अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने
विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ। २०७९/०८०को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप छ।
ती आरोपबारे छानबिन गर्न समिति बन्न लागेको हो।
यसैबीच अर्थमन्त्री शर्माले आफूमाथि लागेका आरोपबारे बुधबारको संसद बैठकमा बोल्ने भएका छन्।
बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा भएको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा शर्माले संसदमा आफ्ना कुरा राख्ने बताएका थिए।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने अर्थमन्त्री शर्मालाई आज संसदमा बोल्न नदिने बताएको छ। अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको भन्दै बोल्न नदिने एमालेले निर्णय गरेको हो।
अर्थमन्त्रीलाई संसदमा आज कुनै हालतमा बोल्न नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए।
‘हामी अर्थमन्त्रीलाई बोल्न दिँदैनौं। संसदमा नाराबाजी हुन्छ। उहाँले बोल्ने आधार गुमाइसक्नुभएको छ,’ उनले भने,’माओवादीले वार्ता गर्ने हो भने उच्च तहमा गर्ने होला। हामी अर्थमन्त्रीसँग भने वार्ता गर्दैनौं।’
विवादित व्यवसायी पुनलाई मन्त्री आलेले किन बनाए हङकङको पर्यटन दूत?
हङकङबासीलाई नै तिन छक पार्नेगरी निर्माण र सेक्युरिटी क्षेत्रमा काम गरिरहेका हङकङका विवादास्पद व्यवसायी तेजप्रकाश पुनलाई ‘एक्सन मन्त्री’ प्रेम आलेले ‘पर्यटन दूत‘ कसरी चयन गरे?
मन्त्रीबाट विदा हुनु केही साताअघि मात्र आलेले गरेको यो निर्णय हङकङमा निकै चर्चामा छ, जसबारे नेपालखबरले गरेको खोजीनितीपछि प्राप्त सूचना आश्चर्यमा पार्ने खालको छ।
पर्यटन मन्त्रालय स्रोतको भनाइमा सो पदवी पाउन पुनले प्रेम आलेसँग निकै हिमचिम बढाएका थिए। आर्थिक लेनदेनमा खप्पिस आलेले नामका लागि जति पनि खर्चन सक्ने पुनको बानीबेहोरा बुझेपछि पुनसँग उनको मेल सम्भव भएको स्रोत बताउँछ।
पर्यटन मन्त्रालय सम्वद्ध एक अधिकारी भन्छन्, ‘मन्त्री आलेले राम्रै भेटी बुझेर पुनलाई हङकङको पर्यटन दूतको पदवी दिएको हुनुपर्छ।’
मन्त्रालय स्रोतले नेपालखबरलाई दिएको जानकारी अनुसार मन्त्री आलेले पुनलाई हङकङका लागि पर्यटन दूत नियुक्त गर्दा न मन्त्रालयमा छलफल गरे, न यो प्रस्ताव मन्त्रिपरिषदमै लगे। तर, उनले मन्त्रालयको लेटरप्याडको पत्र संख्या ३०२ मा ‘१० जुन २०२२ मा भएको मन्त्रीस्तरीय निर्णय’ भन्दै पुनलाई हङकङका लागि ११ जुनदेखि लागू हुनेगरी दुई वर्षका लागि पर्यटन दूत नियुक्त गरिएको पत्र बनाइदिएका छन्।
नियुक्ति पत्रमा हङकङमा नेपाली पर्यटनको श्रीवृद्धिका लागि उनलाई मन्त्रालयले नियुक्त गरेको जनाइएको छ। पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको योजना तथा वैदेशिक सहायता शाखाका अधिकृत प्रकाश दुलालले हस्ताक्षर गरेका छन्। हामीले दुलाललाई पत्रबारे विस्तृत कुराकानी गर्न खोजेका थियौँ। तर, यसबारेमा आफूलाई भन्दा मन्त्रालयका प्रवक्तालाई सोध्न भन्दै उनी पन्छिए।
चोरबाटोबाट गरिएको निर्णयका कारण हुनसक्छ, नेपालखबरले प्राप्त गरेको पत्र कतिसम्म गोप्य राख्न प्रयत्न गरिएको छ भने पदवी पाउने पुन र उनका व्यावसायिक साझेदार तथा श्रीमती टीका (राधिका) गुरुङ (जो एनआरएनए महिला विभागको अन्तर्राष्ट्रिय सचिव तथा हङकङको निवर्तमान अध्यक्ष हुन्) ले सामाजिक सञ्जालमा हर्षपूर्वक लेखेको स्टाटसमा समेत पत्र राखेकी छैनन्। पुन दम्पतीद्वारा विभिन्न सञ्चारमाध्यममा लेखाइएका प्रायोजित समाचारमा समेत पत्र छापिएको छैन।
दम्पतीले सामाजिक सञ्जालमा आफैँले आफैँलाई बधाई दिएपछि म्याग्दी जिल्लाबासीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तर्राष्ट्रिय सञ्जालका संरक्षक लगायतका आधा दर्जन संस्थामा आवद्ध पुनलाई बधाईको ओइरो लागेको छ। बधाई दिने र समाचार लेखिदिने पत्रकारहरुलाई उनले एकएकगरी कृतज्ञता ज्ञापन गरेका छन्।
सधैँ विवादमा रहिरहन रुचाउने आलेको अन्य विवादास्पद नियुक्तिजस्तै हङकङका लागि एकल अधिकार प्रयोग गरी उनले गरेको पर्यटन दूतको नियुक्ति पनि विवादरहित किन देखिएन भने यो औपचारिक प्रक्रिया बाहिरबाट गरिएको छ।
हङकङका लागि गरिने हरेक सरकारी निर्णयको आधिकारिक जिम्मा र जानकारी त्यहाँस्थित महावाणिज्यदूतावासलाई हुनुपर्दछ। तर यो रिपोर्ट तयार पार्दासम्म महावाणिज्यदूतावास हङकङलाई यो पत्रबारे कुनै जानकारी दिइएको छैन, न त अन्य सरोकारवाला संस्थाहरुलाई नै यसबारे जानकारी प्राप्त भएको छ। जबकि पत्रमा ‘महावाणिज्यदूतावास, एनआरएनए, ट्राभल व्यवसायी, मिडिया, कूटनीतिक नियोग र सम्बन्धित संस्थाहरुसँग सहकार्य गरी पर्यटन प्रवर्द्धनमा काम गर्न’ उनको नियुक्ति भएको भनिएको छ।
पुन दम्पतीले हङकङस्थित नेपाली महावाणिज्यदूत उदय राना मगरको सिफारिसमा आफू पर्यटन दूतमा नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा रानालाई समेत कृतज्ञता टक्र्याउन भ्याएका छन्, तर मन्त्रालयको रेकर्डमा हङकङ महावाणिज्यदूतावासबाट पुन वा अन्य कुनै व्यक्तिलाई पर्यटन दूत सिफारिस गरिएको कुनै पत्र भेटिँदैन।
उसोभए पुन दम्पती किन झुटो प्रचार गरिरहेका छन्? यसको जवाफ पुनको पदचाप नपछ्याई पाउन सकिँदैन।
जहाँ हात हाल्यो, त्यहीँ विवाद
काठ तस्करीको आरोपबाट अझै मुक्त हुन नसकिरहेका आले जसरी आर्थिक लेनदेनका निम्ति बदनाम छन्, त्यो भन्दा बढी हङकङका पुनले बदनामी कमाएका छन्। एनआरएनएका संस्थापक कोषाध्यक्ष समेत रहिसकेका बेलायती सेनाका भूतपूर्व जवान पुनले नब्बेको दशकमा हङकङमा कन्स्ट्रक्सन र सेक्युरिटी सर्भिसबाट अकुत सम्पत्ति कमाएका थिए।
त्यतिबेला ‘ब्ल्याकमेलिङ पत्रकारिता’ मा कुख्याती कमाएका एकजना सञ्चारकर्मीको सहयोगमा उनले ठूलो रकम तिरेर वीरेन्द्र ऐश्वर्य सेवा पदक–२००२ र सुप्रबल गोरखा दक्षिण बाहु तेस्रो– २००४ हात पारेको उनैले सगर्व आफ्ना नजिककाहरुलाई सुनाउने गरेको हङकङबासी धेरैलाई थाहा छ।
चर्चामा रहन सधैँ केही न केही ‘स्टन्ट’ गरिरहने पुनले २०७४ सालमा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ करोड उठाइदिन्छु भन्दै महावीर पुनलाई डाकी भव्य ‘च्यारिटी डिनर‘ आयोजना गरेका थिए हङकङमा। त्यसका निम्ति उनले स्थापना गरेको हङकङ नेपाल व्यापार संघलाई अगाडि सारेका थिए। त्यतिबेला २ करोड रुपैयाँ संकलन भएको उनैको संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
तर, दुई करोड उठेको भने पनि हालसम्म जम्मा ४० लाख रुपैयाँ मात्र आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको भनाइ छ। त्यतिबेला उठेको रकम केन्द्रमा बुझाउन अनेक पटक ताकेता गर्दा पनि ‘भोलि भोलि’ भन्दै अहिलेसम्म बुझाइएको छैन।
ताकेता गर्ने मोनाकै एकजना सदस्य भन्छन्, ‘अहिलेसम्म त त्यो पैसाको ब्याज नै लाखौँ उठिसक्थ्यो।’
पुनले हात हालेका आयोजना कुनै पनि विवादरहित छैनन्। उनको पारिवारिक संस्था हङकङ व्यापार संघले महावाणिज्यदूतावास नेपाल र हस्तकला महासंघ नेपालसँग सहकार्य गरी निकै तामझाम सहित २०१७ मा राखेको २ दिने हङकङ–नेपाल व्यापार मेला नराम्ररी असफल भएको थियो।
त्यतिबेला हस्तकला महासंघको अगुवाइमा नेपालबाट लगिएका २५ जना हस्तकला व्यापारीहरुले नबिकेका सामग्री कौडीको भाउमा बेचेर फर्कनु परेको तितो अनुभव उनीहरुसँग छ।
त्यसरी नराम्रो अनुभव संगालेर फर्किएका पाटनका हस्तकला व्यवसायी सुरेन्द्रमान शाक्य भन्छन्, ‘त्यो मेलामा नेपाली उत्पादन देखाउने काम मात्र भयो। व्यापार नै भएन। अन्तिममा टिठ लागेर होला नेपाली दाजुभाइदिदीबहिनीहरुले अलिअलि किनेर सहयोग गरिदिनु भयो।’
त्यतिबेला नेपाल च्याम्बर अफ कमर्स, हङकङलाई बाइपास गरी कार्यक्रम आयोजना गरिएको भन्दै च्याम्बरसँग आवद्ध व्यवसायीहरुले मेला ‘बहिष्कार’ गरेका थिए।
लिबियामा नेपाली कामदार लगेर बिचल्ली पारेको र तिनलाई यातना दिएको कुख्यात घटनामा पुन दम्पती संलग्न रहेको खोजपत्रकारिता केन्द्रले सन् २०१० माप्रकाशित गरेको रिपोर्टमा उल्लेख छ। त्यसपछि केही वर्ष बेलायतमा भूमिगत जीवन बिताएका पुन ५ वर्षदेखि हङकङमा फर्किई पुरानै व्यवसायलाई निरन्तरता दिन खोजिरहेका छन्।
हङकङेली नेपाली समाजले पुनको इतिहासलाई बिर्सेर उनलाई समाजमा फर्कन निकै सहयोग गरे पनि माथिका प्रकरणले उनको ‘लागेको बानी’ अझै सुधार नभएको देखिन्छ। यसरी आफ्नो सामाजिक आनीबानीमा सुधार गर्न नचाहने एक जना विवादास्पद व्यवसायीलाई हङकङमा देशको नेतृत्व गर्दै पर्यटन दूत बनाउँदा त्यो पदको दुरुपयोग भयो भने के हुन्छ?
विवादास्पद निर्णय गर्ने विवादित मन्त्री आले जिम्मेवारीबाट हटिसकेपछि उनको स्थान जीवनराम श्रेष्ठले लिइसकेका छन्। उता हङकङको सम्बन्धित निकाय महावाणिज्यदूतावासले समेत आफूहरुलाई यसबारे कुनै जानकारी नभएको बताइरहेको सन्दर्भमा यस्ता निर्णयको जिम्मेवारी कसले बोक्ने?
अर्थमन्त्रालयमा अनैतिक व्यक्ति घुसाएर केही घरानाको अनुहार हेरेको ओलीको आरोप
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केही घरानालाई फाइदा हुनेगरी करका दर हेरफेर गरिएको बताए।
उनले अर्थमन्त्रालयमा अनैतिक व्यक्ति घुसाएर घरानाको अनुहार हेरेको आरोप लगाए।
‘यसमा घरानाका अनुहार देखिन्छ। यसरी अनुहार हेरेर निश्चित घरानाबाहेक अरुलाई सुकाउने गरी बजेट किन बनाइयो?,’ संसदबाट उनले प्रश्न गरे,‘यस्तो बजेट बनाउनका लागि अर्थमन्त्रालयका मानिसहरु, कर्मचारीहरु परिचालित गरिए।’
उनले करका दर हेरफेर जानीबुझी गरिएको बताए। उनले यो देशकैलागि दुभाग्य भएको बताए।
‘अनाधिकृत मानिस राखेर, सेटिङ गरेर कुन उद्योगलाई छुट दिने कुनलाई सुकाउने गरी योजनाबद्ध प्लटिङ गरिएको छ,’ उनले भने,‘प्रश्न गर्दा प्रतिपक्षलाई धम्काएको छ।’
काठमाडौं एक : प्रकाशमानका घेराबन्दी अनेक
यहाँ चर्चा गर्न खोजिएको काठमाडौं क्षेत्र नम्बर १ बाट संसदीय चुनाव लड्ने तयारी गरिरहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको हो। तर, चर्चा सुरु गरौँ– प्रकाशमानका पिता स्व. गणेशमान सिंहको प्रसंगबाट।
नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहले ०५१ भदौ ३१ गते पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग द्वन्द्व चर्किएपछि सिंहले त्यस्तो अप्रिय निर्णय लिएका थिए।
कांग्रेसमा आन्तरिक द्वन्द्व चर्किनुको मुख्य कारण थियो– ०४८ सालको आम निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारका कामकारबाही।
प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो आम निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ११० स्थानमा जित निकालेको थियो। पार्टीले बहुमत प्राप्त गरेपछि तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए।
सरकारका कामकारबाहीलाई लिएर सर्वोच्च नेता गणेशमान सिंह र प्रधानमन्त्री कोइरालाबीच असमझदारी बढेको थियो। त्यही असमझदारी नै पछि गएर सिंहको पार्टी परित्यागको कारण बन्यो।
सिंहले मौखिक तथा लिखित रुपमा तत्कालीन सरकारलाई सुझाव दिन्थे, आलोचना पनि गर्थे। तर, प्रधानमन्त्री कोइरालालाई सिंहको सुझाव र आलोचनाले कुनै फरक पर्दैनथ्यो। उनी आफ्नै ढंगले अघि बढ्थे। आफूलाई सर्वमान्य नेता भनिए पनि पार्टीमा आफ्ना कुरा नसुनिएपछि सिंह असन्तुष्ट बनेका थिए।
०५१ भदौ २८ गते प्रकाशित अखबार उद्धृत गर्दै डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (भाग–९)’ मा लेखेअनुसार कोइरालाले प्रतिनिधिसभा विघटन गरेपछि सिंहले यसो भनेका थिए–
‘…म किन पार्टीमा बस्ने? पार्टीमा मेरो कुनै महत्व छैन। कुनै दरकार छैन। अपमान, अपमान, त्यसपछि फेरि अपमान। भनेको एउटै कुरो हुँदैन। सहमति भएको कुरा पनि पालना हुँदैन। मानिस नेपाली कांग्रेसको सरकार छ भन्छन्। मलाई सर्वोच्च नेता भन्छन्। जवाफ मैले दिनुपर्ने, अपजस मैले भोग्नुपर्ने, तर कामचाहिँ मनपरी हुने। म किन बसूँ पार्टीमा?’
अब गणेशमानका छोरा प्रकाशमान सिंहको चर्चा गरौँ –
‘ह्याट्रिक’को कथा
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचनको तयारी चलिरहेको थियो। नेपाली कांग्रेसका नेताहरु आफूले लड्दै आएको निर्वाचन क्षेत्रका मतदाता आ–आफ्नो पक्षमा पार्न प्रयासरत थिए।
राजधानी काठमाडौँको मुटुमा रहेको निर्वाचन क्षेत्र नम्बर १ मा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला लड्ने गाइँगुइँ चल्यो।
२०४८ पछिको उपनिर्वाचनमा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई हराउँदा अन्तरघात गर्ने कांग्रेसका मतदाताको बाहुल्य रहेका कारण पनि यो क्षेत्र गिरिजाप्रसाद कोइरालाका लागि छुट्टयाइएको पार्टीकै नेता–कार्यकर्ताहरु बताउँथे।
०४८ र ०५१ का दुईवटा संसदीय निर्वाचनमा पराजय बेहोरिसकेका नेता प्रकाशमान सिंह पनि ०६४ को संविधानसभा चुनावमा सुरक्षित स्थानको खोजीमा थिए। तर, क्षेत्र नम्बर १ बाट तत्कालीन प्रधानमन्त्री कोइराला उठ्ने हल्ला सुनेर उनी निर्णयमा पुग्नसकेका थिएनन्।
एक दिन सिंह समय मागेर कोइरालालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे। उनले काठमाडौँ–१ मा आफूले निर्वाचन लड्न चाहेको कुरा प्रधानमन्त्री समक्ष राखे। कोइरालाबाट सकारात्मक संकेत पाएपछि उनी बालुवाटारबाट फर्किए। र, निर्वाचनको तयारीमा जुटे। पार्टीले प्रकाशमानलाई काठमाडौँ–१ को उम्मेदवार बनायो।
टिकट लिएर काठमाडौँ–१ मा गए पनि उनलाई तत्कालीन संस्थापन पक्षीय नेता–कार्यकर्ताहरुले सजिलै स्वीकारेनन्। कांग्रेसकै नेता–कार्यकर्ताहरुले भने– ‘प्रकाशमान हारमा ‘ह्याट्रिक’ गर्न यहाँ आए।’
कारण थियो– २०४८ र २०५१ मा उनले निर्वाचनमा बेहोरेको पराजय। प्रकाशमानले २०४८ मा नेकपा एमालेका साहना प्रधान र २०५१ मा मनमोहन अधिकारीसँग पराजय भोगिसकेका थिए।
उनले २०४८ मा काठमाडौँ–४ बाट प्रधानसँग र २०५१ मा अधिकारीसँग काठमाडौँ–३ बाट प्रतिस्पर्धा गरेका थिए। २०४८ मा प्रकाशमानले १९ हजार ५०४ मत पाउँदा विजयी साहना प्रधानको पक्षमा २८ हजार ६८० मत खसेको थियो।
यस्तै, २०५१ मा अधिकारी १५ हजार ६९२ मतका साथ विजयी हुँदा उनले ११ हजार ३७८ मत प्राप्त गरेका थिए। २०५१ मा अधिकारी काठमाडौँ–१ बाट पनि देशभर नै सर्वाधिक मत ल्याएर विजयी भएका थिए।
पार्टीभित्रैका नेता–कार्यकर्ताले हारमा ‘ह्याट्रिक’ गर्न आएको भनिएका प्रकाशमानले अहिले काठमाडौँ–१ बाट जितमा ‘ह्याट्रिक’ गरिसकेका छन्। उनी ०६४ र ०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा लगातार तीनपटक काठमाडौं १ बाट विजयी भइसकेका छन्।
तर, आउँदो निर्वाचनमा प्रकाशमानलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाविरोधी कांग्रेसकै कार्यकर्ताबाट ‘खतरा’ बढेको छ। १४ औँ महाधिवेशनमा देउवालाई सघाएपछि इतर समूह उनीसँग असन्तुष्ट छ।
निरन्तर घेराबन्दी, तर वर्चस्व
प्रकाशमानलाई काठमाडौँ १ मा ०६४ देखि नै पार्टीभित्रबाट आन्तरिक असहयोग हुँदै आएको हो। जसको नेतृत्व गरेका थिए नेता हरिबोल भट्टराईले। २०५६ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका भट्टराईले मात्र २६ मत पाएका थिए। त्यसअघि उनी २०५१ मा पनि यो क्षेत्रमा निर्वाचन लडेका थिए। २०५१ मा उनले एमालेका मनमोहन अधिकारीसँग प्रतिस्पर्धा गरेका थिए। अधिकारी २५ हजार ६२७ मत ल्याएर विजयी हुँदा भट्टराईले कांग्रेसबाट १३ हजार ६४८ मत पाएका थिए।
पछिल्लो ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि प्रकाशमानसँग प्रतिस्पर्धामा उत्रिएका भट्टराईले १९६ मत पाए।
पार्टीकै केही नेता–कार्यकर्ताको असहयोग रहँदारहँदै पनि प्रकाशमान काठमाडौँ–१ मा कम्युनिस्टको लालकिल्ला तोड्न सफल भए। कम्युनिस्टसँग लगातार हार्दै आएको कांग्रेस ०६४ मा भारी मतका साथ विजयी भएको थियो।
उक्त निर्वाचनमा साविक विजेता प्रदीप नेपालले ६ हजार ७८९ मत पाउँदा प्रकाशमानले १४ हजार ३१८ मत ल्याएका थिए। भर्खर खुला राजनीतिमा आएको माओवादीका राममान श्रेष्ठले ४ हजार ८३६ मत र राप्रपा नेपालले १ हजार ४२ मत पाएका थिए।
२०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ–१ मा गणेशमान सिंहका छोरा र प्रचण्डकी छोरीबीच चुनावी प्रतिस्पर्धा भयो। प्रकाशमानले रेनु दाहाललाई हराउँदै दोस्रोचोटि बाजी मारे। प्रकाशमानले १५ हजार १३८ मत पाउँदा रेनुले ४ हजार ६४ मत पाएकी थिइन्। १० वर्षअघिसम्म बर्चस्व कायम गरेको एमाले दोस्रो स्थानमा समेत आउन सकेन।
पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा प्रकाशमानले काठमाडौँ–१ बाट तेस्रोपटक चुनाव जिते। तर, उनलाई विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले आच्छुआच्छु पारिदिए।
प्रकाशमानले १० हजार ९३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्र थियो। माओवादीबाट अनिल शर्माले टिकट पाएका थिए। उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भए। एमालेले माओवादीसँग गठबन्धन गरेर शर्मालाई सघाएको थियो।
काठमाडौँ–१ मा एमाले कमजोर देखिएको छ। २०७० सालमा रेनु दाहाल उठेका बेला कमजोर उम्मेदवार उठाएर भित्रीरुपमा प्रकाशमानलाई सघाउन खोज्दा यो क्षेत्रमा एमालेको मतदाता घट्न थालेका हुन्। २०७४ को चुनावमा पनि एमालेले मिश्रलाई हराउन जोड गरेको विवेकशील साझाका नेताहरुको गुनासो छ। यसरी अरुलाई हराउने बहानामा एमाले स्वयंले कांग्रेसलाई बलियो पारेको आरोप एमालेकै नेताहरु स्वीकार्छन्।
स्वतन्त्रको नजर
एमाले कमजोर रहेको र माओवादीको पनि मत घटेको अवस्थामा आगामी चुनावमा धेरै स्वतन्त्र उम्मेदवारको नजर यो क्षेत्रमा परेको छ। स्थानीय चुनावमा सिर्जना सिंह र केशव स्थापितलाई हराएका मतदाता अब प्रकाशमानविरुद्ध डोलायमान हुने सम्भावना पनि छ।
तर, आगामी चुनावमा काठमाडौँ–१ मा सत्तापक्षीय गठबन्धन कायमै रह्यो भने कांग्रेसको १० हजार र माओवादीको ५ हजार मत एकै ठाउँमा पर्न सक्छ। रवीन्द्र मिश्रको लोकप्रियता पहिलेजस्तो नरहेकाले उनले विगतको जस्तो सिंहलाई चुनौती दिइहाल्ने स्थिति देखिँदैन।
प्रकाशमानलाई यो क्षेत्रमा कम्युनिस्टले भने चुनौती दिन सक्ने सम्भावना न्यून छ। तर, यस क्षेत्रको विगतको इतिहास हेर्दा विद्रोही उम्मेदवारले धक्का नदेलान् भन्न सकिँदैन।
महानगरका चारवटा वडा मात्र रहेको यो निर्वाचन क्षेत्रमा मेयर बालेन्द्र शाह पक्षको समेत समर्थन रहने गरी ‘इनफ इज इनफ’ का अभियन्ता पुकार बमले उम्मेदवारी घोषणा गरिसकेका छन्। पूर्व डीआइजी रमेश खरेल पनि यहीँबाट लड्ने चर्चा छ। साझा विवेकशीलका नेता रवीन्द्र मिश्र पनि यहीँबाट चुनाव लड्ने तयारीमा छन्। एमालेले बलियो उम्मेदवार उठाउने सम्भावना अहिलेसम्म देखिइसकेको छैन।
प्रकाशमानले यसअघि ह्याट्रिक गरे पनि यो क्षेत्रमा ‘कांग्रेस भर्सेस स्वतन्त्र’ प्रतिस्पर्धा तीव्र हुने सम्भावना छ। पार्टीभित्रैको घेराबन्दीमा परेका प्रकाशमानलाई यसपटक घेरा तोड्नु निकै नै चुनौतीपूर्ण हुने देखिन्छ।
सिंह परिवारको गुनासो
०४८ सालको आम निर्वाचनपछि गठित सरकारका कामकारबाहीको आलोचना गर्दा अपमान महसुस गरेका गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न सघाए। तर, अहिले प्रकाशमानले आफू पार्टीभित्रैबाट ‘अपमानित’ भएको महसुस गर्न थालेका छन्। गणेशमानको परिवार नेपाली काँग्रेसमा विगतदेखि नै अपमानित भइरहेको उनको गुनासो छ।
सुविधाको कुरो गर्ने हो भने प्रकाशमानले तीनचोटि सांसद जिते। एकपटक राष्ट्रियसभाको सांसद बने। पटक–पटक मन्त्री पनि बने। पार्टीको महामन्त्री पनि बने। तर, आफू र आफ्नो परिवारलाई पार्टीभित्रैबाट निरन्तर खेद्ने काम भएको उनको गुनासो छ।
स्थानीय चुनावमा पत्नी सिर्जना सिंहलाई काठमाडौंको मेयरमा उठाएपछि प्रकाशमानलाई संस्थापन इतर समूहका नेता–कार्यकर्ताहरुले सामाजिक सञ्जालमा ‘आक्रमण’ गर्र्न थालेका छन्। प्रकाशमानले श्रीमतीलाई मेयरमा उठाउनका लागि ‘बार्गेनिङ’ गरेर महाधिवेशनमा देउवालाई सघाएको आरोपसमेत कांग्रेसभित्रैबाट लागेको छ।
सिंह आफू निकटस्थहरुसँग भन्छन्, ‘सिर्जना गोरखाबाट पार्टी राजनीतिक गरेर आएकी हुन्। उनलाई महिला संघले दबाव दिएर मेयरको उम्मेदवार बनाएको हो।’
काठमाडौँ–१ बाट लड्दा सधैं पार्टीकै नेताहरुबाट अन्तरघात व्यहोर्दै आएका नेता सिंह पछिल्लो समय, खास गरी १४ औं महाधिवेशन र स्थानीय चुनावपछि पार्टीभित्रबाट थप घेराबन्दीमा परेका छन्।
रामचन्द्र पौडेल समूह र कोइराला परिवारसँग सिंहको सम्बन्ध चिसिएको छ। पछिल्लो समय उनी सभापति देउवाको कार्यशैलीप्रति पनि सन्तुष्ट देखिँदैनन्। आफूसँग गरेको पूर्वप्रतिवद्धता अनुसार देउवाले पार्टीलाई विधिसम्मत ढंगबाट चलाउन नसकेको सिंहको गुनासो सुनिन्छ।
प्रकाशमानमाथि आन्तरिक घेराबन्दी त छँदैछ, स्वतन्त्र उम्मेदवारहरुले काठमाडौं १ मा उनीविरुद्ध थप घेराबन्दी कसिरहेका छन्। उनले यो घेरा कसरी तोड्लान् ? यसका लागि आगामी मंसिरसम्म कुर्नुपर्ने हुन्छ।
प्रकाशमान आफू निकटस्थहरुसँग गुनासो गर्दै भन्छन्, ‘हाम्रा एकथरी साथीहरुको सोचाइ के छ भने गणेशमानको परिवारले सधैं दुःखै खानुपर्छ, सुविधा त अरुले मात्र लिने हो, गणेशमानको परिवारले सुख पाउनुहुँदैन।’
माओवादी बैठकमा नेतृत्वलाई व्यङ्ग्य : घर बनाउन नसक्नेले देश बनाउन सक्दैन
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे आवाज उठेको छ । नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे ।
‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले केन्द्रीय समितिको सोमबारको बैठक राखेको धारणा उदृत गर्दै एक नेताले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन माग गरेका थिए ।
सिड्नीमा बाढीको कहर : हजारौँलाई घर छाड्न भनियो
अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ ।
‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् । यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो ।
‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै मोर्चामा खतरा सामना गरिरहेका छौँ’, कुकले भनिन् । मौसम विज्ञान ब्यूरोले ३५० एमएम सम्मको वर्षाले केही क्षेत्रहरूमा असर गरेको र नेपियन नदीमा बाढीको जोखिम रहेको जनाएको छ ।
सिड्नीको मुख्य बाँध भत्किन थालेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
मदन भण्डारी प्रविधि विश्वविद्यालयलाई मानविकी, व्यवस्थापन र कानुन पढाउने बाटो बन्द
मदन भण्डारीको नाममा स्थापना हुन लागेको प्रविधि विश्वविद्यालयले मानविकी, व्यवस्थापन र कानुन लगायतका संकाय पढाउन नपाउने भएको छ।
सरकारले २०७६ सालमा प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्दा प्रविधि विश्वविद्यालयको क्षेत्राधिकारमा मानविकी, व्यवस्थापन र कानुन जस्ता संकाय समेत प्रविधि विश्वविद्यालयभित्रै घुसाएको थियो।
तर प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले उक्त व्यवस्था हटाएको हो।
समितिले विश्वविद्यालयको विधेयकमा रहेको ‘विज्ञान तथा प्रविधि, मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून र न्याय लगायतका विषय’ भन्ने शब्द हटाएर ‘मूलत: विज्ञान तथा प्रवधिका विषय र क्षेत्रमा’ भन्ने शब्द राखिदिएको छ।
संसदमा प्रस्तुत भएको विधेयकको दफा ३ मै ‘विज्ञान तथा प्रविधि, मानविकी तथा समाज शास्त्र, व्यवस्थापन, कानुन र न्याय लगायतका विषय र क्षेत्रमा मुलुकभर विश्वस्तरीय जनशक्ति उत्पादन गर्न तथा नयाँ ज्ञान र प्रविधिको विकासमा थप योगदान पुर्याउन’ भनिएको थियो।
विधेयकमा मकवानपुरको थाहा नगरपालिकाको चितलाङमा विश्वविद्यालय स्थापना गरिने उल्लेख थियो। तर समितिले सरकारले प्रस्ताव गरेको ठाउँ समेत हटाइदिएको छ।
समितिले विश्वविद्यालयको संरक्षक समितिले तोकेको स्थानमा विश्वविद्यालय रहने व्यवस्था गरिदिएको छ।
त्यस्तै, विश्वविद्यालय सञ्चालनको सर्वोच्च संस्था संरक्षक समितिमा मदन भण्डारी फाउण्डेसनबाट दुई जना रहने व्यवस्था समेत समितिले झिकिदिएको छ।
सरकारले संसदमा विधेयक प्रस्तुत गर्दा फाउण्डेसनका अध्यक्ष वा फाउण्डेसनले तोकेका २ जना व्यक्ति विश्वविद्यालयको संरक्षक हुने व्यवस्था गरेको थियो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले विश्वविद्यालयको संरक्षकमा विश्वविद्यालय रहने स्थानबाट निर्वाचित हुने सांसद रहने व्यवस्था भने थप गरेको छ।
समितिले पारित गरेर प्रतिनिधि सभामा पुगेको मदन भण्डारी विज्ञा तथा प्रविधि विश्वविद्यालय सम्बन्धि प्रतिवेदन प्रतिनिधिसभामा पुगिसकेको छ। प्रतिनिधिसभाको आजको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
सम्बन्धित समाचार:
मदन भण्डारीको नाममा प्रविधि विश्वविद्यालय, तर पढाउने मानविकी, व्यवस्थापन र कानुन
कुनैबेलाका अटोरिक्सा ड्राइभर बने महाराष्ट्रका मुख्यमन्त्री
भारतको सबैभन्दा धनी राज्य हो महाराष्ट्र । औद्योगिक शहर मुम्बई र पुणे यही राज्यमा पर्छन् । विश्वको प्रभावशाली चलचित्र उद्दोगमध्येको बलिउड मुम्बईमा नै छ । यसकारण पनि महाराष्ट्रको विशेष महत्व छ ।
मुम्बईमा रातारात सडकबाट महलमा पुग्नेहरुको कथा धेरै बनेका छन् । अवसर र चुनौतीको सहर हो मुम्बई । त्यस्तो सहर छेवैमा जन्मिएका एकनाथ सिन्धे महाराष्ट्रको मुख्यमन्त्री बनेका छन् । उनले आजै विश्वासको मत समेत लिइसके ।
सिन्धे महाराष्ट्रको रैथाने मानिने मराठी समुदायका हुन् । उनले मंगला हाइ स्कुल र जुनियर कलेज थानेबाट ११ कक्षासम्म अध्ययन गरेका छन् । त्यसपछि जीविकोपार्जनका लागि अटोरिक्सा चलाउन थाले । गरिबी र अभावसँग लड्दै अगाडि बढेका सिन्धेले जीवनमा धेरै पीडा भोगेका छन् ।
महाराष्ट्रको गाउँमा जन्मिएर कठिन जीवनको भोगाई सँगालेका छन् । शिवसेनामा लागेर गल्ली गल्लीमा धेरै झडपमा अगाडि सरेको घटनाहरु छन् । निडर र लडाकु स्वभावका भएकाले पनि उनी शिवसेनाका नेताहरुको नजरमा परे । महत्वपूर्ण जिम्मेवारी पाउँदै गए ।
२ जून सन् २००० मा उनको जीवनमा ठूलो विपत् आइलाग्यो । ११ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी सुबधा महाराष्ट्रको गाउँस्थित तालमा डुँगा चढिरहेका थिए । तालको बीचमा डुँगा डुब्यो । उनका छोराछोरी दुवैको निधन भयो । सिन्धे उक्त घटनाले निकै विचलित भए । तर, उनका राजनीतिक गरु आनन्द डिगेले शिवसेनाको महत्वपूर्ण जिम्मेवारी दिएर सम्हालिने अवस्था बनाए । उनका एक छोरा डा. श्रीकान्त सिन्धे लोकसभामा दुईपटक निर्वाचित भइसकेका छन् ।
थानेस्थित शिवसेना प्रमुख आनन्द डिगेले सिन्धेलाई सन् १९८० मा राजनीतिमा ल्याएका थिए । डिगेको सन् २००१ मा निधनपछि सिन्धेले उक्त क्षेत्र सम्हाले । सन् २००४ देखि सन् २०१९ भएका विधानसभा चुनावमा जिते । यसबाट पनि सिन्धेको प्रभाव बुझ्न सकिन्छ । उनी शिवसेनाका दिवंगत नेता बाल ठाकरेका विश्वासपात्र भइरहे ।
महाराष्ट्रमा सरकार बनाएको शिवसेनासहित महा विकास अगाडि समूह फुटाउन सिन्धेले नेतृत्व गरे । शिवसेना प्रमुख समेत रहेका निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेलाई महा विकास अगाडि फुटाउन दबाब दिए । तर, ठाकरे मानेनन् । त्यसपछि उनले विद्रोह गरे । सिन्धेको विद्रोहपछि ठाकरेले मुख्यमन्त्रीबाट राजीनामा दिए । भारतीय जनता पार्टीको समर्थन पाएर सिन्धे मुख्यमन्त्री बने ।
कुनैबेला मुम्बईमा अटोरिक्सा चलाउने सिन्धे भारतको सबैभन्दा धनी राज्य महाराष्ट्रको मुख्यमन्त्री बन्न सफल भए ।-एजेन्सीको सहयोगमा
संविधानमाथि चुनौती दिदै सप्तरी ४ बाट पराजित मृगेन्द्रलाई कृषिमन्त्री
काठमाडौं, २० असार । नेपालको संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनेको छ । संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई मन्त्री बन्न अयोग्य भनेपनि मृगेन्द्रकुमार सिंह कृषिमन्त्री नियुक्त गरिएका छन् ।
सिंहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरिसकेकी छिन् । उनले आजै अपरान्ह शपथ खाँदैछन् ।
सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित सिंहले पार्टी नेतृत्वलाई नै प्रभावमा पारेर राष्ट्रिय सभा सदस्य बन्न सफल भए । यही आधारमा उनी मन्त्री नियुक्त गरिएका छन् ।
सिंहको नियुक्तिले अहिले धेरै प्रश्न उब्जिएको छ । यो विषय अब अदालतमा जाने निश्चित भएको छ ।
बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका वामदेव गौतमले पनि प्रधानमन्त्री बन्ने निकै प्रयास गरे । उनले संविधानको धारा नै परिवर्तन गर्न खोजे तर सकेनन् । उनी राष्ट्रिय सभा सदस्य मनोनित भए । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने नियम बनाउन खोजे । तर, त्यो पनि सफल भएन । यसरी चुनावमा पराजित उम्मेदवारहरु मन्त्री या प्रधानमन्त्री बन्न आफू अनुकूलको नियम कानून बनाउन खोज्ने वा त्यस्तो व्याख्या गर्ने गर्दै आएका छन् ।
नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समितिको आयोजनामा भएको प्रथम बिपि स्मृति फुटबल प्रतिनियोगिता सप्पन्न !!
नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समितिको आयोजनामा भएको प्रथम बिपि स्मृति फुटबल प्रतिनियोगिता २०७९ असार १७ गत्ते समापन भएको छ । उक्त प्रतियोगिता ७ दिन सम्म चलेको थियो । बिश्वबिद्धालय भित्रका विभिन्न कक्षाका छात्रा तर्फ १२ ओटा र छात्र तर्फ २४ ओटा टिमले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको उद्घाटन नेबि संघ निबर्तमान महामन्त्री दीपक भट्टराईको प्रमुख आथित्वमा भएको थियो । कार्यक्रमको सभा अध्यक्ष नेबि संघ पोखरा बिश्वबिद्धालयका सभापति दिपेन्द्र गौतमले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन ने बि संघ पोखरा बिश्वबिद्धालयका सचीव रमेश चन्द्र जोशी ले गर्नु भएको थियो । १७ गत्ते सम्पन्न भएको समापन कार्यक्रमको प्रमुख अथितीको रुपमा पुर्ब कानुन मन्त्री यज्ञ बहादुर थापा रहनु भएको थियो साथै बिशिस्ट अतिथिको रुपमा पोखरा बिश्वबिद्धालयका उपकुलपति डा. प्रेम नारायण अर्याल , नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त्त बराल , कास्की क्षेत्र न . १ का सभापति राजेन्द्र मणि लामिछाने , पोखरा -३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी , कास्की कांग्रेसका सहसचिव शंकर ढुंगाना , माछापुच्छ्रे गाउपालिकाकि उपाध्यक्ष सीता अधिकारी , पोखरा बिश्वबिद्धालयका रजिस्ट्रार , कन्ट्रोलर , चार ओटै सन्कायका डिन र डिरेक्टर रहेका थिए । मदन साउद सयोजक रहेको उक्त कार्यक्रमको स्वागत मन्तव्य नेबि संघ पोखरा बिश्वबिद्धालयका उपसभापति अशिम सुबेदीले राख्नु भएको थियो । कार्यक्रमको बारेमा थप चर्चा आयोजक कमिटीको तर्फबाट हेमन्त खड्काले राखेका थिए । खेल , मनोरञ्जन र सिकाइ तीन ओटै कुरालाई मिलाएर अघि बढ्न हरेक बक्ता हरुले विद्यार्थीहरु सुझाव र शुभकामना दिएका थिए । कार्यक्रमको अथितीको रुपमा कास्की -१ प्रदेश -१ का कांग्रेस सहसचिव सुबास भण्डारी , त्रिचन्द्र क्याम्पसका नेबि संघ सभापति शान्ता बास्ताकोटी , ने बि संघ नेता पशुपति भट्टराई , नेबि संघ कास्की निबर्तमान अध्यक्ष बिकास थापा , तरुण नेता प्रकाश पुन , नेबि संघ नेताहरु प्रताप बानिया ,राजिब बास्तोला , निर्दोष बिक्रम पौडेल , बिजय घिमिरे , पृथ्वीनारायण क्याम्पस सभापति गौरव बराल , पोखरा महानगर नेका सहसचिव सन्जय आले, पियु नेबि संघ पुर्ब सभापति फिरोज सुवेदी , राजेन्द्र बराल लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको कुरा कार्यक्रमका सन्चालक रमेश चन्द्र जोशीले जानकारी दिनु भयो।
आयोजकको तर्फबाट यस्तो निकै महत्वपूर्ण कार्यक्रम सन्चालन गर्न पाएको र भब्य तवरले समापन गर्दा खुसी महसुस भएको आयोजक विद्यार्थी नेताहरु दीपेन्द्र गौतम , फिरोज सुवेदी , डिफन भुजेल , रमेश चन्द्र जोशी , अशिम सुवेदी , मदन साउद , सन्देश खत्री , मनिश चौधरी , अभिनास अधिकारि ,प्रबिन ओझा, बसन्त घिमिरे , हेमन्त खड्का , जगदीश भण्डारी , प्रजित बास्तोला ,किरन पौडेल , सन्तोष गुरुङ लगायतका विद्यार्थी नेताहरु संघको सम्बाद बाट प्रतिक्रिया प्राप्त भएको थियो । उप्त कार्यक्रममा रेफ्री र फिजिओहरुको पनि महत्वपूर्ण भुमिका रहेको कुरा नेता जोशीले बताउनु भएको थियो ।प्रथम बिपि स्मृति कप फुटबल प्रतियोगिताको प्रथम छात्र तर्फ टिम soe 2nd बर्स सिबिल एण्ड रुरल भएको छ भने दित्तिय sob 4th year भएको छ । प्रथम र दित्तिय हुने टिमले क्रमश रु ३०००० मेडल ट्रफी र प्रमाणपत्र , १८००० मेडल र प्रमाणपत्र पाएका छन । यसै गरि छात्रा तर्फ टिम soe 4th year ( rcj ) ले प्रथम र sob 3rd year दित्तिय भएको छ दुबै टोलिले क्रमस रु १०००० मेडल ट्रफी , प्रमाणपत्र र क्यानोयिङ साथै दितिय टोलिले ८००० मेडल र प्रमाणपत्र पाएका छन हिजै अथितीहरु हातबाट प्रमाणपत्र दिएको कुरा उप्त कार्यक्रमका सन्चालक रमेश चन्द्र जोशी ले जानकारी दिएका छन ।आगामी बर्समा पनि यो कप निरन्तर चल्ने सभापति दीपेन्द्र गौतमले उद्घोष गरेका छन । कार्यक्रम सन्चालन गर्न निक्कै महत्वपूर्ण भुमिका निर्बाह गर्ने विद्यार्थी , स्थानिय नेता गण र आयोजक परिवार प्रती कृतज्ञ भएको कार्यक्रमका सयोजक मदन साउद , डिफन भुजेल र हेमन्त खड्का लगायतको प्रतिक्रिया थियो । हजारौं विद्यार्थीहरुको सहभागीता भएको उप्त कार्यक्रमबाट विद्यार्थी नेबि संघ प्रती धेरै आस्था र बिश्वास राख्ने प्रमाणित भएको र केही संगठन भित्रका दुई तीन जनाको लागि मात्रै १२/१३ सय जना संगठित भएको ने बि संघ पियुले ती दुई तीन जनालाई वास्ता नगर्ने उद्घोष समेत गरेका छन ।लगभग ५ लाखको हाराहारीमा खर्छ भएको आयोजकहरुको भनाइ रहेको छ र छिट्टै खर्च विवरण सार्बजनिक गर्ने आयोजकको तयारी छ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा