२०८३ असार ८ सोमबार

“अर्थमन्त्री जनार्दन शर्मालाई अलिकति पनि लज्जा छैन ?” खगराज अधिकारी l

काठमाडौं, १ असार । नेकपा एमालेका स्थायी समिति सदस्य खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विकल्प नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “बजेट पढ्ने अघिल्लो राती साढे १२ बजेर घिमिरे थरका पूर्व नायबसुब्बा किन अर्थ मन्त्रालय पसे ? अग्रवाल, न्यौपाने आदि घराना अनि जुत्ता, रड, चाउचाउ, गाडी आदिकोे राजस्वका दरमा फेरबदल गर्ने अधिकार कसरी पाए ? त्यसैले अर्थमन्त्रीले राजीनामा दिएर संसदीय छानबिन समितिलाई सहयोग गर्नुपर्छ । उनी धेरै दिन रहे भने सीसीटभी फुटेज लुकाउन सक्छन् । डा. रामशरण महतले विदेशी डलर लुकाएर विदेशी खातामा राखेको हामीले पत्ता लगाएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । अहिले पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्छ तर किन मौन हुनुहुन्छ ?”
नेकपा एमाले अर्थमन्त्री शर्माको अनैतिक कार्यको फड्के किनाराको साक्षी नबस्ने पनि अधिकारीले बताए । उनले भने, “हामी प्रधानमन्त्री वा अर्थमन्त्रीको व्यक्तिगत विरोधी होइनौं । हामीले प्रणाली बचाउनुपर्छ । सीधै डकैती गरेको बुझ्दाबुझ्दै पनि निजले संसदमा उपस्थिति भएर कसरी जवाफ दिन सकेको ? अलिकति लोकलज्जा हुँदैन ? उल्टै हामीलाई पो लाज भइरहेको छ । कमसेकम नेकपा एमाले यस्तो अनैतिक कार्यको फड्के किनाराको साक्षी बस्दैन ।”
अब शर्मालाई पदमा राख्नै नमिल्ने उनले बताए । अधिकारीले थपे, “अब पनि उहाँलाई पदमा राखिरहनु हुन्छ ? उहाँ त्यो अनुहार लिएर अर्थमन्त्रीका रुपमा संसदमा आउनै हुन्न । यस्तालाई साथ दिने के नेता होलान् ? कस्ता नेता होलान् ? मुलुकलाई लुटखसोटमा लान मिल्दैन । अर्थमन्त्रीसँग सम्बन्धित कुरालाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।”
उनले अमेरिकासँग सैनिक समझदारीमा हस्ताक्षर गर्नु गम्भीर आपत्तिजनक हुने पनि बताए ।

कम्युनिस्टहरूले अमेरिकासँग सैन्य समझदारी गर्न लागेको स्यालहुइयाँ मच्चाए: कांग्रेस सहमहामन्त्री

काठमाडौं, १ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अमेरिकासँग नेपालले सैन्य समझदारी गर्न लागेको भ्रामक प्रचार गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “अहिलेको अवस्थामा नेपाल कुनै पनि सैन्य गठबन्धनमा जाँदैन । यसबारे हिजो अमेरिकी दूतावासले पनि स्पष्ट गरिसकेको छ । विभिन्न मुलुकका सेनाहरुबीच सैन्य अभ्यास भइरहन्छ ।सैन्य अभ्यास गर्नु, सीप सिक्नु स्वाभाविक हो । नेपाली सेना चीनमा सैन्य अभ्यास भएको छैन ? के नेपाल चीनको सैन्य गठबन्धनमा गयो त ? यो कम्युनिस्टहरुको नेपाली जनतालाई भ्रम पार्ने कुरा मात्र हो । कहिले भारतलाई गाली गर्छन्, कहिले अमेरिकालाई गाली गर्छन् । त्यसो नगरी जनतालाई भ्रमित पार्न सकिँदैन ।”
नेपाली कांग्रेस आफैं सैन्य गठबन्धनको विपक्षमा रहेको पनि उनले औंल्याए । यादवले भने, “नेपाली कांग्रेसले कहिल्यै सैन्य गठबन्धनको पक्षमा छैन । अमेरिका नेपालको सबभन्दा पुरानो मित्र र दाता राष्ट्र हो । अमेरिका प्रजातान्त्रिक मुलुक हो । नेपाल पनि प्रजातान्त्रिक मुलुक हो । अहिले पनि नेपालमा अमेरिकी सहयोगमा धेरै परियोजना सञ्चालित छन् । एमसीसी अनुमोदनका बेला अमेरिकी सेना गाउँगाउँमा आएर बस्छ । पशुपतिको मूलभट्ट पनि अमेरिकन हुन्छन् भनेका होइनन् ? एमसीसीको पैसा आयो, सेना त आएन नि ।”
पञ्चशील र असंलग्न परराष्ट्र नीतिमा कांग्रेस अडिग रहेको यादवले बताए । उनले भने, “शेरबहादुर देउवा पहिलो चोटि अमेरिका जान लाग्नुभएको हो र ? पहिले के खराबी भयो र अहिले खराब हुन्छ ? नेपालमा लगानी बढाएर आर्थिक, सामाजिक उन्नति गर्नका लागि उहाँ अहोरात्र जुटिरहनुभएको छ । जसरी एमसीसीमा झूटो प्रचार भयो, यसपालि पनि त्यस्तै दुष्प्रचार गरिएको हो । यसमा कुनै सत्यता छैन ।”
कांग्रेसले पनि मन्त्री परिवर्तन गर्न लागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा सहमहामन्त्री यादवले भने, “अबको चार-पाँच महिनापछि निर्वाचन हुन्छ । अहिले किन मन्त्री फेर्नुपर्यो ? चुनावका बेला सरकारको टेस्ट हुन्छ । जस्तोः गृहमन्त्री बालकृष्ण खाँडले कुनै पनि अप्रिय घटना नभईकन शान्तिपूर्ण वातावरणमा निष्पक्ष चुनाव सम्पन्न गराउनुभयो । अब गृहमन्त्रीजी हटाउनु भनेको नेपाली कांग्रेसलाई दोस्रो पार्टी बनाउने षडयन्त्र हो ।”
कांग्रेसले किन केन्द्रीय कार्यसमिति बैठक नराखेको भन्ने अर्को प्रश्नमा यादवले भने, “अझै पनि जिल्ला समन्वय समितिको निर्वाचन सकिएको छैन । त्यो सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ ।”
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प कांग्रेसमा मात्र नभएर देशमै नभएको दाबी पनि गरे । यादवले भने, “शेरबहादुर देउवाको विकल्प कांग्रेसमा मात्र होइन, देशमै छैन । देश भिजन र अठोटले बन्छ । उहाँकै नेतृत्वमा पाँचदलीय गठबन्धन एकढिक्का भएर निर्वाचनमा जान्छ । पार्टीको विधान अनुसार उहाँ तेस्रो पटक सभापति बन्न पाउनुहुन्न । तर अब पनि उहाँकै नेतृत्वमा सरकार बन्छ ।”

चिल्ड्रेन –नेपालको स्वास्थ्य परिक्षण शिविर सम्पन्न !!

चिल्ड्रेन –नेपालको स्वास्थ्य परिक्षण शिविर सम्पन्न
पोखरा,
२९ जेठ
चिल्ड्रेन –नेपालको आयोजना तथा फेवा सिटि हस्पिटल पोखराको प्राबिधिक सहयोगमा १ दिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

चिल्ड्रेन –नेपालले पोखरामहानगरपालिका भित्र बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरु, तिनका अभिभाबकहरु, र संस्थाका कर्मचारीहरु गरी २१० जनाले उक्त शिबिरमा स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा बाल रोग, महिला तथा स्त्री रोग, नाक कान घाटी,रोग सर्जन र मुटु रोग सम्बन्धि डाक्टरहरु बाट रोगहरुको परिक्षण गरिएको थियो । परिक्षणमा फेवा सिटि हस्पिटलका महिला तथा स्त्री रोग बिशेषज्ञ डा.चण्डिका पण्डित र डा. पुजा न्यौपाने,बाल रोग बिशेषज्ञ डा. हुम प्रसाद न्योपाने, कन्सल्टेन्ट सर्जन डा. भोजराज न्यौपाने,मुटु रोग बिशेषज्ञ डा.बिश्वराज बराल, नाक कान घाटी रोग बिशेषज्ञ डा तुलीका दुबे ले १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गर्नु भएको थियो । परिक्षण कार्यमा फेवा सिटि हस्पिटलका मेट्रोन शारदा पराजुली, नर्सहरु क्रमसःसगुन शाही,रोशनी कार्की र बिनिता बरालले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो । हस्पिटलको तर्फबाट लेखा प्रमुख टंक पौडेल, सहायक प्रबन्धक नारायण आचार्य, इमरजेन्सि इन्चार्ज आकास गौतमले स्वास्थ्य परिक्षण शिविर व्यबस्थापनमा सहयोग गर्नु भएको थियो । शिविरमा बिरामीहरुलाई औषधी समेत निःशुल्क वितरण गरिएको कुरा संस्थाका बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले जानकारी गराउनु भएको थियो । उक्त कामलाई शान्ति परियार,मनिषा पौडेल,शान्ता बस्नेत र बिण्णु पोख्रेलले सहयोग गर्नु भएको थियो ।
स्वस्थ्य परिक्षण सम्पन्न पश्चात समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शान्त पौडेलले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि फेवा सिटि हस्पिटलका अध्यक्ष एबम महिला तथा स्त्री रोग बिशेषज्ञ डा.चण्डिका पण्डित हुनुहन्थ्यो । डा पण्डितले फेबा सिटि हस्पिटल र चिल्ड्रेन नेपालका बिच बिगतको अनुभबको स्मरण गर्दै संस्थाको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थासंग सहकार्य र समन्वय गर्दै जाने कुरामा जोड दिनु भएको थियो । चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले स्वास्थ्य परिक्षण शिविर गर्नुको उद्धेश्य प्रष्ट पार्र्दै चिल्ड्रेन नेपाल र फेवा सिटि हस्पिटल बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा विरामीलाई सुलभ किसिमले स्तरीय सेवा दिने उदेश्यले आयोजित निःशुल्क स्वास्थ्य शिविरले अपेक्षित उदेश्य हासिल गरेको स्पष्ट पार्नु भएको थियो । यो महत्वपुर्ण सहयोग र समयको लागी फेवा सिटि हस्पिटल प्रा लि को सम्पुर्ण टिमलाई धन्यबाद दिनु भएको थियो । संस्थाका अध्यक्ष शान्त पौडेलले स्वस्थ्य जस्तो संम्बेदनशिल बिषयमा फेवा सिटि हस्पिटल पोखराले प्राबिधिक सहयोग उपलब्ध गराई कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन गर्नु भएको सहयोगको चिल्ड्रेन नेपालले उच्च सम्मान गर्दै हस्पिटलको उत्तरोत्तर प्रगतीको कामना भएको थियो । कार्यक्रमको संचालन चिल्ड्रेन –नेपालका सह संयोजक रमेश सुबेदीले गरेका थिए ।


जनतामा भ्रमपूर्ण सूचना फैल्याइएको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जनतामा जे कुरा हो त्यही लैजानु पर्ने बताउनुभएको छ ।

अहिले जनतामा ९० प्रतिशत बढी भ्रमपूर्ण सूचना फैल्याइएको उहाँले बताउनुभो । यसले जनतालाई भ्रमित बनाउने काम गरेको उहाँले बताउनुभयो ।

बस्नेतले सरकारले जनतालाई दिने सेवा सहज, पारदर्शी र सुलभ बनाउनु पर्ने बताउनुभयो । ‘सरकारी निकायले जनतालाई दिने सेवा कसरी छिटो छरितो बनाउने ? अहिले पनि सेवा दिने परम्परागत शैली छ’, उहाँले भन्नुभयो ।

भक्तपुरमा आयोजित निःशुल्क हाड जोर्नी, नसा, स्त्री रोग, बाल रोग, तथा जनरल फिजियन जाँच कार्यक्रमको शनिबार शुभारम्भ गर्दै नेता बस्नेतले पुराना पुस्ताको सल्ला र सहयोग लिएर नयाँ पुस्ता नागरिकलाई बढी भन्दा बढी सेवा पुर्‍याउने काममा लाग्नु पर्नेमा जोड दिनुभयो । नागरिकलाई दिने सेवामा नयाँ नयाँ अवधारणा ल्याउनु पर्नेमा उहाँले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रम त्यस्तै नयाँ अवधारणा भएको उहाँले प्रष्ट पार्नुभयो ।

एक सय रुपैँयाबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ताले परिवारमा खुसी र माया पलाएको उहाँले बताउनुभयो । नेपाल जस्तो देशले सामाजिक सुरक्षाका यस्ता धेरै कार्यक्रम ल्याउनु पर्ने उहाँले बताउनुभयो ।
शिविर भक्तपुर इन्टरनेशनल हस्पिटलको प्राविधिक सहयोगमा, बाँसबारी सामुदायिक सेवा समाज बागेश्वरी भक्तपुरले आयोजना गरेको हो ।

भक्तपुर केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हाे ।

भक्तपुरको चागुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उपत्यकाका तीन जिल्ला सहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

आँबुखैरेनी पहिरो : एक जना मृतकको पहिचान खुल्यो सिरान्चोक, गोर्खा ठेगाना ।।

पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका २ शवमध्ये एउटाको पहिचान भएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइडमा कारसँगै गोरखाका केशव घिमिरेको शव भेटिएको हो ।

गोरखाको सिरानचोक गाउँपालिका छोप्राक स्थायी घर भई हाल आँबुखैरेनी गाउँपालिका-२ मा बस्दै आएका ३५ वर्षीय घिमिरेको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको थियो । एउटा शवको भने पहिचान भएको छैन ।

सोही ठाउँमा एउटा मोटरसाइकल पनि खसेको र चालक सकुशल रहेको पनि बताइएको छ । सडक पूर्ण रूपमा भासिएकाले अहिले दुवैतर्फ सयौँ सवारी साधनसहित यात्रुहरू अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार अहिले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने विषयमा छलफल भइरहेको छ । अहिले घटनास्थलमा प्राविधिकहरू पठाइएको पनि कार्यालयले जनाएको छ ।

पृथ्वी राजमार्ग बन्द !!

पृथ्वी राजमार्ग बन्द

तनहुँको आवुखैरनी गा.पा ४ ड्याम साइड स्थित पृथ्वी राजमार्ग अविरल बर्षाको कारण भासिन गई दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।

सडक मर्मत गर्न समय लाग्ने भएकोले उक्त राजमार्ग भएर चल्ने सवारी साधनहरूले बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

जनप्रतिनिधिहरुलाई स्वागत सम्मान र बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण।

२५ जेठ २०७९
पोखरा
जनप्रतिनिधिहरुलाई स्वागत सम्मान र बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण।
चिल्ड्रेन नेपालको आयोजनामा नब निर्बाचित जनप्रतिनिधिहरुलाइ स्वागत सम्मान र बालबालिकालाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रम संस्थाका महासचिव जयेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम मोहन आचार्य सदस्यहरु क्रमशः बसुन्धरा लामिछाने ,सुनिता परियार , अर्जुन थापा र बिष्णुमणि बराल तथा वडा नम्बर ५ का अध्यक्ष बिष्णु प्रसाद बराल सदस्य एबम नगर कार्यपालिका सदस्य हरिमाया बिश्वकर्मा ,सदस्यहरु क्रमशः कल्पना क्षेत्री ,गोबिन्द प्रसाद पराजुली र मणिराज बराल लाई चिल्ड्रेन नेपालको तर्फबाट स्वागत र सम्मान गरिएको थियो । कार्यक्रममा चिल्ड्रेन नेपाल बाट बिद्यालय पढ्न सहयोग गरेका श्रीकृष्ण मा बि र बाराही मा बि का बालबालिकालाई अध्यक्षद्वयबाट शैक्षिक सामाग्री र बिद्यालय पोशाक बितरण समेत गरिएको थियो ।

कार्यक्रममा बालबालिकाको साथमा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा श्रीकृष्ण मा बि का ब्यबस्थापन समितिका अध्यक्ष पुरुशोत्तम रेग्मीले बिपन्न परिबारका बालबालिकालाई बिद्यालय शिक्षामा गरेको सहयोगले धेरै बालबालिका शिक्षाको पहुँचमा रहेको र यो सहयोगको उचित उपयोग गर्न पनि बालबालिकालाई सुझाव दिनु भएको थियो ।कार्यक्रममा हरिमाया बिश्वकर्माले संस्थाको कामको प्रसंशा गर्दै आफू पनि युबा शान्तिका प्रबर्तक कार्यक्रमबाट जोडिएको आफ्नो अनुभव बताउदै बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था संग वडा कार्यलयले समन्वय र सहकार्य गर्ने कुरामा जोड दिनु भएको थियो ।
वडा नम्बर ५ का अध्यक्ष बिष्णु प्रसाद बरालले जनताको सेवक भएको हुनाले कुरा भन्दा काममा अगाडि बढेर जनतालाई सेवा पुर्याउनु पर्ने कुरामा जोड दिदै बालबालिका सवालमा संस्था संग सहकार्य गर्दै काम गर्ने कुरा बताउनु भएको थियो । त्यसै गरि वडा नम्बर ७ का अध्यक्ष राम मोहन आचार्यले संस्थाको कामको प्रसंशा गर्दै प्रभावकारी रूपमा सहकार्य र समन्वय गरेर अगाडि बढने कुरा बताउनु भएको थियो । कार्यक्रमको अन्तमा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले सम्पूर्ण जनप्रतिनिधिलाई ब्यस्त समयका बाब्जुद पनि बालबालिकाका सवाललाई महत्त्वपूर्ण ठानेर संस्थाको निमन्त्रणालाई स्वीकार गरि उपस्थिति भएर कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा धन्यवाद दिदै संस्थाले वडा कार्यलयहरु संग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा महासचिव जयन्द्र भट्टराईले संस्थाले वडा कार्यलयहरुसंग सहकार्य समन्वय गर्दै साथसाथ अगाडि बढ्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा संस्थागत गतिविधिको जानकारी वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईंले गर्नु भएको थियो भने वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले उपस्तिथ सम्पुर्णलाई स्वागत र कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो ।कार्यक्रमको संचालन सह सयोजक रमेश सुबेदीले गर्नु भएको थियो ।

जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते l

जनता समाजवादी पार्टी (जसपा) को धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ।

जनकपुरधामस्थि होटल बाबाको ढावामा मंगलबार आयोजित बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तरर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोपमा उत्रिएपछि विवाद हुँदा कुटाकुट भएको हो।

समिक्षा बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी थिए।

जसपा सबैला नगरपालिकाका अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतका समूहले अन्तर्घात गरेको आरोप लगाउँदै सिटमा बसे लगतै यादव समर्थकले उनीमाथि कुटपिट गर्न थालेको बैठकमा सहभागी एक नेताले बताए।

‘वैद्यनाथजीले नामै किटेर अन्तर्घात गरेको मञ्चमा बोल्नुभएको थियो। भाषण सकेर कुर्सीमा बसेको दुई तीनमिनेटपछि त्यसै विषयलाई लिएर भनाभन हुँदै विवाद भयो। अनि कुटपिट हुन थाल्यो’, ती नेताले सेतोपाटीसँग भने।

कुटाकुट गर्ने केही नेतालाई बैठक हलबाट निकालिएको थियो। कुटाकुटको क्रममा नेताहरू सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखियालाई चोट लागेको छ।

‘लाठी, भाटा केही थिएन। हातखुट्टाले कुटाकुट र धकेलाधकेल हुँदा पनि उनीहरुलाई चोट लाग्यो’, बैठकमा सहभागी ती नेताले अगाडि भने।

बैठकमा आरोप प्रत्यारोपको क्रममा विवाद हुँदा हाता हालाहालको स्थिति आएको जसपा नेता शेष नरायण यादवले स्वीकारे।

यद्दपि त्यसलाई कुटाकुट भन्न नमिल्ने उनको जिकिर छ।

कल सेन्टर काठमाडौं महानगरपालिकामा एकैदिन ८ सय जनाको फोन l

काठमाडौं महानगरपालिकाको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेका छन्।

सोमबार उद्घाटन गरी मंगलबारदेखि सञ्चालनमा ल्याइएको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेको सूचना विभागका प्रमुख नवराज ढकालले जानकारी दिए।

उनका अनुसार मंगलबार मात्रै करिब ८ सय मानिसहरूले फोन गरी गुनासो, सोधपुछ तथा बधाई दिएका हुन्।

फोन गर्ने मानिसहरू धेरैले फोहोरको गुनासो गरेको उनले बताए।

‘फोन गरेकामध्ये ८० प्रतिशत मानिसहरूले फोहोरमैलासम्बन्धी गुनासो राख्नुभएको छ’, ढकालले भने ,‘उहाँहरू फोहोर कहिले उठ्छ भनेर जिज्ञासा र गुनासो राख्नुहुन्छ। १० प्रतिशत मानिसहरूले बधाई दिनु भएको छ भने बाँकीले ढल, विद्यालय लगायतका विषयमा गुनासा गर्नुभएको छ।’

फोन गर्नेहरूले फोहोरबाहेक कलेजको पर्दा च्यातिएको, घर निर्माण र करसम्बन्धी, विद्यार्थीले होस्टेलमा राम्रो सुविधा नपाएको लगायत विषयमा गुनासो गरेको ढकालले बताए।

यस्तै बाटामा भएका खाल्डाखुल्डी कहिले पुरिने र पिच हुने भन्ने विषयमा समेत जिज्ञासा आएको उनले बताए।

यस्तै स्वास्थ्यमा क्षेत्रको असुविधा, कर, क्युआर कोड कसरी लिने जस्ता विषयमा उनीहरूले जानकारी लिन खोजेका छन्।

ढकालले अहिले कार्यालय अवधिमा मात्र कल सेन्टर सञ्चालनमा ल्याइएको बताए। सार्वजनिक बिदाका दिनमा पनि कल सेन्टरमा फोन गरी आफ्नो गुनासो रेकर्ड गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए।

‘महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूले आफ्नो समस्या राखेपछि हामीले सम्बन्धित निकायलाई सो समस्या फरवार्ड गरिदिन्छौं।’

कल सेन्टरमा फोन गरेर मात्र नभई इमेल र एसएमएस गरेर पनि महानगरवासीले आफ्नो गुनासो राख्न सक्छन्।

अहिले कल सेन्टर सञ्चालनमा आएपनि गुनासोहरू सम्बोधन नगरिसकेको ढकालले जानकारी दिए।

‘कल सेन्टरमा कसैले फोन गर्दा नलाग्ने इत्यादि समस्या भए समस्या रेकर्ड गरेर पनि राख्न सक्नुहुन्छ,’ कल सेन्टरमा काम गरिरहेकी गुनलक्ष्मी गजुरेलले भनिन्,‘त्यसो भएको खण्डमा रेकर्ड भएको समस्यालाई हामीले सुनेर गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई फरवार्ड गर्नेछौं।’

कल सेन्टर सञ्चालनमा आएको दुई दिन मात्र भएका कारण गुनासो सुन्ने काम मात्र भइरहेको उनले बताए।

राष्ट्रिय सभा गृहबाट सञ्चालित कल सेन्टरमा हाल तीन जना कार्यरत छन्। अहिले कल सेन्टरमा एकैपटक १५० जनाले फोन गर्न सक्ने क्षमताको सफ्टवेयर भएको ढकालले बताए।

काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकले एक साताभित्र कल सेन्टर सञ्चालनमा ल्याउन गरेको निर्णय कार्यान्वयन गर्दै सोमबारदेखि राष्ट्रिय सभा गृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो।

यस्तै महानगरले पूर्वाधार एम्बुलेन्स पनि सञ्चालनमा ल्याइएको ढकालले बताए।

‘महानगरको मातहतमा भएका दुई वटा गाडीलाई पूर्वाधार एम्बुलेन्स बनाइएको छ,’ ढकालले भने, ‘पूर्वाधार एम्बुलेन्समा दुई इन्जिनियर सहित ४ जना मजदुरहरूको टोली तयारी अवस्थामा छन्।’

कुनै ठाउँबाट फोन आएपछि दुई जना इन्जिनियरको टोली सम्बन्धित ठाउँमा पुग्छ। निरीक्षण गरेपछि के-के काम गर्नु पर्ने हो उनीहरूले योजना बनाउँछन्।

सोहीअनुसार काम गर्न उनीहरूले सिफारिस गर्छन्।

‘टेन्डर निकालेर गर्नुपर्ने ठूला कामहरू भने सोही अनुरूप हुन्छ’ ढकालले भने,‘फुटपाथका खाल्डाखुल्डी पुर्नेजस्ता साना काम पूर्वाधार एम्बुलेन्समा भएको टोलीले नै गर्छ।’

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय