आज धान दिवस मनाइँदै, २७ अर्बको चामल र १५ अर्बको धान आयात l
असार १५ गते हरेक वर्ष आउँछ र जान्छ। सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर।
मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो।
हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ। मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन,कंक्रिटका जङ्गल बढ्दै गएको छ।
खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन। सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ। भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विश्लेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ।
नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ।
हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ।
सोही अवस्थालाई ध्यानमा राखेर सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो। किसानको आत्मसम्मान बढाउने कार्यक्रमसमेत बजेटमा स्पष्ट व्यवस्था गरिएको छ तर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने विषय केवल नारामै सीमित छ।
मुलुकमा कृषि उपजको आयात बढ्दो देखिएको छ। खाद्यान्न आयातमा मुलुकको अर्बौं रकम बाहिरिरहेको तथ्याङ्क सार्वजनिक भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौं रकम बाहिरिएको छ।
विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २७ अर्ब १२ करोड एक लाख २३ हजार रुपैयाँ मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ।
त्यसबाट सरकारले दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व संकलन गरेको छ। भारतबाट मात्रै २६ अर्ब ९३ करोड २९ लाख १० हजार रुपैयाँ मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ।
त्यस्तै मुलुकमा १५ अर्बभन्दा बढीको धान आयात भएको छ। विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा रु १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ।
त्यसबाट सरकारले ७९ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
त्यस्तै धानको बीउमात्रै ८७ करोड पाँच लाख ७२ हजार रुपैयाँ बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ। रासस
पुष्पलाल-मनमोहन सम्बन्ध : एउटै पार्टी, एउटै ससुराली तर मेटिएन दुरी
केआई सिंह काण्ड (८ माघ २००८) का कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिबन्धित अवस्थामा थियो। प्रतिबन्धित अवस्थामै रहेका बेला तत्कालीन धनुषा–महोत्तरीको बटेश्वर गाउँमा नेकपा पोलिटब्युरोको बैठक बस्यो।
पार्टीका महासचिव पुष्पलाल थिए। पोलिटब्युरो सदस्यमा पुष्पलालका अलावा मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र तुलसीलाल अमात्य थिए। लगत्तै पार्टी केन्द्रीय कमिटीको बैठक पनि बस्दै थियो।
तर, केन्द्रीय कमिटीअगावै बसेको पोलिटब्युरो बैठकमा शैलेन्द्रकुमार उपाध्यायले पुष्पलालको साटो मनमोहन अधिकारीलाई नेकपाको महासचिव बनाउनुपर्ने प्रस्ताव आकस्मिक रुपमा राखे।
उपाध्यायको प्रस्तावमा बाँकी दुई पोलिटब्युरो सदस्य तुलसीलाल अमात्य र डीपी अधिकारीले समर्थन जनाए। आफैँ महासचिव बन्न पाउने भएपछि मनमोहन पनि के पछि हट्थे! उनले पनि प्रस्तावको समर्थनमा टाउको हल्लाए।
नाटकीय रुपमा महासचिव परिवर्तन गर्न आएको प्रस्तावमा पुष्पलाल एक्लो परे। महासचिव मनमोहन भए। आफूविरुद्ध भएको ‘कू’ चुपचाप सहन पुष्पलाल बाध्य भए।
‘संस्थापक महासचिव’ को स्थानमा ‘दोस्रो महासचिव’ का रुपमा मनमोहन अधिकारीको नाम नेकपाको इतिहासमा लेखियो।
नेकपाका ‘संस्थापक महासचिव’ पुष्पलाल र ‘दोस्रो महासचिव’ मनमोहन अधिकारीबीच थुप्रै ‘संयोग’ र ‘वियोग’ छन्। त्यसमध्ये एउटा संयोग नेपालको कम्युनिस्ट आन्दोलनका यी दुई शीर्ष नेताको जन्मदिवस एकै दिन पर्नु हो।
पुष्पलाल रामेछापको भँगेरीमा १५ असार १९८१ मा जन्मेका थिए। मनमोहनको जन्म पनि १५ असार १९७८ मा लाजिम्पाट (काठमाडौँ) मा भएको थियो।
खासमा पुष्पलालको पुर्ख्यौली थलो काठमाडौँ हो, मनमोहनको विराटनगर। दुवैका बाबु सरकारी जागिरे भएकाले पुष्पलालको रामेछापमा र मनमोहनको जन्म काठमाडौँमा भएको थियो।
पहिलो महासचिव, पहिलो कम्युनिस्ट
पुष्पलाल नेकपाका संस्थापक महासचिव हुन् भने मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री। त्यसबाहेक मनमोहन कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्ने पहिलो नेपाली पनि हुन्।
विसं २००६ मा नेकपा गठन गर्नुअघि पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसमा थिए। कांग्रेसमा रहँदा उनी बनारसमा रहेको पार्टीको केन्द्रीय कार्यालय सचिवसम्म भए।
तर, कांग्रेसको नीति र नेताहरुको झगडालु व्यवहारबाट दिक्क भएपछि पुष्पलालले कांग्रेस त्यागे। केही समयपछि उनले २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा नेकपाको स्थापना गरे।
पुष्पलालले नेकपाको स्थापना गर्दा मनमोहन अधिकारी जेलमा थिए। पुष्पलालले नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठलाई संस्थापक बनाएर नेकपा स्थापना गरेका थिए।
तर, स्थापनाको ६ महिना बित्दानबित्दै थप नेताहरुलाई समावेश गरेर नेकपा केन्द्रीय कमिटी विस्तार भयो। विस्तार गरिँदा पाँच संस्थापकमध्ये पुष्पलाल मात्र केन्द्रीय कमिटीमा परे।
पुष्पलालले संस्थापक केन्द्रीय सदस्य बनाएका बाँकी चार जना नेताहरु कर्माचार्य, वैद्य, जोशी र श्रेष्ठ नयाँ केन्द्रीय कमिटीमा समेटिएनन्।
नयाँ केन्द्रीय कमिटीको ३० भदौ २००६ मा कलकत्तामा भएको बैठकले पुष्पलाललाई नेकपाको महासचिव चयन गर्यो। यही निर्णयका कारण पुष्पलालको नाम नेकपाका ‘संस्थापक महासचिव’ को रुपमा दर्ज भयो।
तर, त्यसअगावै मनमोहन अधिकारीले ‘कम्युनिस्ट पार्टी’ को सदस्यता प्राप्त गरिसकेका थिए। लाग्ला, पुष्पलालभन्दा पहिले मनमोहनले कसरी ‘कम्युनिस्ट पार्टी’ को सदस्यता प्राप्त गरे?
खासमा मनमोहन भारतीय कम्युनिस्ट नेताहरुको संसर्गमा परेर पुष्पलालभन्दा अगाडि नै ‘कम्युनिस्ट’ भइसकेका थिए।
मनमोहन बनारस हिन्दु विश्वविद्यालयमा विज्ञानका विद्यार्थी थिए। त्यही बेला महात्मा गान्धीको नेतृत्वमा अंग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलन सुरु भयो। मनमोहन पनि आन्दोलनमा सरिक भए।
आन्दोलनमा संलग्न तीन विद्यार्थीलाई सुरुमै अंग्रेज प्रशासनले पक्राउ गर्यो। तीनमध्ये दुई जना नेपाली विद्यार्थी थिए– मनमोहन अधिकारी र गोपालप्रसाद भट्टराई। पक्राउ परेका मनमोहनलाई त्यहाँको जिल्ला कारागार र त्यसपछि केन्द्रीय कारागार लगियो।
मनमोहनले एउटा संस्मरणमा उल्लेख गरेअनुसार केन्द्रीय कारागारमा भारतीय कम्युनिस्ट पार्टीका नेताद्वय शिवपुजन त्रिपाठी र शिवदानसिंह चौहान पनि थिए।
‘ती दुई कम्युनिस्ट नेताहरुले जेलमा चलाएको क्लासमा मैले पनि भाग लिएँ,’ अधिकारीले भनेका छन्, ‘मैले त्यहीँ जेलबाट पार्टी (भाकपा) को सदस्यता लिएको हुँ।’
पुष्पलाल र मनमोहन (बायाँबाट दोस्रो र तेस्रो) चिनियाँ मित्रहरुका साथ चीनको ग्रेटवालमा, विसं २०१६
पुष्पलाल र मनमोहन (बायाँबाट दोस्रो र तेस्रो) चिनियाँ मित्रहरुका साथ चीनको ग्रेटवालमा, विसं २०१६
डेढ वर्ष भारतीय जेलमा थुनिएपछि अधिकारी रिहा भए। नेपाल फर्केर विराटनगर जुटमिलमा जागिर खाए। विसं २००३ चैत्रमा भएको मजदुर आन्दोलनमा बीपी कोइरालासँगै उनी पक्राउ परी काठमाडौँ ल्याइए।
साढे दुई वर्ष काठमाडौँको नख्खु जेलमा बिताएपछि २००६ साउनमा उनी रिहा भए।
मनमोहन जेलबाट रिहा हुँदा नेकपाको स्थापना भइसकेको थियो। जेलमा रहेका मनमोहन भारतीय कम्युनिस्ट पार्टीका सदस्य हुन् भन्ने जानकारी पुष्पलालले पनि पाइसकेका थिए।
पुष्पलाल कुनै हिसाबले मनमोहनसँग सम्पर्क गर्न चाहन्थे। मनमोहन रिहा भएर विराटनगर पुगेपछि पुष्पलालले नारायणविलाश जोशी (नेकपाका संस्थापक) लाई सम्पर्कका लागि विराटनगर पठाए।
नेपालको कम्युनिस्ट आन्दोलनका यी दुई शीर्ष नेताबीच पहिलो भेट विराटनगरको सीमावर्ती भारतीय सहर जोगबनीमा भएको थियो। त्यही भेट–कुराकानीपछि मनमोहन पनि पुष्पलाल नेतृत्वको नेकपामा सक्रिय हुने भए।
जोगबनी भेटको केही समयपछि कलकत्तामा नेकपाको पहिलो बैठक बस्यो। मनमोहनलाई पुष्पलालले नेकपाको केन्द्रीय सदस्य बनाए।
दुवै जनाको संयुक्त राजनीतिक जीवन सुरुवातको केही वर्षपछि उनीहरु पारिवारिक सम्बन्धमा समेत जोडिए।
पुष्पलालकी सहाना, मनमोहनकी साधना
जोगबनी भेट पुष्पलाल–मनमोहनबीच पारिवारिक सम्बन्ध स्थापनाको प्रस्थानविन्दु समेत थियो।
भारतीय स्वतन्त्रता संग्राम र नेपालको पहिलो मजदुर आन्दोलनमा सहभागी भई जेल परेकाले मनमोहन अधिकारी राजनीतिक वृत्तमा चर्चित भइसकेका थिए।
पुष्पलाल पनि कम चर्चित व्यक्तित्व थिएनन्। उनी १९९७ का सहिद गंगालाल श्रेष्ठका भाइ थिए। गंगालालको सहादतपछि दाजुको सपना पुरा गर्न भाइ पुष्पलाल राजनीतिमा होमिएका थिए।
सहिद गंगालालका भाइ र नेकपाका संस्थापक महासचिव भएकाले पुष्पलाल काठमाडौँका चर्चित युवामध्येमा पर्दथे।
२००४ वैशाखमा राणा शासनविरुद्ध विद्यार्थीहरुको तर्फबाट काठमाडौँमा पहिलो प्रदर्शनको नेतृत्व गरेकाले साधना प्रधान र सहाना प्रधान पनि उत्तिकै चर्चित थिए। स्थापनापछि साधना–सहाना दुवै नेकपामा आवद्ध भए।
विद्यार्थीहरुको त्यो प्रदर्शनमा पुष्पलाल नेतृत्वदायी भूमिकामा थिए। पुष्पलाल–सहानाबीच पहिलो पटक त्यही बेला भेट भएको थियो।
उता, नेकपामा आवद्ध भएसँगै मनमोहन–साधनाबीच भेटघाट हुन थाल्यो। पुष्पलालले सहानालाई मन पराउन थाले। मनमोहन–साधनाबीच त प्रेम–सम्बन्ध नै स्थापित भयो।
आफ्नो आत्मकथा ‘स्मृतिका आँखीझ्यालबाट’ मा सहानाले उल्लेख गरेअनुसार कलकत्तामा नेकपा स्थापना गरेपछि पुष्पलाल पार्टी संगठन विस्तारका लागि भूमिगत रुपमा काठमाडौँ आएका थिए। त्यसै क्रममा भएको भेटमा उनले सहानासँग विवाहको प्रस्ताव राखे।
‘हामी दुवै दिदीबहिनीको दिमागबाट विवाह गर्ने कुरा हटिसकेको थियो, जीन्दगीमा विवाह नै नगर्ने सोच हामीले बनाएका थियौँ,’ आत्मकथामा सहानाले भनेकी छन्, ‘मैले पुष्पलालजीलाई आफ्नो खुट्टामा उभिएपछि मात्र बिहे गर्छु भनेँ।’
‘आफ्नै खुट्टामा उभिएपछि मात्र बिहे गर्छु’ भनेपछि पुष्पलालले पनि तत्काल बिहेका लागि जोड गरेनन्। दुई वर्षपछि २००९ मा पुष्पलालले फेरि बिहेको प्रस्ताव गरे। यसपटक सहानाले नाइनास्ती गर्न सकिनन्।
तर, पुष्पलाल श्रेष्ठ ‘पाँचथरे’ नेवार समुदायका थिए, सहाना ‘छथरे’ प्रधान समुदायकी थिइन्। त्यसैले, प्रधान परिवार सहानाको बिहे पुष्पलालसँग गराइदिन राजी भएन।
उमेरको हिसाबले पुष्पलालभन्दा मनमोहन तीन वर्ष जेठा थिए। उनको सहानाकी दिदी साधनासँग प्रेम सम्बन्ध थियो। ब्राम्हण समुदायका मनमोहनसँग बिहेका लागि भने प्रधान परिवारले स्वीकृति दिएको थियो।
पहिले आफ्नो बिहे गरिसकेपछि पुष्पलाल–सहानाबीचको बिहे हुन पारिवारिक रुपले कठिनाइ पर्छ भन्ने ठानेर हुनसक्छ, उमेरमा आफूहरु जेठो भए पनि पुष्पलाल–सहानाबीच पहिले बिहे होस् भन्ने चाहना मनमोहनले राखे।
मनमोहनको चाहनाअनुसार र पार्टीको स्वीकृतिमा २ माघ २०१० मा पकनाजोलमा नेकपाका कार्यकर्ता तीर्थप्रसाद ढुङ्गानाको घरमा पुष्पलाल–सहानाबीच बिहे भयो।
त्यसको ६ महिनापछि २०११ असारमा मनमोहन–साधनाबीच पनि बिहे भयो। बिहे काठमाडौँको म्हैपी मन्दिरमा भएको थियो।
बिहेमा पार्टीको तर्फबाट काठमाडौँ नगरपालिकाका प्रथम मेयर जनकमान श्रेष्ठले भोज खुवाएका थिए। साधना पनि नेकपाको तर्फबाट काठमाडौँ नगरपालिकाको निर्वाचित सदस्य थिइन्।
पुष्पलाल–सहानाको बिहे, २ माघ २०१०
पुष्पलाल–सहानाको बिहे, २ माघ २०१०
एउटै पार्टीमा भएकाले पुष्पलाल–मनमोहनबीच राजनीतिक सम्बन्ध हुने भइहाल्यो। छ महिनाको अवधिमा भएको भएका यी बिहेसँगै उनीहरुबीच औपचारिक पारिवारिक सम्बन्ध पनि कायम भयो।
अब मनमोहन पुष्पलालका साढुदाइ बन्न पुगे, पुष्पलाल मनमोहनका साढुभाइ।
एउटै पार्टी, फरक गुट
तर पारिवारिक नातामा गाँसिनुअघि नै पुष्पलाल–मनमोहनबीच राजनीतिक मनमुटाव सुरु भइसकेको थियो। मनमुटावको कारण उही बटेश्वर बैठक थियो, जहाँ पुष्पलाललाई महासचिवबाट विस्थापित गरी मनमोहनलाई नेकपाको महासचिव बनाइयो।
नेपालको कम्युनिस्ट आन्दोलन विषयमा विद्यावारिधि गरेका डा. सुरेन्द्र केसीका अनुसार पुष्पलाललाई अकस्मात महासचिवबाट किन हटाइयो, त्यसको कारण अहिलेसम्म अज्ञात छ। यसबारेमा पार्टीका आधिकारिक दस्तावेजहरुले पनि केही बोल्दैनन्।
तर, जानकारहरुका भनाइमा भारतीय कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको परिवर्तन पुष्पलालको विस्थापनको एउटा कारण थियो।
पुष्पलाल पार्टी महासचिव हुँदा भाकपाको महासचिव बीटी रणदीवे थिए। पार्टी उनकै नेतृत्वमा रहेका बेला आन्ध्र प्रदेशको तेलङ्गनामा भाकपाको अगुवाइमा किसान विद्रोह भएको थियो। त्यो किसान विद्रोहले त्यहाँको सरकारलाई नै हल्लाएको थियो।
पुष्पलाल नेपालमा यस्तै किसान विद्रोहका हिमायती थिए। उनी पार्टी नेतृत्वमा भएका बेला रौतहट, सिरहा, सप्तरी लगायत तराईका जिल्लामा ठूला–ठूला किसान आन्दोलन भएका थिए।
तर, सन् १९५० मा ‘वाम दुस्साहसवादी’ को आरोप लगाएर रणदीवेलाई भाकपाको नेतृत्वबाट हटाइयो। त्यसको असर नेकपाको नेतृत्वमा पनि पर्यो।
नेकपाको नेतृत्व (केन्द्रीय कमिटी) मा मनमोहन अधिकारी, डा. केशरजङ्ग रायमाझी, डीपी अधिकारी, तुलसीलाल अमात्य, कमर शाहजस्ता सम्पन्न वर्गका शिक्षित युवाहरु हावी हुन थालेका थिए।
उनीहरुलाई खरो स्वभावका पुष्पलालको क्रान्तिकारी स्वभाव मन नपर्नु स्वाभाविक थियो। उनीहरु किसान विद्रोहको पक्षमा थिएनन्।
आफूहरुलाई समावेश नगरी चार जना सहयोगीका साथ नेकपा स्थापनाको घोषणा गर्नु पनि उनको विस्थापनको अर्काे भित्री कारण थियो। उनीहरु पुष्पलाललाई विस्थापित गर्ने मौकाको ताकमा थिए। त्यो अवसर उनीहरुलाई बटेश्वर बैठकमा प्राप्त भयो।
‘मनमोहन अधिकारीः नेपाली राजनीतिमा ६ दशक’ पुस्तकमा डा. ढाकाराम सापकोटाले नेकपाका तत्कालीन नेता कृष्णराज वर्माको हवाला दिँदै रणदीवेलाई महासचिवबाट हटाउने भाकपाका नेताहरुसँग शैलेन्द्रकुमार उपाध्यायको सम्बन्धका कारण उनैले पुष्पलाललाई महासचिवबाट हटाउने प्रस्ताव ल्याएको उल्लेख गरेका छन्।
अघिल्लो महिना मात्र स्वर्गारोहण भएका वर्माका भनाइमा पार्टी कामको सिलसिलामा उपाध्याय लामो समय भारतमा थिए। त्यसक्रममा उपाध्याय भारतीय कम्युनिस्ट पार्टीको प्रत्यक्ष सम्पर्कमा थिए।
‘नेपाल फर्केलगत्तै उहाँ (उपाध्याय)ले नै मनमोहन अधिकारीलाई महासचिव बनाउने प्रस्ताव ल्याउनु भयो,’ बर्माले भनेका छन्, ‘सम्भवतः भारतीय कम्युनिस्ट पार्टीका नेताहरुले दिएको सुझाव अनुसार नै उहाँले त्यस्तो प्रस्ताव ल्याएको हुनुपर्दछ।’
जे होस्, केन्द्रीय कमिटीबाट पार्टी महासचिव चुनिएका पुष्पलाल कपटपूर्ण तरिकाबाट पोलिटब्युरोबाट हटाइए। त्यसपछिको केन्द्रीय कमिटीको बैठकमा पनि सायद परिस्थिति उनको अनुकूल थिएन।
पुष्पलाललाई विस्थापन गरी मनमोहन अधिकारीलाई नेकपाको महासचिव बनाइएको बेला उनीहरुको बिहे भइसकेको थिएन। तर, दुवैजना दुवै जना प्रेम सम्बन्धमा भने थिए।
केन्द्रीय कमिटीबाट निर्वाचित महासचिव पुष्पलाललाई पोलिटब्युरोले पार्टी नेतृत्वबाट हटाए पनि पुष्पलालले सार्वजनिक रुपमा असन्तुष्टि भने पोखेनन्। उनले नेतृत्वलाई सहयोग गरिरहे। तर, नेतृत्वबाट हटाइएकोमा उनी खुसी चाहिँ थिएनन्।
नेकपाका तत्कालीन नेता एवं मनमोहन अधिकारीका भाइ भरतमोहन अधिकारीका भनाइमा निकटस्थहरुसँगको कुराकानीमा पुष्पलाल आफूलाई अन्यायपूर्वक हटाइएको भन्दै गुनासो गरिरहन्थे।
मनमोहन र साधना अधिकारी
मनमोहन र साधना अधिकारी
‘एक पटक पुष्पलाल र मोहनविक्रम सिंह कोशी अञ्चलको पार्टीसँग सम्बन्धित विषयमा छानबिन गर्न केन्द्रबाट खटिएर विराटनगर आउँदा हामीकहाँ बस्नुभएको थियो,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका स्व. भरतमोहन अधिकारीले आफ्नो आत्मकथा ‘मेरो जीवन यात्राः केही सम्झनाहरु’मा भनेका छन्, ‘त्यो बेला पुष्पलालजीले मलाई अन्यायपूर्वक महासचिवबाट हटाइयो भन्ने गुनासो गर्नुभएको थियो।’
पुष्पलालमाथि अन्याय हुँदा लाभान्वित मनमोहन अधिकारी भए, जोसँग केही समयपछि नै उनको पारिवारिक सम्बन्ध गाँसिदै थियो।
चीन भ्रमण : मनमोहन सर्वसम्मत, पुष्पलाललाई अन्याय
२०१३ मा नेकपाको केन्द्रीय कमिटीले पुष्पलालमाथि अर्काे ‘अन्याय’ गर्यो, जसका कारण नेकपामाथि साँच्चिकै संकटको बिजारोपण भयो। त्यो बेला पनि पुष्पलालले मनमोहनको साथ पाएनन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले २०१३ भदौ (१९५६ सेप्टेम्बर) मा भएको आठौँ महाधिवेशनमा सहभागिताका लागि तीन नेतालाई बेइजिङ पठाउन नेकपालाई पत्राचार गरेको थियो।
औपचारिक रुपमा नेकपालाई पहिलो पटक चीन भ्रमणमा जाने निम्तो प्राप्त भएको थियो। यो अवसर नेकपाका १७ केन्द्रीय सदस्यमध्ये कसैले पनि गुमाउन चाहेनन्। सबैले चीन जाने इच्छा व्यक्त गरे।
केन्द्रीय कमिटीले महासचिव मनमोहन अधिकारीलाई चीन पठाउने सर्वसम्मत निर्णय गर्यो। स्वास्थ्यमा समस्या रहेकाले चीनमा उपचार गराउने सोचाइका साथ मनमोहन अधिकारीको नाममा सर्वसम्मति जुटेको थियो।
खासमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध स्थापित गर्न पुष्पलालले नै भूमिका निर्वाह गरेका थिए। पार्टी कार्यकर्ता गौरीभक्त प्रधान (सहाना–साधनाका दाजु) लाई छापामार तालिमका लागि गोप्य रुपमा चीन पठाउने काम पनि उनैले गरेका थिए।
गौरीभक्त विसं २००९ देखि २०१२ सम्म चीनमा सैन्य तालिम गरी गोप्य रुपमा काठमाडौँ फर्केका थिए।
संस्थापक महासचिव र सीपीसीसँग सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाका कारण पुष्पलालको चीन जाने इच्छा अस्वाभाविक थिएन। तर, तत्कालीन केन्द्रीय कमिटीले पुष्पलालको इच्छा र दाबीमाथि उदारता प्रदर्शन गरेन।
बाँकी दुई सिटका लागि नेकपाको केन्द्रीय कमिटीमा मतदान नै भयो। गोप्य मतदानमा शम्भुराम श्रेष्ठ र कमर शाह विजयी भए।
प्रतिनिधि मण्डल चीन पुगेर फर्कन डेढ महिना लाग्थ्यो। डेढ महिनाका लागि नेकपाले ‘कार्यवाहक महासचिव’ चयन गर्नुपर्ने भयो। यो जिम्मेवारीका लागि पुष्पलालको नाम प्रस्ताव भयो।
तर, आफूलाई पराजित गरिएकोमा पुष्पलाल यति दुःखी र आक्रोशित थिए कि उनले ‘कार्यवाहक महासचिव’ बन्न गरिएको प्रस्ताव स्वीकार गर्दैगरेनन्।
‘म पार्टीको संस्थापक हुँ, त्यस नाताले म चीन जार्नै पर्दथ्यो, यो ठीक भएन,’ चीन जाने टोलीमा निर्वाचित स्व. शम्भुराम श्रेष्ठले कार्यवाहक महासचिवको प्रस्ताव राखिँदा पुष्पलालले दिएको जवाफ आफ्नो संस्मरणात्मक पुस्तक ‘मेरो राजनीतिक जीवनका संस्मरणहरु’ मा यसरी उल्लेख गरेका छन्, ‘पुष्पलाल त्यसरी आवेशमा आएको मैले कहिले पनि देखेको थिइनँ, उहाँ आवेशमा बोल्दै जानुभयो। कसैले केही बोल्नै सकेनन्।’
पुष्पलालले कार्यवाहक महासचिवको प्रस्ताव स्वीकार नगरेपछि कसलाई ‘कार्यवाहक महासचिव’ को जिम्मेवारी दिने भन्ने समस्या सिर्जना भयो। त्यही संकटका बीच डा. केशरजङ्ग रायमाझी अघि सरे।
‘चारपाँच दिनभित्र हामी चीन हिँड्नुपर्ने भइसकेको थियो, तर कार्यवाहक महासचिव नियुक्त गर्न सकिएको थिएन,’ श्रेष्ठले भनेका छन्, ‘डा. केशरजङ्ग रायमाझीले ‘अढाई महिनापछि तपाईंहरु फर्किहाल्नुहुन्छ, त्यतिन्जेलका लागि केन्द्रीय कार्यालयमा बसिदिन्छु’ भन्ने प्रस्ताव गरे। पुष्पलाललाई फकाउँदा–फकाउँदा हैरान भएका कमरेडहरुले ‘हुन्छ, डाक्टर (रायमाझी) नै केन्द्रीय कार्यालयमा बसिदेऊ भन्न थाले।’
महासचिव मनमोहन अधिकारी डेढ महिनाका लागि मात्र चीन गएका थिए। तर, त्यहाँ पुगेपछि थाहा भयो, उनको स्वास्थ्यमा गम्भीर समस्या आइसकेको रहेछ। त्यहीकारण उनी थप तीन वर्ष चीनमा रहे।
श्रेष्ठका भनाइमा त्यो बेला नेकपाले डा. रायमाझीलाई ‘कार्यवाहक महासचिव’ कै जिम्मेवारी दिएको होइन। केवल ‘केन्द्रीय कार्यालय हेर्ने’ जिम्मेवारी मात्र उनले पाएका थिए।
तर, अधिकारीको चीन बसाइ लम्बिने भयो। त्यसपछि डा. रायमाझीले ‘कार्यवाहक महासचिव’कै हैसियतमा काम गर्न थाले।
२०१४ मा फोहोरा दरबारमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनमा डा. रायमाझी महासचिव निर्वाचित भए। त्यो महाधिवेशनले प्रतिवेदन पुष्पलालको पारित गर्यो। तर, महासचिवमा भने पुष्पलाललाई पराजित गर्दै डा. रायमाझी निर्वाचित भए।
डा. रायमाझीको नेतृत्वमा नेकपा गएपछि बल्ल पुष्पलाललाई चीन जाने अवसर जुर्यो।
‘जनवादी गणतन्त्र चीन’ स्थापना भएको दसौँ वार्षिकोत्सव समारोह (२०१६ भदौ) मा नेकपालाई पनि निम्तो प्राप्त भएको थियो। त्यो समारोहमा नेकपा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै डा. रायमाझी चीन पुगे।
चीन भ्रमणका क्रममा बायाँबाट डा. रायमाझी र पुष्पलाल (अगाडि), मनमोहन र पीबी मल्ल (पछाडि)
चीन भ्रमणका क्रममा बायाँबाट डा. रायमाझी र पुष्पलाल (अगाडि), मनमोहन र पीबी मल्ल (पछाडि)
महासचिव डा. रायमाझी नेतृत्वको प्रतिनिधिमण्डलमा संस्थापक महासचिव पुष्पलाल र पोलिटब्युरो सदस्य पीबी मल्ल सदस्य थिए।
डा. रायमाझी र पुष्पलाल चीन पुग्दा मनमोहन अधिकारी चीनमा उपचाररत नै थिए। चीनमै नेकपाका पूर्व र वर्तमान गरी तीनजना महासचिवहरुले पोलिटब्युरो सदस्य मल्लका साथ संयुक्त रुपमा चीन घुमघाम गरे।
अन्तिम क्षण : अलग बाटो
बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारलाई राजा महेन्द्रले १ पुस २०१७ मा अपदस्थ गर्दा अधिकारी उपचार सिध्याएर चीनबाट फर्किसकेका थिए। त्यो बेला पार्टी डा. रायमाझीको नेतृत्वमा थियो।
२०१७ को काण्डपछि अधिकारी विराटनगरबाट पक्राउ परे। सात वर्ष लामो कारावासपछि उनी ४ फागुन २०२५ मा रिहा भए।
त्यो काण्डका बेला सोभियत संघ भ्रमणमा रहेका महासचिव डा. रायमाझीले भने नेपाल फर्केपछि राजा महेन्द्रलाई समर्थन गरे। डा. रायमाझीको कदमपछि नेकपाभित्र विभाजनको शृङ्खला सुरु भयो।
डा. रायमाझीले पार्टीलाई ‘धोका’ दिए पनि पुष्पलालले नेकपा क्रान्तिकारी धारलाई जोगाइरहे। उनी नयाँ ढंगले पार्टी पुनर्गठनमा लागे।
विसं २०२५ मा अधिकारी जेलबाट रिहा हुँदा नेकपा रायमाझी, पुष्पलाल र तुलसीलाल श्रेष्ठ गरी तीन समूहमा विभाजित भइसकेको थियो। रिहा भएपछिको केही वर्षपछि मनमोहनले पञ्चायतको विरुद्धमा रहेका नेकपाका विभाजित समूहहरुलाई एकीकृत गर्ने प्रयास थाले।
पुष्पलालले पनि यस्तै प्रयास गरिरहेका थिए। तर, सफल भइरहेका थिएनन्।
नेकपा एकताका लागि २०२८ मंसिरमा पुष्पलाल र मनमोहनबीच वार्ता सुरु भयो। मनमोहनले नेकपाको ‘केन्द्रीय न्युक्लियस’ निर्माणको प्रस्ताव गरे।
पुष्पलाल कम्युनिस्ट आन्दोलनका सबैभन्दा शीर्ष नेता थिए। त्यही बेला एकता प्रक्रिया अघि बढ्न सकेको भए एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्वको अवसर सम्भवतः पुष्पलालकै काँधमा आउन सक्थ्यो।
तर, नेपालका कम्युनिस्टहरुलाई एउटै झण्डामुनि गोलबद्ध गर्ने प्रयास त्यो बेला सम्भव भएन।
पुष्पलालसँग वार्ताका लागि मनमोहन शम्भुराम श्रेष्ठका साथ विराटनर नजिकैको भारतीय सहर फारबिसगञ्ज गएका थिए। एकताका लागि आफू सकारात्मक रहेको जवाफ पुष्पलालले भरतमोहनमार्फत् पठाइसकेका थिए।
त्यसैले, मनमोहन उत्साहित हुँदै फारबिसगञ्ज पुगे।
पुष्पलालसँग भएको पहिलो दिनको कुराकानीबाट मनमोहन यति धेरै उत्साहित थिए कि दोस्रो दिनको छलफलपछि ‘एकता घोषणा’ हुने बताउँदै ‘भोज गर्नुपर्छ’ भनेर त्यसका लागि केही रकम भरतमोहनसँग मागेर लगेका रहेछन्।
तर, दोस्रो दिनको वार्तापछि फारबिसगञ्जबाट फर्किंदा मनमोहनको अनुहार उज्यालो थिएन। ‘के भयो?’ भनेर सोध्दा ‘पुष्पलाल पनि मानेनन्, शम्भुराम पनि मानेनन्’ भन्दै एकता प्रयास भाँडिएको छोटो जवाफ मनमोहनले दिए।
‘एकता गरेर जाने हो भने पुष्पलालले आफ्नो नेतृत्वमा रहेको पार्टी त्यसैदिन विघटन गर्नुपर्छ,’ भन्ने कडा सर्त शम्भुरामले राखेका थिए। औपचारिक बैठक र निर्णयबिना पुष्पलाल पार्टी विघटनजस्तो गम्भीर निर्णय लिनसक्ने स्थितिमा थिएनन्।
चीन भ्रमणका क्रममा एउटा परियोजनाको अवलोकन गर्दै पुष्पलाल र मनमोहन
चीन भ्रमणका क्रममा एउटा परियोजनाको अवलोकन गर्दै पुष्पलाल र मनमोहन
‘यस्तो गम्भीर एवं संवेदनशील विषयमा मनमोहनजीले हस्तक्षेप गरेर ‘शम्भुरामजी, तपाईंले यो अलिक बढी कुरा गर्नुभयो, यो न्युक्लियसको म्यान्डेट पनि होइन’ भन्नु भएनछ’ भरतमोहनले आत्मकथामा भनेका छन्, ‘मनमोहन दाजुको बानी नै यस्तै थियो। उहाँ मौकामा ‘भलाद्मी’ बनिदिनु हुन्थ्यो। सबैले मानिहाल्छन्, किन किचलोमा पर्ने भन्ने उहाँको सोचाइ थियो।’
शम्भुरामको अव्यावहारिक प्रस्ताव र मनमोहनको ‘भलाद्मी’ स्वभावका कारण नेकपा एकताको एउटा ठूलो सम्भावना तत्कालका लागि टर्यो। त्यो सम्भावना टरेपछि पुष्पलाल आफ्नो बाटो लागे, मनमोहन पनि आफ्नै बाटो।
७ साउन २०३५ मा संस्थापक महासचिव पुष्पलालको नयाँदिल्लीमा निधन भयो। त्यो बेला पुष्पलाल र मनमोहन नेकपाको अलग–अलग समूहको नेतृत्व गरिरहेका थिए।
नेपालको कम्युनिस्ट आन्दोलनका यी दुई शीर्ष व्यक्तित्वलाई नियतिले जीवनको अन्तिम क्षणमा सँगै रहने अवसर दिएन।
रामकुमारी झाकिको गहभरि आँशु मन्त्रालयको बिदाइ कार्यक्रममा !!
१२ असार, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदा लिएकी छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम सिफारिस गरेको थियो । तर मन्त्रीहरुले आफूहरुले बनाएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन चाहे । प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भएपछि उनीहरु हटेनन् ।
तर शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने भन्दै तत्काल सपथ गराउन प्रधानमन्त्रीलाई आग्रह गर्यो । त्यसको भोलिपल्ट राष्ट्रियसभामा जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालय पनि छाडेकी छन् । त्यसअघि मन्त्रालयले ‘पत्रकार सम्मेलन र फेरि भेटौंला’ कार्यक्रम राखेको थियो ।
कार्यक्रममा झाँक्री निकै भावुक बनिन् । मन्त्रालयका कर्मचारीले ८ महिना २० दिनमा गरेको कामको फेहरिस्त सुनाउँदा निरन्तर आँशु झारिरहिन् । उनले सञ्चारकर्मीको प्रश्न लिइन्, तर असहज भएको भन्दै जवाफ दिइननन् ।
छोटो प्रतिक्रिया दिएकी एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले गत चैतमा नै मन्त्री फेर्न चाहेको Only पाएपछि पूर्व जानकारी दिन आग्रह गरेको बताइन् ।
तर चुनाव समीक्षाका लागि बोलाएको बैठकले मन्त्री फेर्ने निर्णय गरेको र सञ्चार माध्यमबाट थाहा पाउनु परेको गुनासो गरिन् । भोलिपल्ट प्रधानमन्त्रीलाई भेटेर के गर्ने भनेर सोधेको र बजेटसम्म काम गर्नु भनेको भन्दै झाँक्रीले भनिन्, ‘आफूले बनाएको बजेटको बचाउ गर्ने रहर थियो । आफूले गरेको काम भन्ने र स्थापित गर्ने रहर थियो ।’
‘तत्काल मन्त्रीको शपथ गराऊ, अब पर्खिन्नौं’
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले मन्त्री सिफारिस गरेकाहरुलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । पार्टीको निर्णय कार्यान्वयनका लागि भएको ढिलाइलाई आफूहरुको अपमानको रुपमा बुझ्ने समेत चेतावनी दिएको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने बताएका हुन् ।
‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं । तपाईहरुले आन्तरिक तनाव व्यवस्थापन गर्न खोज्दा हाम्रो पार्टीमा खेल्न खोजेको हामीलाई लज्जित गर्न खोजेको जस्तो देखिएको छ’ उनले भने ।
उनले अब मन्त्रीको शपथ ग्रहणमा ढिलाइ नगर्न आग्रह गरिएको पनि बताए । ‘अब ढिलाइ गर्नुभयो भने त्यसपछिको कुरा त्यसपछि गरौंला’ नेता खतिवडाले चेतावनीको शैलीमा भने ।
नेकपा एकीकृत समाजवादीले हाल मन्त्रिपरिषदमा रहेका नेताहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ । तर निर्णय भएको २१ दिन भए पनि अहिलेसम्म मन्त्री सिफारिस भएकाहरुले शपथ ग्रहण गर्न नपाएकामा एकीकृत समाजवादीले आपत्ति जनाएको हो ।
प्रचार विभाग प्रमुख खतिवडाले एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीको सूचिमा संशोधन हुँदैन नहुने पनि बताए । केही मन्त्रीहरुले मन्त्रीको सूचि हेरफेर गर्नुपर्ने भनी पार्टीमा माग गरेको चर्चा चलेको थियो । तर खतिवडाले बैठकपछि पत्रकारहरुसँग भने, ‘मन्त्रीको सूचि संशोधन हुँदैन, समय क्रममा नाम थप्नुपर्ला, घटाउनुपर्ला, तर अहिले नाम संशोधन गरेर नयाँ नाम पठाइँदैन ।’
उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको पनि बताए । शनिबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पुनः बस्ने छ।
झाक्रि समुहले माधव नेपाल विरुद्ध समानान्तर गतिविधि सुरु ।
काठमाडौँ — नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको रडाको मच्चिएपछि पार्टी नै संकटमा परेको छ । पार्टी सचिवालकै निर्णयविरुद्ध बहालवाला मन्त्रीहरुले समानान्तर गतिविधि चलाइरहेका छन् ।
जबकि गठबन्धनको सरकारमा मन्त्री फेर्नु र रहनुको औचित्य पुष्टि नै भएको छैन । प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्नकै लागि एमाले विभाजनका बेला माधवकुमार नेपालतिर हाम फालेका थिए ।
रामकुमारी झाँक्री र विरोध खतिवडा भनेओली नेतृत्वको एमालेमा मन्त्री हुनै नपाउने छाँट देखेपछि फरक पार्टी निर्माणका लागि माधव नेपाललाई हात डो¥याएरै निर्वाचन आयोगको ढोकासम्म धकेलिदिएका पात्र हुन् ।उपहार स्वरुप नौं महिना पहिले नै माधव नेपालले यी व्यक्तिलाई मन्त्रीबनाए । अहिले निकाल्न खोज्दा पार्टीमा समानान्तर अभ्यास नै चलाउन खोजेका छन् ।
करिब तीन साताअघि पार्टी अध्यक्ष नेपालले बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई सिफारिस गरेको थियो भने, राज्यमन्त्री भवानी खापुङको बढुवा गर्दै मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्रीमापठाउने निर्णय गरेको थियो । तर आफु हट्नु परे आफु अनुकुलकै पात्रलाई छोड्ने भन्दै बहालवाला मन्त्रीहरुलेशनिबार कृष्णलाल श्रेष्ठ, निरादेवी जैरु, धनबहादुर बुढा र दाङका हिराचन्द्रकेसीलाई मन्त्री र गोपाल बमलाई राज्यमन्त्री बनाउने प्रस्ताव गरेको छन् ।
नेपालले पार्टी सचिवालयमार्फत गराएको निर्णय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समय तामेलीमा राखिदिएपछि समाजवादीमा अहिले अशान्ती मच्चिएको छ ।
पार्टी अध्यक्ष नेपालसहितको नेतृत्व पंक्तिले सरकारबाटफर्किन दबाब दिइरहेका बेला शुक्रबार चारमन्त्रीले १० सांसदको हस्ताक्षरसहित नेतृत्वलाई पत्र नै बुझाए । अपरिपक्क निर्णय गरेको भन्दै आक्रामक बनेका उनीहरुले शनिबार पार्टीले गरेको सिफारिसविरुद्ध फरक सूची तयार पारेका छन् ।फलतः अहिले समाजवादीभित्र विगतमा एमालेकै जस्तो समानान्तर गतिविधि चलिरहेको छ ।
मन्त्री छोड्न र मन्त्री हुनकै लागि मरिहत्ते गरिरहेका नेताहरुका कारण समाजवादीपार्टी निर्माणको एक बर्ष नपुग्दै धरमराएको छ ।पार्टीले सिफारिस गरेपछि समयमै निर्णय कार्यान्वयन गराउनुपर्ने प्रधानमन्त्रीसमेत यसमा बाधक जस्तो बनेका छन् । मन्त्री हेरफेरकै विषयले द्वन्द्वको अवस्था बनेपछि पार्टीमा सन्तुलन मिलाउन अध्यक्ष नेपाललाई हम्मेहम्मे परेको छ ।
नेपालको संकटमाथि पूर्वसहयात्री तथा विभाजनका बेला अन्तिममा ओलीतिरै हानिएका नेताहरुले ‘खुच्चीङ खाइस’ शैलीमा असन्तोष प्रकट गरिरहेका छन् । तर नेपालले आफूलाई साथ नदिई एमालेमै रहेका दश भाईलाई दासहरुको संज्ञा दिँदै धारे हात नलाउन सुझाव दिएका छन् ।
समाजवादीमा मन्त्री फेरिदाँ त्यसको दबाब काँग्रेस र माओवादीमा पर्नेछ । जसपा यसै विभाजनमा डिलमा छ ।तर मन्त्री फेर्नु र रहनुको औचित्य भने कतैबाट पुरा भएको छैन ।
जबकि सरकारमा हुँदा पनि उनीहरुले कुनै ढंगको काम गर्न सकेका छैन । चर्चामै शहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीदेखि अश्लिल गालिगलौजमा पटकपटक मुछिएर नैतिकता गुमाएका प्रेम आलेसम्मै सरकारमा रहनुको औचित्य छैन ।
माओवादीका नैतिक हराम अर्थमन्त्री जनार्दन शर्मादेखि काँग्रेसका काम न काजका राज्यमन्त्री उमेश श्रेष्ठ हुँदै परराष्ट्रमन्त्री नारायण खड्कासम्म सरकारमा रहनुको औचित्य पुष्टि हुन सकेको छैन ।फलतः मन्त्रीको लडाई पार्टी र सत्ता स्वार्थका लागि आवश्यक भएपनि मुलुकका लागि दुरदशा मात्र बनेको छ ।
नेबि संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समितिको आयोजनमा प्रथम बिपि स्मृति फुटबल प्रतियोगीता सुचारु !!
नेबि संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समितिको आयोजनमा भएको प्रथम बिपि स्मृति फुटबल प्रतियोगीताको पहिलो दिन उदघाटन समारोहमा प्रमुख अतिथीको रुपमा नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री एवम् नेपाली कांग्रेसका युवा नेता दीपक भट्टराई ज्यु साथै बिशिस्ट अतिथिको रुपमा पोखरा ३० नेपाली कांग्रेस वडा सभापति ध्रुव राज न्यौपाने ज्यु , नेपाली कांग्रेस कास्की -१ प्रदेश -१ सहसचिव सुबास भण्डारी ज्यु , तरुण दलका प्रभावशाली नेता प्रकाश पुन ज्यु , नेबि संघ प्रभावशाली नेता प्रताप बानियाँ ज्यु लगायत विभिन्न क्याम्पसका सभापति ज्यु हरु प्रतिनिधि ज्युहरु साथसाथै नेपाली कांग्रेस र पार्टीका विभिन्न भातृ संगठनमा सलग्न ब्यक्तित्वहरु , नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयला नेताज्यु हरु लगायत संगठन र खेलमा चासो राख्ने विद्यार्थीहरुको माया र सद्भाव र सहयोगले हाम्रो पहिलो र दोस्रो दिन उल्लासमय तवर ले कार्यक्रम अघि बढेको छ ।
पोखरा-सिक्लेस बाटाे अवरुद्ध, पहिरो पन्छाउन कठिन!!
पोखरा । अविरल वर्षाले काहुँखोला-सिक्लेस-दूधपोखरी सडक खण्डमा आएको पहिरोले सडक पूर्णरूपले अवरुद्ध छ ।
सडक खण्डअन्तर्गत पर्ने मादी गाउँपालिका वडा नं. ७ ढोडेनी र तिलहर भन्दा माथिको ठाउँमा, मादी-६ स्थित तप्राङ र चिप्लीविचको खोलामा, मादी-१ स्थित पदुखोलाको वारी र पारी दुई स्थानमा ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको मादी गाउँपालिकाका वडा नं. १ का अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा पोखरासम्म बिरामी, वृद्ध, पर्यटकहरूलाई आवतजावत गर्न कठिनाइ भएको अध्यक्ष गुरुङले बताए । वर्षाले नरोकिएको र पहिरो झर्नेक्रम पनि जारी रहेकाले पहिरो पन्छ्याउन पनि समस्या भएको बताइन्छ । पहिरो पन्छाएर तत्काल सडक सञ्चालन गर्नका लागि मादी गाउँपालिकाको कार्यालय, गण्डकी प्रदेश सरकारसंग आग्रह गरिएको उनले बताए ।
पहिरो पन्छाएर सडक खुलाउने विषयमा मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष दुर्गा गुरुङ, ६ का वडाध्यक्ष दिलवहादुर क्षेत्री र १ का वडाध्यक्ष गुरुङबीच सम्वाद भइरहेको बताइन्छ ।
पोखरामा राष्ट्रिय युवा संघ गण्डकीले प्रधानमन्त्री देउवाको पुत्ला जलायो !!
१० असार, कास्की । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
राष्ट्रिय युवा संघका कार्यकर्ताले पोखरा, पृथ्वीचोकमा शुक्रबार साँझ मसाल जुलुससहित नाराबाजी गरेको थिए ।
उनीहरुले शंख फुक्दै पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका थिए ।


नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय द्वारा प्राथमिक उपचार एवंम सिपिआर तालिम सम्पन्न !!
बुधबार ०८ असार २०७९, पोखरा
ने.वि.संघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायले प्राथमिक उपचार र सिपिआर तालिम सञ्चालन गरेको छ। भवितव्यं घटनाको त पुर्वानुमान गर्न सकिँदैन तर दुर्घटना पुर्वको पुर्वतयारी, संयमता र ज्ञानले दुघटना पश्चात्को थप क्षती र जोखिम कम गर्न उदेश्यको साथ ग्रामीण क्षेत्र बाट आउनुहुने आम बिद्यार्थीहरुमा ज्ञान दिन उक्त कार्यक्रम आयोजना गरिएको थियो।
पृथ्वीनारायण क्याम्पस स्थित ह्वाईटहाउस बिल्डिङ्गमा सञ्चालित उक्त कार्यक्रम एक सय सत्र जना बिद्यार्थीको उल्लासमय सहभागितामा सम्पन्न भएको थियो।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष एवंम समाजसेवी व्यक्तित्व सुर्य प्रसाद ढकालको प्रमुख अतिथ्यता र बिशिस्ट अतिथीमा प्राथमिक उपचार बिशिस्ट प्रशिक्षक एवंम होमस्टे अनुगमन तथा सुपरिवेक्षण आयोग केन्द्रिय सचिव सामाजसेवि व्यक्तित्व हरिलाल पौडेल संगै नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई सभापति गौरव बराल, नेविसंघ पृथ्वीनारायण क्याम्पस कानुन समन्वय समिती निवर्तमान अध्यक्ष स्वरुप बन्झाडे हुनुभएको सो कार्यक्रमको सभापतित्व नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिवेक पराजुलिले गर्नुभएको थियो।
कार्यक्रमलाई पहिलो खण्डमा प्रशिक्षण कार्यक्रम र दोस्रो उपस्तिथि बिद्यार्थीको जिज्ञासा सहितको अन्तरक्रियात्मक गरि दुई खण्ड बाट सञ्चालन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी ढकालले प्राथमिकता उपचारको महत्व बताउदै बिश्वपरिवेशमा नै प्राथमिक उपचारलाई महत्त्वमा राखेर तालिम सञ्चालन गरिरहेको परिवेशमा नेविसंघले यो अभियान क्याम्पस स्तरमा सञ्चालन गरेकोमा आभार व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा प्राथमिक उपचार के हो ? यसको आवस्यकता किन छ ? महत्व कति छ ? मनसुनको समयमा हुने क्षती सर्पले टोकाई, करेन्ट लाग्ने, रक्तस्राव कसरी रोक्ने, पानीमा डुब्दा कसरी उद्दार गर्न ?, सिपिआर के हो ? यसको महत्व के छ ? बयस्क र बालकलाई सिपिआर कसरी दिने आदि जस्ता साधारण तर अत्यावश्यक विषयको प्रशिक्षण भएको थियो।
अमेरिकन हार्ट एसोसिएसनका अनुसार हाल विश्वमा मुटु रोगले सबैभन्दा बढी मान्छे मर्ने गरेका छन्। कार्यक्रममा कार्डियोपल्मोनरी रिससिटेसन (सिपिआर) काम गर्न छोडेको मुटुलाई जगाउने तरिकाको तालिम डमि सहितको परिक्षण गराएर गरिएको थियो।
बिशिस्ट अतिथी प्रशिक्षक पौडेलले सिपिआरको प्रयोगात्मक प्रशिक्षण दिदै सिपीआर दिँदा हातले छातीमाथि सकेको बल लगाएर थिच्नुको अर्थ मुटुले गर्ने काम तपाइँ–हाम्रो हातले गर्दा त्यो थिचाइबाट नै मुटु र मस्तिष्कले अक्सिजन भएको रक्तसञ्चार पाउँछ र बिरामीलाई मर्नबाट बचाउन सकिने बताउनु भयो।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता एवंम नेपाली काङ्ग्रेस शिद्दिचरण नगरपालिकाका सहसचिव राजेन्द्र पराजुलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम नेविसंघ पि.एन.क्याम्पस व्यवस्थापन संकाय उपसभापति अजित क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति एवंम कार्यक्रमका विशेष अतिथी गौरब बरालले प्राथमिक उपचार र सिपिआर तालिम तालिमको रुपमा मात्र नभैइ भौगोलिक विविधता युक्त हाम्रो देशमा अझ ग्रामीण क्षेत्र बाट आउनुहुने आम बिद्यार्थीहरुमा मनसुनको समयमा घट्ने घटनाले निम्ताउने क्षतिलाई कम गर्न पुर्वतयारी पनि यो कार्यक्रमले प्रदान गरेको बताउदै सहभागी बिद्यार्थी, अतिथी एवंम आयोजक समितिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अतिथिको रुपमा नेविसंघ पृथ्वीनारायण क्याम्पस सचिव राज आचार्य, नेविसंघ जनप्रीय बहुमुखी क्याम्पस सचिव आदित्य देवकोटा, इकाई कोषाध्यक्ष सुजि मगर, इकाई सहसचिव प्रभाव शर्मा, भावना पौडेल, नेविसंघ पर्वत पृथ्वीनारायण क्याम्पस सम्पर्क समिति सभापति बिधान अधिकारी, नेविसंघ कास्की क्षेत्र नं ३ ख सभापति सुजन पराजुली, बिद्यार्थी नेता द्वय संस्कार कोइराला, अजित क्षेत्री, विशाल रेग्मी, प्रतिभा अधिकारी, बिवेक भट्टराई, प्रयास कोइराला, नरेस पाठक, सागर सुवेदी, बिवेक सुवेदी रिसिकेश चालिसे हुनुभएको थियो।
“नेविसंघ अरुमा प्रयोग गरेर रुपान्तरणको पक्षमा होइन आफुमा प्रयोग गरेर परिवर्तनको उद्घोष गर्दछ कसैको प्रतिस्पर्धी र प्रतिशोधी नभै स्थापित परिचयलाई थप परिस्कृत र परिणाममुखी बनाउने अभियान अन्तर्गत प्राथमिकता उपचार र सिपिआर तालिम आयोजना गरिएको हो। साधारण ज्ञानले असाधारण क्षती बाट वच्ने जीवन रक्षा कवज साबित हुन सक्छ। यो तालिमको सिपले सहभागी साथिहरुमा जीवन उपयोगी र प्रयोगशिल हुने विश्वास लिएको छु।” कार्यक्रमका सभापति विवेक पराजुली बताए।
कार्यक्रम एकदमै प्रोडक्टिभ र इफेक्टिभ भएको छ। प्राथमिक उपचारको परिचय, महत्व र दुर्घटना पश्चातको क्षती कम गर्न बेहोसमा रहेको मानिसलाई देख्दा अतालिएर बस्नु पर्न बाध्य हुनेथियो भने सिपिआर प्रयोगात्मक परिक्षण बाट प्राथमिक उपचारको सीपको प्रयोग गरर्न छौं।” कार्यक्रममा सहभागी बिद्यार्थीले बताएका छ्न।
छिटो मन्त्री फेर्नुपर्ने समाजवादीको निर्णय, बालुवाटारमा गठबन्धन बैठक
सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना चारजना मन्त्री फेर्ने निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।
मन्त्री फेर्ने निर्णय १७ दिनसम्म पनि अलपत्र परेपछि समाजवादीको सचिवालय बैठकले यथाशिघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेको हो।
समाजवादी सचिवालयको जेठ २२ गतेको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
तर, उक्त निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले चासो नदिएपछि समाजवादीले थप दबाब बढाएको हो।
समाजवादीका सम्मानित नेता झलनाथ खनालले बुधबारको सचिवालय बैठकपछि पत्रकारहरुसँग बोल्दै आफूहरुको निर्णय यथाशिघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको बताए।
‘मन्त्री हेरफेर गर्ने हाम्रो निर्णय तत्कालै कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई भनेका छौँ’, उनले भने, ‘उक्त निर्णय कार्यान्वयन गराउनका लागि हाम्रा अध्यक्ष माधवकुमार नेपाल अहिले बालुवाटार जानु भएको छ।’
अहिले दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक छ। उक्त बैठकमै नेपालले पार्टी निर्णय पनि सुनाउने भएका छन्।
खनालका अनुसार सचिवालयले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठक डाक्ने निर्णय पनि गरेको छ।
समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
तर समाजवादीको निर्णयमा पर्यटनमन्त्री आलेसहित बाधक बनेका छन्। आलेले सार्वजनिक रुपमा पार्टीको निर्णय मान्ने बताए पनि पद जोगाउन उनैले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लविङ गरेको खुलेको छ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा