

यसअघि एमाले केन्द्रीय कमिटी बैठकपछि पनि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दशौँ महाधिवेशनपछि पार्टी सदस्य संख्या ११ लाख पुगेको दाबी गर्दै व्यवस्थित अभियान चलाउन सके १८ लाख मत थप्न सकिने जिकिर गरेका थिए। त्यसका लागि हरेक मतदाताका घरमा पार्टीका संगठित सदस्य र कार्यकर्ता पठाउने योजना एमालेले बनाएको छ।

सत्ता गठबन्धन र विपक्षी गठबन्धनको चुनावी तालमेल तथा गठबन्धनको चुनाव जित्ने होडबाजी ।

सत्ता गठबन्धन र विपक्षी गठबन्धनको चुनावी तालमेल तथा गठबन्धनको चुनाव जित्ने होडबाजी ।♦

कुल प्रसाद बगाले थापा
२०७९/०६/२५
सोमबार

कमल-०५ , झापा
नेकपा एमालेले अहिले गठबन्धन भने कुनै पार्टीसँग गरेको छैन र विपक्षी तालमेल चै गरेको छ जहाँ राजेन्द्र लिङ्ग्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी ,कमल थापाको नेपाल प्रजातन्त्र पार्टी ,उपेन्द्र यादवको जनता समाजवादि पार्टी र बि.पि. कांग्रेस एउटै धरातलमा रहेर चुनाव लड्ने भएको हो ।रा. प्र. पा. को सिद्धान्त हिन्दु राष्ट्र र राजतन्त्र भएता पनि यो सिद्धान्तलाई नेकपा एमालेका धेरै नेता कार्यकर्ताहरुले आत्मसात गरेको पाइएन ।अब वास्तविक चुनावको अभियान जुटिरहेको यी दुई विशेष गठबन्धनको एसपाली एकदमै ठुलो भिडन्त नहोला भन्ने कुरामा कुनै दुई मत छैन । अब यथार्थ रूपमा स्पष्ट नतिजा अनि चुनावपछिको सरकार कसको बन्नेछ भन्नलाई अब हामी नेपाली जनताले मङ्सिर ४ नै कुर्नुपर्ने हुन्छ ।

एकपट्टी सत्ता गठबन्धनमा शेर बहादुर देउवाको नेपाली कांग्रेस , पुष्पकमल दाहाल प्रचण्डको माउवादी केन्द्र , माधवकुमार नेपालको एकीकृत समाजवादि जुन माउवादी केन्द्रबाट फुटेको हो , राष्ट्रिय जनमोर्चा पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लो. स. पा. ) छन् । यिनीहरु एउटै धरातलमा उभिएर गठबन्धन गरेर सँगै चुनाव लडेर आफ्नो एकलौटी बहुमतको सरकार बनाउने दाउमा जुटेका छन् ।यिनीहरुको गठबन्धनको वेग्लावेग्लै पार्टीको फरक फरक सिधाान्त बोकेता पनि के.पि. शर्मा ओलिसँग भित्री मनमोटाब र चिसोपना भएको हुनाले यिनीहरु एकजुट भएर नेकपा एमालेलाई हराउन एकदमै लागि परेर चुनावी अभियानमा लागेका छन् ।

राष्ट्रपति बिद्या देबि भण्डारीलाई कोरोना संक्रमण पुष्टि

२४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चिकित्सकका अनुसार हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो ।

चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।
राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

आज कोजाग्रत पूर्णिमा, जागै बस्ने रात !!

काठमाडौं :  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ। माता दुर्गाका तीन रुप मध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।

महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ। यसैगरी सौभाग्य, सम्पत्ति, श्रेयप्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ। आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याई गरिन्छ। आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ। आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ। कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ।

 

निर्वाचन आयोग- उम्मेदवारी मनोनयन दर्ताको समय थप हुँदैन ?

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ ।

एमाले उपाध्यक्ष शाक्यले प्रतिनिधिसभाको निर्वाचन नलड्ने ?

काठमाडौं :  नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर शाक्यले आफू निर्वाचन नलड्ने बताउँदै विकल्प खोज्न भन्नुभएको हो । कुराकानीका क्रममा उपाध्यक्ष शाक्यले आफूमा उम्मेदवारको आकाङक्षासमेत नरहेको बताउनुभयो ।

उहाँले एउटै व्यक्ति पटक पटक चुनाव लड्ने, मन्त्री र प्रधानमन्त्री बन्ने परिपाटीले जनता दिक्क भएको भन्दै अब पूराना होइन नयाँलाई अवसर दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले शाक्यलाई काठमाडौँ–८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी गर्नुभएको थियो ।

देउवासँगै भिड्न आए कर्ण मल्ल !!

देउवासँगै भिड्न आए कर्ण मल्ल

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक चुनाव लड्दैछन् । ०४८ को चुनाव जितेपछि एकैपटक गृहमन्त्रीको जिम्मेवारी पाएका देउवाले त्यसपछि राजनीतिकरुपमा कहिल्यैपछि फर्किएर हेर्नुपरेको छैन । डडेल्धुराबाट निरन्तर छ पटक चुनाव जित्दा उनी पाँच पटक त प्रधानमन्त्री नै भइसकेका छन् । तर, यसपटकको चुनावमा भने देउवाका लागि नयाँ स्वाद मिल्ने देखिएको छ ।

चुनावी परिणाम कसको पक्षमा पर्छ ? अनुमान लगाउनु हतारो हुन्छ । तर, यसपटकको चुनावी दृश्य भने विगतको भन्दा निकै फरक बनेको छ ।

विगतका निर्वाचनमा तीन पटकसम्म देउवाको निकटतम प्रतिस्पर्धी रहेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट यसपटक देउवाको लागि भोट माग्ने भएका छन् भने दुई दशकसम्म देउवाकै चुनावी कमाण्डर बनेर काम गरेका कर्णबहादुर मल्ल प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

हाल बीपी कांग्रेसको वरिष्ठ उपाध्यक्ष रहेका मल्लले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने उनलाई नेकपा एमालेले पनि समर्थन दिएको छ । डडेलधुरामा स्थानीय तहको निर्वाचनमा पनि बीपी कांग्रेस र एमालेको चुनावी तालमेल भएको थियो । लामो समयसम्म देउवाको सहयोगी भएर राजनीति गरेका मल्ल कांग्रेस डडेलधुराको दुई पटक सभापति भइसकेका नेता हुन् ।

पार्टीको १४ औँ महाधिवेशनमा डडेलधुराको क्रियाशील सदस्यता नवीकरण र वितरणमा देउवासँग विवाद भएपछि देउवा पक्षले मल्ललाई बाहिर राखेर अधिवेशन गरेको थियो । मल्लले विधिविपरीत भएको अधिवेशन सच्याउन माग गर्दै डडेलधुरादेखि केन्द्रीय कार्यालयसम्म समेत गरी महिनौँसम्म आन्दोलन, धर्ना र अनसन गरे । तर, उनको माग सुनुवाइ भएन ।

स्थानीय तहमा कांग्रेसविरोधी गतिविधि गरेपछि मल्ललाई देउवाले कांग्रेसको साधारण सदस्यबाट समेत निष्कासित गरे । त्यसपछि मल्ल बीपी कांग्रेसको केन्द्रीय वरिष्ठ उपाध्यक्ष मनोनीत भएका हुन् । स्थानीय निर्वाचनमा देउवाविरुद्व गतिविधि गरेका मल्ल कांग्रेसबाट निकालिएपछि अन्ततः प्रतिनिधिसभा सदस्यकालागि देउवाविरुद्व उम्मेदवारकै रुपमा उभिने भएका छन् । देउवालाई कमजोर पार्न एमालेले पनि मल्ललाई समर्थन दिएको छ ।

डडेलधुराको राजनीतिमा ०४८ सालपछि देउवाको एकलौटी छ । उनले ०४८ देखि हालसम्मका सबै चुनाव जितेका छन् । तर, यसपटक देउवा र उनकै पूर्व चुनावी कमाण्डरबीचको प्रतिस्पर्धा विगतको भन्दा रोचक बन्न सक्ने देखिएको छ ।

देउवा र मल्लको चुनावी आधार एउटै हो । मल्ल आफैँले विगतमा बनाएको संगठनको साथ पाउने अपेक्षामा छन् भने देउवा पनि उही कांग्रेसको संगठनको । यद्यपि यसपटक देउवालाई विगतका प्रतिस्पर्धीको भने साथ छ । विगतको आफ्नै विश्वासपात्र आफूविरुद्व खडा हुँदा देउवालाई प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रको भने साथ छ ।

डडेलधुरामा कांग्रेसपछि ठूलो दल नेकपा माओवादी केन्द्र नै हो । देउवासँग निरन्तर तीन पटक चुनाव हारेका माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका नेता भट्ट गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिँदैछन् । उनी ०६४ पछि देउवासँग निरन्तर पराजित हुँदै आएका छन् ।

भट्टले ०७४ मा एमालेसँग तालमेल हुँदा सबैभन्दा धेरै भोट २१ हजार ४९८ ल्याए । तर, त्यति हुँदा पनि देउवाले ६ हजार ९४८ मतान्तरले जिते । देउवाले २८ हजार ४४६ मत ल्याएका थिए । देउवाले भट्टलाई ०७० मा ११ हजार ५८८ र ०६४ मा एक हजार ३६२ मतान्तरले चुनाव जितेका थिए ।

जिल्ला सभापति भइसकेका मल्लसहित नेताहरू कांग्रेसबाट निकालिएपनि स्थानीय तह निर्वाचनको परिणाम कांग्रेसलाई खासै असर परेको छैन । वडाध्यक्षको मतको आधारमा डडेलधुरामा कांग्रेसको मत २१ हजार ७३५ छ भने माओवादी केन्द्रको मत १२ हजार ८७८ छ ।

जिल्लामा तेस्रो शक्ति रहेको नेकपा एमालेको मत १० हजार ४४९ मात्रै छ । एमाले विभाजित भएर गठित नेकपा एकीकृत समाजवादीको ५ हजार ४१ मत पाएको छ भने बीपी कांग्रेसले ३ हजार ६०४ मत पाएको छ । यो परिणाम हेर्दा सत्ता गठबन्धनको साझा उम्मेदवार देउवाको पक्षमा ३९ हजार ८१० मत देखिन्छ भने एमाले–बीपी कांग्रेस गठबन्धनको १४ हजार ५३ मत छ । मल्लनिकट नेताहरू भने देउवाविरुद्वको विद्रोहलाई महत्व दिनुपर्ने बताउँछन् । मल्ल आफैँ उम्मेदवार भएका कारण यो चुनावको परिणाम फरक हुने दाबीसमेत उनीहरूको छ ।

‘उहाँले डडेलधुरामा देउवाको उत्तराधिकारकोरुपमा काम गर्नुभएको हो, उहाँ आफैँ मैदानमा हुँदा परिणाम फरक पर्छ,’ मल्लनिकट एक नेताले भने, ‘डडेलधुरामा देउवाको पक्षमा पहिलेजस्तो जनलहर छैन ।’

अहिले चुनावी मैदानमा प्रतिस्पर्धी बनेका देउवा र मल्लबीच गुरू र शिष्यको सम्बन्ध छ । मल्ल देउवालाई राजनीतिक गुरूको रुपमा मान्छन् । युवा उमेरका मल्लको क्षमता देखेपछि ०४८ को निर्वाचनताका देउवाको नजर परेको थियो । त्यहीबेला देखि देउवा–मल्ल दुरी नजिकियो ।

मल्लले देउवा गृहमन्त्री हुँदा सचिवालयमा नियुक्ति पाए । देउवा दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा उनी निजी सचिव नै भए । त्यसयता निरन्तर मल्लले देउवाको राजनीतिक सहयोगी र विश्वासपात्रका रूपमा काम गरे । ०६७ सालमा पार्टीको १२ औं महाधिवेशनबाट सभापति देउवाकै समर्थनमा जिल्ला सभापति बनेका मल्ल ०७२ मा भएको १३ औं महाधिवेशनबाट पुनः सभापतिमा दोहोरिए ।

१२ औं महाधिवेशनमा सर्वसम्मत जिल्ला सभापति बनेका उनीविरुद्ध डडेलधुरामा देउवा समूहकै अर्को गुट खडा भएको थियो । १३ औँ महाधिवेशनमा उनले २ भोटले सभापति जितेका थिए ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी !!

काठमाडौँ, असोज २० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिएकसँगै राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त छन् ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको राससले जनाएको छ ।

यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्काे उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै असोज २२ गते उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने तथा कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय