उदयपुरको चौदण्डीगढीमा एमालेको एकल कार्यपालिका गठन l
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका गठन गरेको छ ।
नगर कार्यपालिका सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता र मङ्गलबार निर्वाचनको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उमेदवारको मात्र मनोनयन दर्ता भएको थियो ।
अन्य दलबाट मनोनयन दर्ता नभएपछि एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत महेश दाहालले जानकारी दिए ।
चौदण्डीगढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूमा दलित वा अल्पसंख्यक सदस्य पदमा उदयराज भुजेल, माधव सार्की र जयकुमार राई, महिला सदस्यमा स्मृति तोलाङ्गी ‘सुयल’,
तिलावती राई, सुष्मा राई, जानकीदेवी चौधरी र शान्तीदेवी चौधरी रहेका छन् ।
उनीहरूलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
निर्वाचित भएका नगर कार्यपालिका सदस्यहरूलाई प्रमाणपत्रसमेत हस्तान्तरण गर्दै नगर प्रमुख कालुमान लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
शपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, वडा अध्यक्ष, सदस्य, एमालेका नेता, कार्यकताहरूको उपस्थिति रहेको थियो ।
निर्वाचित कार्यपालिका सदस्यहरूलाई शुभकामना दिँदै नगर प्रमुख लामाले सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यहरूले योजना छनोट सर्बदलीय छलफलमार्फत गर्न आग्रह गरे ।
चौदण्डीगढी नगरपालिकालाई समृद्ध बनाउने दायित्व जनप्रतिनिधिहरूको काँधमा आएकाले उक्त दायित्व पूरा गर्न सबै पक्षलाई समेट्नुपर्ने लामाले धारणा व्यक्त गरे ।
रेकर्ड तोड्ने बाटोमा कबड्डी- ४, पाँच दिनमै कमायो १३ करोड !
काठमाडौं । रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको चलचित्र कबड्डी– ४ ले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ । यो नेपाली चलचित्रमा सबैभन्दा छिटो १० करोड कमाउने अर्को ठूलो कीर्तिमान हो ।
गत शुक्रबार रिलिज भएको फिल्मले तीन दिन लगातार हाउसफुलको व्यापार गरेको थियो । सोमबारदेखि रफ्तार केही कम भए पनि फिल्ममा दर्शकको आकर्षण घटेको छैन । पाँच दिनमा फिल्मले अनुमानित १३ करोड रुपैयाँ कलेक्सन गरेको फिल्मका वितरक गोविन्द शाहीले बताए ।
पहिलो दिन चलचित्रले साढे तीन करोड कमाएर कीर्तिमान राखेको थियो । नेपालमा कुनै पनि स्वदेशी वा विदेशी चलचित्रले यति ठूलो ओपनिङ गरेका थिएनन् । दोस्रो र तेस्रो दिनमा पनि फिल्मको व्यापार उचाइमै रह्यो ।
शनिबार फिल्मले ३ करोड १५ लाख र आइतबार २ करोड ९५ लाख रुपैयाँ कमाएको शाही बताउँछन् । यसरी तीन दिनमै फिल्मले ९ करोड ६० लाख रुपैयाँ बटुल्न सफल भयो ।
चौथो दिन सोमबार फिल्मले दुई करोडको व्यापार गर्यो । मंगलबारको विवरण आइनसकेको तर अनुमानित एक करोड ८० लाख रुपैयाँको व्यापार गरेको शाहीले बताए । यसरी फिल्मले पाँच दिनमा १३ करोडभन्दा बढी कलेक्सन गरेको देखिन्छ ।
रामबाबु गुरुङ निर्देशित कबड्डी– ४ करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो । यो चलचित्रले डिजिटल राइट्स र ओभरसिज राइट्स बेचेर रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको थियो । रिलिजपछि हलहरुबाट हुने आम्दानी सबै निर्माताको मुनाफा हो ।
कबड्डी– ४ का मिडिया कोअर्डिनेटर दिनेश सिटौलाका अनुसार पहिलो हप्तामा फिल्मले हलहरुबाट गर्ने ग्रस कलेक्सनको ५० प्रतिशत सेयर निर्माताले पाउने सहमति छ । यस हिसाबले अहिलेसम्म निर्माता मणिराम पोखरेलले झण्डै ७ करोड रुपैयाँ मुनाफा कमाइसकेका छन् ।
व्यापारको गतिमा तिव्र गिरावट आएन भने उनले अझै केही करोड मुनाफा थप्नसक्ने देखिन्छ । आउँदो शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज नभएकाले शनिबार र आइतबार पनि फिल्मको ब्यापारमा बढोत्तरी हुनसक्छ ।
मिरुना प्रकरणको सम्भावित असर
फिल्मले कीर्तिमानी व्यापार गरिरहँदा नायिका मिरुना मगर ठूलो कन्ट्रोभर्सीमा परिन् । उनले आफूमाथि एक दर्शकले दुव्र्यवहार गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएपछि निकै आलोचना खेप्नुपरेको थियो ।
यो विवाद अहिले समाधान भइसकेको छ । चलचित्रको व्यापार नै प्रभावित हुने अवस्था आएपछि निर्माण टिमले नै संयोजन गरेर दुई पक्षबीच समझदारी गराएको थियो । आरोपिले गल्ती स्वीकारेर क्षमायाचना गरेका छन् भने मिरुनाले पनि क्षमायाचना गरेकी छन् । यद्यपि, कतिपय दर्शक भने अझै उनीसँग सन्तुष्ट छैनन् ।
फिल्मको हिजोको अनुमानित व्यापार हेर्दा भने धेरै ठूलो असर परेको देखिँदैन ।
अहिलेको गति हेर्दा कबड्डी– ४ ले नेपाली चलचित्रमा व्यापारको नयाँ इतिहास रच्ने देखिन्छ । यसअघि सर्वाधिक लाइफटाइम कलेक्सन छक्का पञ्चा– ३ को नाममा थियो । सो चलचित्रले १८ करोड कलेक्सन गरेको थियो ।
कबड्डी ४ उक्त कीर्तिमानभन्दा पाँच करोड मात्र पछाडि छ । यही हप्ता छक्कापञ्जाको रेकर्ड ब्रेक गरेर कबड्डी– ४ अगाडि बढ्न सक्छ ।
यो चलचित्रका यसअघिका सिक्वेलहरुले पनि राम्रो व्यापार गरेका थिए । अर्गानिक विषयवस्तु र कलाकारहरुको जिवन्त अभियनले गर्दा कबड्डी सिक्वेलले दर्शकमा बेग्लै छाप छोड्न सफल भएको छ ।
कबड्डी– ४ चाहिँ सिक्वेलको अन्तिम चलचित्र हुने निर्देशक गुरुङले बताइसकेका छन् । त्यसैले यो चलचित्रलाई ‘फाइनल म्याच’ भनिएको छ ।
५ कराेड २० लाख ठगेकाे आरोपपछि चाँगुनारायण-७ का वडाध्यक्ष फरार l
भादगाउँ । ५ कराेड रुपैयाँ ठगेकाे आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका-७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार हुनुभएकाे छ ।
भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गा समेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगेको आराेप लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार हुनुभएकाे हाे । उहाँकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।
अधिकारी र ईश्वर गाइजुसहितको टोलीले चाँगुनारायण नगरपालिका-८ मा सरकारी र अन्य व्यक्तिको नाममा रहेको जग्गा जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैनाबापत करारनामा गरी ५ करोड २० लाख ठगेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ का धनीराम राईले जाहेरी दिनुभएकाे थियाे ।
त्यसपछि प्रहरीले केहीलाई पक्रेर अुनसन्धान थालेकाे थियाे । उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमति बिना बैना रकम लिई ठगेको अभियोगमा शुक्रबार पक्रेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।
सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायत व्यक्तिको संलग्नता देखिएको र उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘वडाध्यक्षसहित ६ जनाको नाममा पक्राउ पूर्जी जारी भएको थियो, केशव अधिकारी र ईश्वर गाइजु हाल अनुसन्धानका क्रममा थुनामा छन्, अन्य चार जना फरार छन्’- उहाँले भन्नुभयाे ।
– रासस
शैक्षिक सत्र शुरू भइसक्यो, ३३ लाख पाठ्यपुस्तक अझै छाप्न बाँकी थप सामग्री :
शिक्षा
शैक्षिक सत्र शुरू भइसक्यो, ३३ लाख पाठ्यपुस्तक अझै छाप्न बाँकी।
शैक्षिक सत्र शुरू भएको तीन साता बित्नै लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो।
सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ। विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो।
जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ। चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पाठ्यपुस्तक छपाइ सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए।
जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ । “यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हो, अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौं, बाँकी पुस्तक असार पहिलो सातासम्म छपाइसक्छौं र अबको एक महीनाभित्र नै विद्यार्थीको हात हातमा पुस्तक पुग्छ,” झाले भने।
विक्रेता केन्द्र मार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण शुरू गरिसकेको जनाउँदै उहाँले काठमाडौं उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताए। बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक-दुई ट्रक पठाइरहेको पनि उनले जानकारी दिए।
केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाइ हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलाइ भएको दाबी गरे। आचार्यले भने, “शैक्षिक सत्र शुरू हुनुभन्दा १५ दिन अगाडि नै पुस्तक बिक्री वितरण हुनुपर्थ्यो, यस वर्ष स्थानीय तह निर्वाचनले गर्दा जेठ ९ गतेबाट मात्रै पुस्तक वितरण शुरू भयो, फेरि बाहिर हल्ला जस्तो सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेटमा एक-दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हात हातमा पुग्छ।”
कक्षा ४, ७ र ९ को कोर्स नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उनले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै कुनै जिल्लामा मात्रै अपुग रहेको जिकिर गरे। यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएका कारण केही विषय बजारमा अभाव भएकाले पुस्तक बढी छाप्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
कागजको नियमित आपूर्ति नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाइलाई विशेष ध्यान दिएर त्यसमै जनशक्ति एवं छापाखाना प्रयोग गर्नुपर्दा पुस्तक छपाइमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्यले बताए। उनका अनुसार, अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख पाँच हजार थान पुस्तक छाप्दै आएका छन्।
यसैबीच केन्द्रले पुस्तक छपाइमा ढिलाइ गरेपछि संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले समेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो। उनले रूस–युक्रेनबीचको युद्धका कारण कागज नआउँदा र स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइ गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताए।
असोज २४ गते चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता कागज सप्लायर्ससँग गरिए पनि त्यस बीचमा रूस–युक्रेन युद्ध शुरू भएपछि कागज आपूर्तिमा समस्या भएकाले पुस्तक छपाइमा ढिला भएको दाबी केन्द्रको छ।
संसदीय समितिले एक महीनाभित्र पुस्तक छापेर विद्यार्थीसम्म पुर्याउन निर्देशन दिएको थियो।
अर्थमन्त्रीको दाबी : बजेट चुनावलक्षित छैन, कार्यान्वयन हुन्छ
१६ जेठ, काठमाडौं । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका अर्थमन्त्री जनार्दन शर्माले परम्पराअनुसार बजेटबारे थप स्पष्ट पार्न सोमबार पत्रकार सम्मेलन आयोजना गरे ।
चुनाव लक्षित बजेट ल्याएको, स्रोत जुटाउन मुश्किल हुने र खर्च गर्न कठिन हुने भनी आलोचना भइरहेका बेला अर्थमन्त्री शर्माले बजेट खर्च हुने दाबी गरे ।
उनका अनुसार बजेटको आकार चालु आर्थिक वर्षको भन्दा ९.८६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा १० प्रतिशत ठूलो बजेट ल्याइएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको आकार कुल गार्हस्थ्य उत्पादनको ३७ प्रतिशत हाराहारी हो ।
अर्थमन्त्री शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा बजेटको आकार जीडीपीको ३९ प्रतिशत थियो । बजेटको आकारलाई एकै पटक घटाउन नसकिने भन्दै उनले गाडीको उदाहरण दिएका हुन् । उनले भने, ‘गाडी पनि त एकै पटक रोकिदैन नि ।’
चुनावी बजेट नभएको दावी
सरकारले यस वर्ष तुलनात्मक रुपमा वितरणमुखी बजेट ल्याएको छ । ६८ वर्षमै वृद्धभत्ता दिने, कर्मचारीको तलब बढाउने, किसान पेन्सन, हरेक परिवारलाई इन्डक्सन चुलो वितरणजस्ता कार्यक्रम चुनाव लक्षित भएको आलोचकहरुले बताएका छन् । तर अर्थमन्त्री शर्मा बजेटलाई चुनाव लक्षित नभएको जिकिर गर्छन् ।
‘नयाँ कार्यक्रम ल्याएका छैनौं, विगतदेखिका कार्यक्रमलाई निरन्तरता दिँदा चुनावी कार्यक्रम भन्ने हो भने ४/५ वर्षदेखि नै बजेट चुनाव लक्षित आइरहेको छ भन्नु पर्यो नि’, उनले अगाडि भने, ‘उत्पादन बढाउँछु भन्नु, आत्मनिर्भर बनौं भन्नु चुनावी कुरा हो र ? युवालाई तालिम दिने चुनावी कुरा होइन । कर्मचारीको तलव ऐन अनुसार बढेको हो, किसान पेन्सको विषय विगतकै निरन्तरता हो ।’
अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनमा संयुक्त प्रतिवद्धताको आवश्यकता औल्याए । ‘बजेट मेरो गाउँको बाटोमा रकम पर्यो कि परेन भन्ने विषय मात्र होइन, बजेट जनताको हातमुख जोड्ने, राष्ट्रलाई समृद्ध बनाउने पनि हो ।’
बजेटमा राखिएका कार्यक्रममा पूर्वाधार परेनन् भन्दै आउने आलोचनालाई उनले रोजगारी सिर्जना र गरिबीको अन्त्य गर्ने कार्यक्रमसँग जोड्न आग्रह गरे । पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले विपन्न मैत्री बजेट बनाउन भरपुर प्रयास गरेको बताए ।
निर्यात प्रवर्द्धन, प्राथमिकतामा सिमेन्ट उद्योग
बजेटले निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापनमा प्राथमिकता दिएको अर्थमन्त्री शर्माले बताए । यसमा पनि सबैभन्दा बढी सम्भावना सिमेन्ट उद्योगको रहेको उनले बताए ।
बजेटका नीतिले सिमेन्ट निकासी प्रवर्द्धन गर्ने उनको भनाइ छ । बजेटले उद्यमशीलतालाई जोड दिएको भन्दै उनले साना तथा घरेलु उद्योगका माध्यमबाट एकै पटक धेरै रोजगारी सिर्जना गर्न सकिने बताए । यस्ता उद्यमीसम्म वित्तीय पहुँच पुर्याउन बजेटले प्रयास गरेको अर्थमन्त्रीको भनाइ छ ।
विषम परिस्थितिको स्वीकारोक्ति
अर्थमन्त्रीले बजेट कार्यान्वयनमा आत्मविश्वास देखाइरहँदा चूनौती रहेको पनि स्वीकारे । उनले आगामी आर्थिक वर्षमा बजेट खर्चमा सांसदहरुलाई पनि जिम्मेवार बनाउने बताएका छन् ।
अन्तर्राष्ट्रिय विकसित परिस्थिति, इन्धनको मूल्यवृद्धि, मूल्य श्रृङ्खलामा परेको प्रभाव, आयातको बढ्दो दर, खाद्यान्नको बढ्दो परनिर्भरता, विदेशी मुद्राको सञ्चितीमा परेको चापले गर्दा बजेट कार्यान्वयन चूनौतीपूर्ण भने रहेको अर्थमन्त्री स्वयंले स्वीकार गरे ।
सपनाका आयोजना, तर आवश्यकता
उनले चितवनबाट काठमाडौं १ घण्टामा र पोखराबाट काठमाडौं २ घण्टामा आउने भनी दू्रतमार्गको अवधारणा बजेटमा ल्याएका छन् । उनी स्वयंले यी आयोजनालाई सपनाको आयोजना भन्छन् । तर, यी आयोजना मुलुकको आवश्यकता भने रहेको बताए । ‘पूर्वाधारका केही योजना सपना नै सही, आवश्यकता त हो नि,’ उनले भने । उनले निजगढ विमानस्थलाई समेत सपना तर आवश्यकताको पूर्वाधार आयोजना भने ।
कार्यबोझ घटाउँदा बढ्ला कार्यक्षमता ?
यस वर्ष संघीय सरकारले कार्यबोझ केही घटाएको छ । ५ करोडसम्मका आयोजना प्रदेशलाई र ५० लाखसम्मका आयोजना स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यसले संघीय सरकारको कार्यबोझ घटाएको उनले बताए ।
यसले संघीयता बलियो हुने र स्थानीय तह समेत सक्षम हुने अर्थमन्त्रीको भनाइ छ । ‘काम गर्न सकेनन् भनिन्छ, काम गर्ने वातावरण बनाइदिनु पर्यो नि,’ उनले भने । सोहीकारण यस पटक स्रोतसहित आयोजना तल्लो सरकारमा पठाइएको उनले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बजेट बनाउँदा ५ वटा मूलभूत पक्ष हेरिएको जानकारी दिए । उनका अनुसार उत्पादन विनाको उपभोग, वितरण विनाको समृद्धि, प्रतिफल विनाको खर्च, स्थिरता विनाको गति र मूल्याङ्कन विनाको निरन्तरतालाई तोड्ने गरी बजेट ल्याइएको बताए ।
अमेरिकाबाट छुट्टी मनाउन आएका थिए दिदीबहिनी, आमाबाबुसहित परे दुर्घटनामा
गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ।
आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०:०७ बजेदेखि सम्पर्कविहीन थियो।
सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित उनका परिवार जहाज दुर्घटनामा परेका हुन्।
अमेरिकामा पढ्दै आएका दुई छोरीहरू छुट्टी मनाउन नेपाल आएका थिए। उनीहरू वैशाख ३० मा काठमाडौं ओर्लिएका थिए।
छोरीहरू २३ वर्षकी रोजिना श्रेष्ठ, २० वर्षकी रविना श्रेष्ठ र श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठसहित गणेशनारायण मुक्तिनाथ दर्शन गर्न जाने क्रममा तारा एयरको जहाज दुर्घटनामा परेका छन्।
वडाध्यक्ष यमबहादुर रानाले एकै घरका चार जना जहाज दुर्घटनामा परेको खबर आएको बताए। उनकाअनुसार अमेरिकामा रहेका छोरा करिब २६ वर्षका रोशन श्रेष्ठ भने स्वदेश फर्कदैछन्।
‘आमा-बुवा र बहिनीहरू जहाजमा परेको खबरपछि रोशन अमेरिकाबाट नेपाल आउँदैछन्,’ वडाध्यक्ष रानाले भने, ‘मंगलबार बिहान रोशन काठमाडौं उत्रनेछन्।’
रोशन करिब पाँच वर्षअघि पढाइकै सिलसिलामा अमेरिका पुगेका थिए। तीन वर्षअघि रोजिना र एक वर्षअघि रविना अमेरिका गएको राना बताउँछन्। उनीहरू पनि पढाइकै लागि अमेरिका गएका हुन्।
गणेशनारायणको परिवार तारा एयरको जहाज हराइरहेको खबरपछि उनका गोरखास्थित छिमेकी विजय पुडासैनी, गाउँपालिका अध्यक्ष रमेश थापालगायत केही गाउँलेहरू आइतबार पोखरा पुगेका थिए।
‘रोजिना र रविना अमेरिकामै पढ्ने हो। उनीहरू छुट्टीमा नेपाल आएका थिए,’ पुडासैनीले भने, ‘रोजिनाले पिएचडी गर्दै थिइन्, रविनाले कम्प्युटर इन्जिनियरिङ पढ्दै थिइन्।’ उनीहरू पहिले भने बुढानिलकण्ठ स्कुल पढेका थिए।
गणेशनारायण कम्प्युटरलगायत सामग्री सप्लाइ गर्ने कम्पनीमा काम गर्दै आएका थिए।
‘मुक्तिनाथ दर्शन र त्यहाँ पुगेका बेला कम्पनीका पनि केही काम गर्न उहाँ जानुभएको भन्ने बुझियो,’ उनले भने, ‘तर गन्तव्यमा पुग्न नपाई जहाज दुर्घटनामा पर्यो।’ गणेशनारायणको परिवारले जहाजमा चढ्नुअघि अमेरिकामा रहेका छोरासँग कुराकानी पनि गरेका थिए।
गणेशनारायण २०४३ सालदेखि काठमाडौंको पुतलीसडकमा बस्दै आएका थिए। उनको स्थायी घर भने गोरखा तीनमानेमा छ। ‘उहाँहरू मुक्तिनाथ दर्शन गरेर फर्केपछि गोरखास्थित घर पनि जाने कुरा रहेछ, तर पाउनुभएन,’ उनले भने।
तारा एयरको ९ एन एइटी जहाजमा उनीहरूसहित २२ जना थिए।
जहाज क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेलले उडाएका थिए। एयर होस्टेस कृष्मी थापा थिइन् भने १९ जना यात्रु थिए।
सार्वजनिक शौचालयको रूपमा रेष्टुरेन्ट, होटलको शौचालय प्रयोग गर्ने काठमाडौं महानगरको निर्णय l
काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय पारित गरेको छ।
सोमबार नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेपछि अपराह्नमा कार्यपालिकाको बैठक बसेको थियो। सो बैठकले सार्वजनिक शौचालयको रूपमा रेष्टुरेन्टहरूको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको हो।
मेयर बालेन शाहले प्रस्ताव गरेका थिए।
‘हिजो रेष्टुरेन्ट व्यवसायीहरूसँग कुराकानी गरेका थियौं। हामीसँग चिकेन स्टेशन, बर्गर स्टेशन, एवानका प्रतिनिधिहरूसँग कुरा गर्दा हामीले तपाईंहरूको रेष्टुरेन्ट बाहिर एटिएमको जस्तो बत्ती जडान गरिदिने र शौचालय नि:शुल्क गर्ने,’ उनले भने, ‘रेष्टुरेन्ट खोलेपछि व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने हिसाबले त्यो लगाउँछौं। महानगरले सर्टिफाइ गरिदिन्छ।’
उनले शौचालयहरू पनि बनाउने तर हाललाई यसरी पनि प्रयोग गर्ने बताए। यसरी शौचालय प्रयोग गर्न दिने रेष्टुरेन्टहरूलाई के सुविधा प्रदान गर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन।
‘अहिले नै यो-यो कुराहरू निशुल्क गरिनेछ भनेर भन्न सकिन्न। त्यसको लागि अध्ययन गर्न पर्ने हुन्छ। पहिलो दिन नै त्यो कुरा गर्नु गलत हुन्छ जस्तो लाग्छ,’ उनले भने।
यस्तै गुनासो सुन्नको लागि कल सेन्टर पनि स्थापना गर्ने निर्णय भएको छ। कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय पनि भएको छ।
यस्तैगरी, दुइटा इन्फ्रास्ट्रक्चर एम्बुलेन्स १० दिनभित्र सञ्चालनमा ल्याइने छ।
राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे -४ लाहाचोकको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समायोजनमा रक्तदान कार्यक्रम सम्पन्न !!
राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे -४ लाहाचोकको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समायोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउपालिका ४ लाहाचोकका अध्यक्ष हरिचन्द्र अधिकारीको अध्यक्षता मा भएको कार्यक्रमको संयोजक राजेन्द्र गौतमले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सीले पहिलो रक्तदाता रन्जिता गौतमलाई ब्लड ब्याग हस्तान्तरण उद्दघाटन गर्नु भएको थियो भने उक्त कार्यक्रममा ४३ युनिट रगत संकलन भएको संघका सचीव युबराज जि सिले बताए कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य सुजा गुरुङ्ग माछापुच्छ्रे गा पा ४ अध्यक्ष मधुसूदन अधिकारी रेडक्रस लाहाचोक सभापति केशव पौडेल निबर्तमान सभापति नारायण पौडेल नेकपा एमाले माछापुच्छ्रे गा पा उप सचीव बलराम अधिकारी नेपाली काङ्ग्रेस वडा सचीव उमेस बास्तोला माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब निबर्तमान अध्यक्ष निरज शाही लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन सुशील श्रेष्ठले गर्नु भएको थियो ।
?
कास्की जिल्लामा रगतको अभाव भएको र रक्तसञ्चार पोखराको अनुरोधमा राष्ट्रिय युवा नेपाल कास्कीले मातहतका कमिटीलाई रक्तदान गर्न गरेको अनुरोध अनुसार राष्ट्रिय युवा संघ नेपाल पोखरा १५ , ८ अन्नपूर्ण गाउ पालिकाले क्रमशः ७३ -६४ र ४२ युनिट संकलन गरि सकेको राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि ले जानकारी गराए । कार्यक्रममा रक्तसञ्चार पोखराका उप प्रमुख महेन्द्र के सिले हाल आभाब पुर्ती हुदै गएको र संघ संस्था हरुले पनि रक्तदानको लागि तयार रहेकाले अभावमा सहयोग गर्ने युवा संघ कास्कीलाई धन्यवाद दिदै अबस्यक पर्दा अनुरोध गर्ने छौ यो अभावमा गरेको सहयोगको प्रशंसा गर्नु भयो ।

कहालीलाग्दो ,त्रासदीपूर्ण र मानवीय सभ्यताको कालो धब्बा रुकुम चौरझारी घटनाको २ बर्ष
मानवीय उदय र सभ्यताको बिकास सङ्गसङ्गै शिक्षाको उदय र विकास भएको हुनु पर्दछ। मानिसको पूर्ण बिकास नै शिक्षा हुनुपर्ने हो।
समानतामूलक,समतामूलक र बिभेदरहित समाजको निर्माणको मुख्य आधारको रूपमा रहेको शिक्षाले समाजमा रहेका सामाजिक विकृतिबिसङ्गतिहरु,कुरीति, कु- संस्कार, अन्धबिश्वास र रुढीबादीका विरुद्ध जेहाद छेड्नुपर्ने हो तर शिक्षा सहितका प्रायः सबै उत्पादनका साधनहरुमा केही मुठ्ठीभर मानिसहरूले हैकम जमाएका कारण करीब ३७ सय बर्ष भन्दा अघिदेखि सकारात्मक वा नकारात्मक जे ध्येय राखेर जाति ब्यवस्थाको सूत्रपात गरेको भएता पनि त्यो बिभाजनले `फुटाउ र शासन गर´ को नीति जस्तै आफ्नो निहित स्वार्थ पूर्तिका लागि जनसमुदायलाई बिभाजन गरेको सिद्द भएको छ।
दक्ष जनशक्तिको बिभाजन गर्ने शासकहरुको कुत्सित षडयन्त्रका कारण श्रमजीवी, परिश्रमकामी, मेहनतकस जनसमुदायमा परम्परादेखि बिकास हुँदै आएको श्रम, सीप र कलामाथिको नाङ्गो हस्तक्षेप दिनदिनै बढ्दै आइरहेको छ। श्रम चल्छ, सीप र रगत चल्छ तर किन पानी चल्दैन ? वास्तवमा जातीय विभेद र छुवाछूत मानव उदय र सभ्यताको कलङ्क हो, बैज्ञानिक दृष्टिकोणले असत्य, सामाजिक रूपमा निन्दनीय र मानवीय दृष्टिले भयङ्कर अमानवीय र बर्बर असभ्यताको कुरा हो, शोषण , दमन, उत्पीडन , अन्याय, अत्याचार र बिभेदको चरम पराकाष्ठा हो।
नेपालको उदय र सभ्यताको विकासमा,हरेक खाले निरङ्कुश,तानाशाही ,फासिष्ट र एकतन्त्रीय शासन ब्यवस्थाको अन्त्य गरी मुलुकमा लोकतन्त्रको स्थापना गर्नको निम्ति हुनेखाने,टाठाबाठा उत्पादनका साधनमाथिको दोहन गर्नेहरुले सृजना गरेको तथाकथित `उत्पीडित ´समुदायको तर्फबाट ठूलो त्याग,समर्पण र वलिदान गरेको इतिहास दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ।
अझ ब्यवस्था मात्र हैन ,शासन ब्यवस्थाको प्रणाली नै परिवर्तन गर्न यो समुदायको तर्फबाट अबर्णित योगदान त्याग,समर्पण ,बलिदान गरेको ०६२/०६३ सालको शक्तिशाली जनआन्दोलन र १० बर्षको हतियार बन्द सहितको जनयुद्धमा निकै राम्रोसँग अनुभूत गर्न सकिन्छ,महसुस गर्न सकिन्छ , यो जीवीत यथार्थता हो र सच्चाइ पनि हो। यसरी मुलुकमा हुने ठूल्ठूला परिवर्तनहरुमा यी समुदायको तर्फबाट प्रभावकारी सहभागिता र उदाहरणीय भूमिका रहेको पाइन्छ तर पनि उत्पीडित समुदाय भनिने यिनै समूहहरुभित्र रहेको अन्तरजातीय विभेद पनि झन् साह्रो र मानवीय सभ्यताको तगारोको रूपमा रहनु अर्को दु:खद कुरा हो।
जाती ब्यवस्थाको उत्पत्तिदेखि नै जसलाई उत्पीडन मा पारियो ,ती समुदायका मानिसहरू एवं न्याय ,समानता र स्वतन्त्रताका सच्चा हिमायतीहरुले त्यस्ता खाले सामाजिक बिकृति र बिसङ्गतिहरुको उतिबेलै प्रतिबाद गरे, बिरोध गरे। यद्यपि उत्पादनका साधनहरुमा जसको बोलवाला थियो,तिनीहरूले सिङ्गो राज्यशक्तिको आडमा सामन्ती ब्यवस्थाको रूपमा रहेको जातीय विभेद र छुवाछूत जबर्जस्त थोपर्दै आए। बिरोधमा उत्रनेमाथि कुटपिट गर्ने,जिब्रो थुत्ने र जेल हाल्ने सम्म गरिन्थ्यो ।
तर,०६२-०६३ सालको शक्तिशाली जनआन्दोलन र जनयुद्धको फ्युजन पछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी र समानतामूलक शासन ब्यवस्थामा समेत दिनदिनै जातीय हिंसाका घटनाहरु घट्नु, अमानवीय एवं मानव सभ्यताको कलङ्कको रूपमा रहेका जातीय विभेद र छुवाछूतका घट्नाहरु घट्नु निकै लज्जाजनक र २१ औं शताब्दीको शिक्षा ,बिज्ञान र प्रबिधिको उल्टो कुराहरू हुन् ।
गणतन्त्रात्मक शासन ब्यवस्थाको मुख्य जग र आधार स्तम्भ ठानिएको भनिने माओवादी जनयुद्धको उदगम स्थल रुकुम पश्चिमको दु:खद त्यो घटनाले कसलाई पो अहिले पनि सिरिङ्ग-सिरिङ्ग र झस्याङ्ग-झस्याङ्ग बनाएको छैन र? अन्तरजातीय बिबाहको कारणले नबराज बि.क.सहित ६ जना होनहार युवाहरुको बर्बर ,निर्शम्स,पाशविक,अमानवीय ,घोर जंगली र क्रूरतापूर्वक हत्या भयो,सेतो पानी बग्ने भेरी नदीमा कहालीलाग्दो ढङ्गले ती ६ जना अबोध योद्धाहरुको रातो रगत बगेको १ बर्ष पुगेकोछ , रगतको आहालमा लत्पतिएका क्रूर अपराधिक मानसिकताले ग्रस्त ,मानवीय सभ्यता बिरोधी दोषीहरुलाई आफूलाई भयङ्कर क्रान्तिकारी ठान्नेहरुले उम्काउन खोजेका असम्भव कोसिस र प्रयास खेदजनक छन् नै । मानव अधिकारको रूपमा रहेको एउटा मानिसले अर्को मानिसलाई प्रेमिल माया गर्न पाउने अधिकारको चिरहरण भएको १ बर्ष पुग्यो,नैसर्गिक अधिकारको रूपमा रहेको अर्को मानिसलाई इच्छा गर्न पाउने,एक-अर्कामा मन पराउन पाउने सार्वभौम अधिकारको हत्या गरिएको त्रासदीपूर्ण घटनाका दोषीहरुलाई जुनसुकै कार्बाही गरे पनि कमै हुन्छ।
ती घोर अपराधीक,क्रूर र अमानवीय हत्यामा सम्लग्न निकृष्ट दानवीय चरित्र बोकेकाहरुको बारेमा खेद व्यक्त गर्न सक्ने अहिले पनि कुनै शब्दावली नै छैन। त्यो घटनाले जो कोहीलाई अहिले पनि भावबिह्वल बनाएको छ। एकाइसौ शताब्दीमा मानवीय सभ्यतालाई लज्जित बनाउने गरी घटाइएको त्यो घटनाको बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई हदैसम्मको कानुनको दायरामा ल्याउने कुरामा यो वा त्यो हिसाबले प्रभावित पार्नु वा अवरोध गर्न खोज्नु दु:खद कुरा हुन् ।
जातीय बिभेदले ओतप्रोत मानवीय सभ्यता र सिङ्गै मानवताका कलङ्क र कुलङारहरुलाई धिकारदै समाजमा पुनः यस्ता दुस्कर्म नदोहोर्याउन नयाँ कदम चाल्नु पर्छ। यो लडाइँ कथित दलित र कथित गैर दलित बीचको होइन, मानव सभ्यताको हो। त्यसकारण राष्ट्रिय मानवअधिकार आयोग र अन्य अधिकारलकर्मीहरुले यो घटनाबाट के शिक्षा लिने र दिने भन्ने बिषयमा छलफल गर्नु पर्छ। यो घटना सुखी नेपाली र सम्मृद्द नेपालको बाधक हो। बिधमान जातीय छुवाछूत जस्ता अमानवीय भेदभावहरु यसरी नै मौलाउदै जादा ब्यबस्था बदलिए पनि अवस्था उहीँ रहयो भने यसले परिबर्तन पूर्ण हुन सक्दैन ।
जब सम्म यस्ता मुद्दाहरुलाई सामाजिक मुद्दा बनाइदैन तब सम्म प्रचलित कानूनको अर्थ रहदैन। नभए नवराज बिक, मैना सार्की, अजित मिजार जस्ता अझै मारिदै जानेछन् अनि नियम कानून निष्कृय भएपछि यसको मूल्य सारा राष्ट्रलाई नै भारी हुन सक्छ। जघन्य त्यो घटनामा गम्भीर ध्यानआकृष्ट भै यो घटनाको सत्य -तथ्य पत्ता लगाई दोषीहरूलाई हदैसम्मको कार्बाहीको पालना गर्न गराउन अनि पीडितलाई उचित क्षतिपूर्ति र ब्यवस्थापन अहिले पनि उत्तिकै आवश्यक छ, तर त्यो त्रासदीपूर्ण र कहालीलाग्दो घटनाको टालटुल र उक्साउनेहरु नै आज सरकारको महत्त्वपूर्ण बिभागीय नेतृत्वमा हुनु अर्को दु:खद र लज्जास्पद कुरा हो। मानवीय सभ्यताको कालो धब्बाको रूपमा रहेका जातीय बिभेदमा संलग्न हुने अपराधीहरुले कुनै बहानामा उन्मुक्ति नपाउन्।
नवराज बिक लगायत होनहार ती सबै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना।
लेखक,
झपट रानाभाट,
नेकपा एमाले कास्कीका लोकप्रिय नेता एवं निर्वाचन बिभाग प्रमुख हुनुहुन्छ ।
चिल्ड्रेन नेपालको आयोजनामा शान्ति संस्कृति निर्माण सम्बन्धि ३ दिनको सहजकर्ता तालीम कार्यशाला भब्य रूपमा सप्पन्न !!
२०७९ जेठ १५
पोखरा
सहजकर्ता तालिम सम्पन्न
चिल्ड्रेन नेपालको आयोजनामा शान्ति संस्कृति निर्माण सम्बन्धि ३ दिनको सहजकर्ता तालीम कार्यशाला सम्पन्न भएको छ । उक्त तालिम कार्यशालामा चिल्ड्रेन नेपालमा कार्यरत कर्मचारी, र संस्थाले बिद्यालय पठनपाठनमा सहयोग गरेका बालबालिकाहरुले अध्ययन गर्ने साझेदार विद्यालय श्री जनप्रिय मा बि, कालिका मा बि, श्रीकृष्ण मा बि, कन्या मा बि, साहारा आधारभुत बिद्यालय, सरस्वती आधारभुत बिद्यालय, श्रीराम आधारभुत बिद्यालयका शिक्षकहरु गरि २६ जनाको सहभागीता रहेको थियो । सहभागी भएका थिए । उक्त ३ दिनको तालिम कार्यशालाको सहजीकरण सहजकर्ता सुभास चन्द्र कटेल र जमुना श्रेष्ठले गर्नु भएको थियो । कार्यशालामा बिद्यालयमा पठनपाठनमा र समुदायमा सहजीकरण गर्ने प्रक्रिया / तौरतरिकामा अभ्यास गरिएको थियो । कार्यक्रमको समापन संस्था अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको थियो । संस्थाका नि बर्तमान अध्यक्ष एबम AVP नेपालका अध्यक्ष भिमलाल गुरुङले तीन दिनमा सिकेको सहजीकरण गर्ने सीप लाई ब्यबहारिक जीवन र कार्यक्षेत्रमा उपयोगमा ल्याउन सकेमा शान्ति संस्कृति निर्माणमा एक इट्टा थपिने कुरामा जोड दिनु भएको थियो । संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले आफू स्वयं परिबर्तन हुँदै नमुना बन्न सकेमा ब्यक्ति,समुह,समाज र समुदायलाई परिबर्तन गर्न सकिने कुरामा जोङ दिनु भएको थियो । कार्यक्रममा सहजकर्ताद्वयले यश कार्यशालाबाट आफुहरुमा महत्त्वपूर्ण सिकाइ र शान्ति निर्माणको यात्रासंगसंगै निरन्तर रहेको बताउनु भएको थियो । कार्यक्रममा अध्यक्ष शान्त पौडेलले चिल्ड्रेन नेपालले शसक्तिकरण र सचेतनामुलक कार्यक्रम मार्फत समुदायलाई सशक्तीकरण गर्दै आइरहेको छ । यस कार्यशालाबाट सिकेका सहजीकरण सम्बन्धि सिपहरुलाई बिद्यालय र समुदायमा उपयोग गर्दै जान सकेको खण्डमा समुदाय / बिद्यालयहरु नमुना बन्ने कुरामा जोड दिनु भएको थियो । सहभागीहरुले कार्यक्रम सिकाइमुलक र फलदायी रहेको कुरा व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईंले गर्नु भएको थियो ।

ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा